निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ असार १९ आइतबार
  • Sunday, 03 July, 2022
किशाेर नेपाल
२०७९ जेठ ६ शुक्रबार ०७:३१:००
Read Time : > 3 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

‘मनीषी’ मोदीले जगाएको आशा

Read Time : > 3 मिनेट
किशाेर नेपाल
२०७९ जेठ ६ शुक्रबार ०७:३१:००

भारतीय प्रधानमन्त्री मोदीको छोटो लुम्बिनी भ्रमणले नेपाल–भारत सम्बन्धमा ठूलै सुधार हुने आशा जगाएको छ

देशको राजधानी सहर काठमाडौँ ‘बालेन्द्रमय’ भएको यो समयमा, सिद्धार्थ गौतमको पूजा–अर्चनाको उद्देश्यले भारतका प्रधानमन्त्री नरेन्द्र दामोदर मोदी बुद्धजयन्तीको उपलक्ष्य पारेर सिद्धार्थ गौतमको जन्मभूमि लुम्बिनी आउनु संयोग मात्र थिएन । प्रधानमन्त्री मोदीजस्ता ज्ञानी पुरुषलाई सिद्धार्थ गौतमको जन्मस्थल लुम्बिनी हो भन्ने ज्ञान नभएको पक्कै होइन । तर, केहीपटक उनको मुखबाट बुद्धको जन्म भारतमा भएको वचन निस्केकै हो । सन्दर्भमा, यो पनि भन्न सकिन्छ– प्रधानमन्त्री मोदीले सिद्धार्थ गौतमबारे ‘गुगल सर्च’ नगरेको हुनुपर्छ । गुगल सर्चले इसापूर्व ५६३ मा जन्मिएका गौतम बुद्धको नागरिकता ‘नेपाली’ भनेर उल्लेख गरेको छ । गुगल सर्चका इतिहासकारहरूले सिद्धार्थ गौतमको जन्म नेपालमा भएको ठोकुवा गरेका छन् । त्यसलाई ‘पोलिटिकल्ली करेक्ट’ मान्न सकिन्छ । पूर्ण सत्य र तथ्यसंगत मान्न सकिँदैन । संसारका धेरै इतिहासकारले भनेका छन्– नेपाल र भारत दुवै स्वतन्त्र देश हुन् । यी दुवै देश जतिसुकै प्राचीन भए पनि, इसापूर्व ५६३ को समयमा दुवै देशको भौगोलिक आकार र राष्ट्रियता तय भइसकेको थिएन । 

हिन्दू धर्मका साधक तथा राजनेता मोदीलाई यो ऐतिहासिक तथ्यको राम्रो जानकारी छ– सिद्धार्थ गौतमको नागरिकतामाथि नेपाल, भारत, श्रीलंका, बर्मा, थाइल्यान्ड, कम्बोडिया वा अन्य कुनै पनि बौद्धमार्गी देशको दाबीको कुनै अर्थ छैन । पहिलो त सिद्धार्थ गौतम सारा विश्व ब्रह्माण्डका नागरिक हुन् । संसारमा फैलिँदै गएको अशान्ति र युद्धका सम्भावनालाई समाप्त तुल्याउन सिद्धार्थ गौतमका चिन्तनमा आधारित बौद्ध दर्शनका पञ्चशील, समाधि र प्रज्ञाका सिद्धान्त प्रभावकारी हुने विश्वास संसारभर बढ्दै गएको छ । यो सम्पूर्ण मानव जातिका लागि सुखद कुरा हो ।

भारतीय प्रधानमन्त्री मोदीको लुम्बिनी भ्रमण निकै छोटो समयका लागि भए पनि नेपालको अस्पष्ट, अस्थिर र अधीर राजनीतिमा यो भ्रमणको राजनीतिक महत्व दूरगामी रहेको छ । नेपाल र भारतबीच शासन र सीमानाका विषयमा थुप्रै असहमति छन् । दुई देशबीच यी असहमतिको पहाड उपस्थित भए पनि सहमतिका बिन्दुहरू पनि थुप्रै छन् । भारतीय प्रधानमन्त्री मोदीको छोटो लुम्बिनी भ्रमणले नेपाल–भारत सम्बन्धमा ठूलै सुधार हुने आशा जगाएको छ । समय जटिल छ, आर्थिक र सामाजिक दुवै हिसाबले ।

पञ्चशील, समाधि र प्रज्ञाको भूमि नेपालको ओलाङचुङगोलादेखि लोमान्थाङ, डोल्पा र हुम्ला हुँदै बौद्ध धर्मका बिम्बहरू संसारभर फैलिएका छन् । तिब्बतमा दलाई लामाको सरकार हुँदा मुस्ताङको लोमान्थाङ र दोलखाका उत्तरी भेगसँग राजधानी सहर ल्हासाको व्यापक व्यापारिक सम्बन्ध थियो । त्यो सम्बन्ध टुटिसकेको छ । तर, धार्मिक सम्बन्ध टुटेको छैन । कतिपय आस्थाशील आत्माहरू नेपालतिर दौडिने अवसरको खोजीमा हुन्छन् । ती क्षेत्रका आस्थाशील मनमा रहेको सिद्धार्थ गौतमको चित्र धमिलो भएको छैन । तिब्बतको जटिल भूगोल भ्रमणको मौका पाउने पर्यटकहरू तिब्बतमा बौद्धधर्मको जरो अहिलेसम्म बलियो रहेको बताउँछन् । तिब्बतको राजधानी ल्हासामा अहिले तिब्बती जनसंख्या नगण्य छ । यसको अर्थ चीनले बौद्धमार्गी तिब्बती जनताको पूरै सफाया नगरे पनि उनीहरूलाई देशको अनकण्टार भूभागतिर थन्क्याइसकेको छ । 

मोदीले जाँदाजाँदै नेपालीको मनमा आशाको बिउ रोपे । उनले जनकपुरको भ्रमण गर्दा पर्यटकको चाप ‘ह्वात्तै’ बढेको थियो । मुस्ताङ जाँदा त्यहाँ पनि पर्यटक ‘ओइरिए’ । अब, लुम्बिनी आएका छन् । यहाँको पनि केही ‘कल्याण’ होला कि ?
 

भारतीय प्रधानमन्त्री मोदीको लुम्बिनी भ्रमण सफल पार्न नेपाल सरकारले कुनै कसर बाँकी राखेन । नेपाल सरकारका परराष्ट्रमन्त्री तथा ख्यातिप्राप्त अर्थशास्त्री डा. नारायण खड्का भारतीय प्रधानमन्त्री मोदीको आवाभगतमा बिहानैदेखि खटिएका थिए । शारीरिक र मानसिक दुवै प्रकारका अस्वस्थताका बाबजुद प्रधानमन्त्री शेरबहादुर देउवा भारतीय प्रधानमन्त्री मोदीसँग संयुक्त रूपमा बुद्धपूजनमा लागेका थिए । एकातिर वीर अस्पतालमा जीवन र मृत्युसँग संघर्ष गरिरहेका क्यान्सरपीडित भाइको चिन्ता, अर्कातिर बुद्धजयन्तीको पवित्र अवसरमा बुद्ध अर्चनाका लागि छिमेकबाट आएका साधु तथा भारतका प्रधानमन्त्री मोदीको स्वागत–अभिनन्दन गर्नुपर्ने कर्तव्य । प्रधानमन्त्री देउवाका लागि समय अत्यन्त पीडादायक थियो । 

यसबारे मैले परराष्ट्रमन्त्री नारायण खड्कासँग बिहीबार अपराह्न प्रश्न गरेँ, ‘के प्रधानमन्त्री देउवाको स्वास्थ्य र मानसिक अवस्थाबारे भारतीय प्रधानमन्त्रीलाई जानकारी गराएर संकट टार्न सकिँदैनथ्यो ?’ डा. खड्कासँग यसको कुनै जवाफ थिएन । भारतीय प्रधानमन्त्री मोदीलाई पवन इन्टरनेसनल होटलमा स्वागत गर्ने जिम्मेवारी डा. खड्काकै थियो । उनले भने, ‘म भोजमा थिएँ । भोजमा त म भइहाल्छु ।’ 

भारतका प्रधानमन्त्री मोदीको सुरक्षा योजनाअन्तर्गत बुद्धपूजाको कार्यक्रम भारतबाटै निर्देशित थियो । प्रधानमन्त्री मोदीको सुरक्षाको जिम्मा भारतीय कमान्डोले लिएका हुन्छन् । लुम्बिनीको सडक स्वच्छ राख्ने हैसियतसम्म थिएन नेपालका सशस्त्र प्रहरीको । ४४ डिग्री गर्मीमा उनीहरू आत्तिइरहेका थिए ।

परराष्ट्रमन्त्री खड्काको जवाफ चित्तबुझ्दो थिएन । उनको भनाइमा, ‘समयको ठूलो चाप थियो । प्रधानमन्त्री देउवालाई पीडादायक अवस्थाबाट अलिकति फुर्सद दिने अवसर पनि थिएन । दुवै प्रधानमन्त्रीले सँगै बुद्धपूजा र ध्यान गर्ने पूर्वनिर्धारित कार्यक्रम थियो । यसमा हामी फेरबदल गर्न सक्ने अवस्थामा थिएनौँ । 
प्रधानमन्त्री निकै पीडादायक स्थितिमा हुनुहुन्थ्यो । जसोतसो उहाँ खेपिरहनुभएको थियो पीडा ।’

परराष्ट्रमन्त्री खड्काको यो कथन नेपाल सरकारको दयनीय अवस्थाको विवरण हो । नेपाल सरकारलाई भारतीय प्रधानमन्त्री मोदीको लुम्बिनी आगमनको सूचना धेरै अगाडि प्राप्त भइसकेको थियो भन्नु उल्टो कुरा हुनेछ । वास्तवमा भारतका ‘माननीय’ (अनरेबल) प्रधानमन्त्री मोदीलाई नेपालका ‘सम्माननीय’ (राइट अनरेबल) प्रधानमन्त्री शेरबहादुर देउवाले पहिल्यै निम्तो पठाइसकेका थिए । त्यो निम्तो लुम्बिनीको जंगलमा अलमलिएको थिएन । प्रधानमन्त्री देउवा अचानक अस्वस्थ भएपछि र उनी भ्रातृ–वियोगको अवस्थामा रहेका वेला भारतीय प्रधानमन्त्री मोदीलाई यो जानकारी दिनुपथ्र्यो । तर, त्यसो गरिएन । शारीरिक र मानसिक दुवै हिसाबले अस्वस्थ रहेका प्रधानमन्त्री देउवालाई जबर्जस्ती घिसारेर ल्याइयो, प्रार्थनास्थलमा । त्यो अप्रिय दृश्य सारा टेलिभिजनले देखाए । पत्रपत्रिकामा छापियो । क्यानडामा अर्थशास्त्र पढेर त्यहीँ बिहे गरेका, त्यत्रो अन्तर्राष्ट्रिय सभा–सम्मेलनको अनुभव हासिल गरेका परराष्ट्रमन्त्री खड्कालाई यस्तो अवस्थामा के गर्ने भन्ने प्रोटोकलको ज्ञान थिएन ? थिएन भने सेनाका मानिससँग सोध्न सक्दैनथे ?

नेपालले राजा–महाराजाले चलाएको ल्याङप्mयाङे परराष्ट्र नीतिमा सुधार गर्न सकेको छैन । भाइ–भारदार र डिट्ठा–खरदारको मानसिकताले परराष्ट्र नीति हाँकिरहेको छ । राजाको पालामा भारतसँग वार्ता गर्न दिल्ली पुग्ने तत्कालीन श्री ५ को सरकारका अधिकारीको पहिलो काम दिल्लीको प्रसिद्ध साडी बजार करोलबागमा किनमेल गर्नु हुन्थ्यो । अहिले आफ्ना सन्तानका लागि छात्रवृत्ति खोज्नु रहेको छ ।

जे होस्, भारतका प्रधानमन्त्री मोदी कुशी नगरको छोटो बाटो हुँदै मनीषीका रूपमा लुम्बिनी आए । मनीषीकै रूपमा दिल्ली फर्किए । जाँदाजाँदै नेपालीको मनमा ‘आशाको बिउ’ रोपे । मोदीजीले जनकपुरको भ्रमण गर्दा पर्यटकको चाप ‘ह्वात्तै’ बढेको थियो । मुस्ताङ जाँदा त्यहाँ पनि पर्यटक ‘ओइरिए’ । अब, लुम्बिनी आएका छन् । यो ठाउँको पनि केही ‘कल्याण’ होला कि ?