मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ जेठ ५ बिहीबार १०:४०:००
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

सिराहा नगरपालिकामा एमाले विजयी

Read Time : < 1 मिनेट
२०७९ जेठ ५ बिहीबार १०:४०:००

सिराहा नगरपालिको मेयर र उपमेयरमा नेकपा एमाले विजयी भएको छ। एमालेका जिल्ला उपाध्यक्षसमेत रहेका डा. नवीनकुमार यादव मेयर र बबिताकुमारी साह उपमेयरमा निर्वाचित भएका हुन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय सिराहाले सार्वजनिक गरेको मत परिणामअनुसार मेयर डा. यादव दुई हजार दुई सय २३ मत अन्तरले विजयी भएका छन् । उनले ११ हजार एक सय ४३ मत प्राप्त गरेका छन् ।

निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मधेस प्रदेश महामन्त्री उपेन्द्रकुमार यादवले आठ हजार सात सय २० मत पाएका छन् । जनता समाजवादी पार्टीका नगर अध्यक्ष एवं निवर्तमान मेयर अशेश्वरप्रसाद यादवले सात हजार सात सय ३४ र नेकपा एकीकृत समाजवादी पार्टीका रिताकुमारी यादवले पाँच हजार नौ सय तीन मत प्राप्त गरेका छन् ।

मेयरमा निर्वाचित डा. यादव स्थानीय तह निर्वाचन २०७४ मा जसपा नेपालका अशेश्वरप्रसाद यादवसँग एक सय ७१ मत अन्तरले पराजित भएका थिए । यस्तै उपमेयरमा निर्वाचित साहले १० हजार एक सय २६ मत प्राप्त गरेका छन् । उनी एक हजार पाँच सय ३७ मतअन्तरले विजयी भएकी छिन् । निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सरिताकुमारी यादवले आठ हजार पाँच ८९, जनता समाजवादी पार्टी नेपालकी शशि ऋषि मित्रा माझी मुसहरले सात  हजार आठ सय ५५ र नेकपा एकीकृत समाजवादी पार्टीकी रवीन्द्रकुमार साहले ६ हजार सात सय ४२ मत प्राप्त गरेका छन् ।

मेयरमा निर्वाचित डा. यादव ०७० मा दोस्रो संविधानसभा निर्वाचनमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबाट सिराहा क्षेत्र नम्बर ३ बाट संविधानसभा निर्वाचनमा उम्मेदवारी दिएर पराजित भएका थिए । ०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा सिराहा नगरपालिकाको मेयरमा एक सय ७१ मत अन्तरले पराजित भए पनि एमालेकी डा. नमिता यादव उपमेयरमा निर्वाचित भएकी थिइन् ।