मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
चुनावी दौडमा भेट भएका दायाँँ (विजयी) सरोज थापा र बायाँ (पराजित) कृष्णबहादुर भुसाल
२०७९ जेठ ४ बुधबार ०९:०६:००
Read Time : > 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

जो बाबु र छोरा दुवैसँग पालिका प्रमुखमा पराजित भए

Read Time : > 1 मिनेट
२०७९ जेठ ४ बुधबार ०९:०६:००

गुल्मीदरबार गाउँपालिका प्रमुखमा एमालेका कृष्णबहादुर भुसाललाई पराजित गरेर कांग्रेसका सरोजकुमार थापा विजयी भए । एमालेका भुसाल दोस्रोपटक पनि गाउँपालिका प्रमुखमा उठेका थिए । उनी गत स्थानीय तहको निर्वाचनमा पनि कांग्रेसका अशोककुमार थापासँग पराजित भएका थिए । थापाको गत वर्ष निधन भएको छ । अहिले विजयी सरोजकुमार थापा स्वर्गीय अशोककुमार थापाका छोरा हुन् । कांग्रेसको पकड क्षेत्र मानिने गुल्मीदरबारमा एमालेका भुसालले दोस्रोपटक चुनौतीपूर्ण उम्मेदवारी दिएका थिए । गुल्मीदरबारमा एमाले तीन वडामा सीमित भएको छ । 

जसले दोस्रोपटकमा जिते
मालिका गाउँपालिका प्रमुखमा गठबन्धनको तर्फबाट माओवादीका देवीराम अर्याल विजयी भए । एमालेका तर्फबाट रितबहादुर थापा पराजित भए । गत स्थानीय तह निर्वाचनमा पनि अर्याल र थापा प्रतिस्पर्धी थिए । एमालेका थापा ठूलो मतान्तरले विजयी भएका थिए । पहिले गठबन्धन थिएन । अहिले कांग्रेस–माओवादी गठबन्धन गरेर अर्यालले साट्टो फेरे । ठूलो मतान्तरले थापालाई अर्यालले पराजित गरे । 

मदाने गाउँपालिका प्रमुखमा गठबन्धनका तर्फबाट कांग्रेसका महेन्द्रबहादुर कुँवर विजयी भए । उनले एमालेका प्रेम केसीलाई १० मतान्तरले पराजित गरे । कुँवर गत स्थानीय तहको निर्वाचनमा एमालेका दानबहादुर केसीसँग पराजित भएका थिए । पहिले छुट्टाछुट्टै प्रतिस्पर्धा थियो । अहिले कुँवरले गठबन्धनमार्फत गाउँपालिका प्रमुख हुने चाहना पूरा गरेका छन्।

रूरू क्षेत्र गाउँपालिका प्रमुखमा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका यदु ज्ञवाली विजयी भए । उनले एमालेका हिमाल श्रेष्ठलाई पराजित गरे । गत स्थानीय तहको निर्वाचनमा पनि रूरू क्षेत्रमा कांग्रेस–माओवादी गठबन्धन थियो । तैपनि ज्ञवालीलाई एमालेका नीलकण्ठ गौतमले पराजित गरेका थिए ।

चन्द्रकोट गाउँपालिका प्रमुखमा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका युवराज केसी विजयी भए । उनले एमालेका चेतन बस्नेतलाई भारी मतले पराजित गरे । केसी दोस्रोपटक चुनावी मैदानमा थिए । उनी गत स्थानीय तहको निर्वाचनमा कांग्रेसका दोर्णबहादुर खत्रीसँग पराजित भएका थिए । उनी गत स्थानीय तह निर्वाचनमा जुन दलसँग पराजित भए अहिले सोही दलसँगको गठबन्धनबाट प्रमुखमा विजयी भए ।

अहिले पराजित पूर्वउपप्रमुख
इस्मा गाउँपालिका उपप्रमुखमा एमालेकी विमला खत्री पराजित भइन् । कांग्रेसकी पार्वती कुँवरले खत्रीलाई पराजित गरेकी हुन् । खत्री इस्मा गाउँपालिका उपप्रमुखमा दोस्रोपटक चुनावी मैदानमा थिइन् । चन्द्रकोट गाउँपालिका उपप्रमुखमा एमालेकी राधिका अर्याल पराजित भइन् । उनलाई गठबन्धनका तर्फबाट कांग्रेसका विष्णुप्रसाद भण्डारीले पराजित गरेका छन् । कालीगण्डकी गाउँपालिका उपप्रमुखमा कांग्रेस–जनमोर्चा गठबन्धनकी तारा थापा पराजित भइन् ।

उनलाई एमाले–माओवादी गठबन्धनको तर्फबाट मञ्जु दर्लामीले पराजित गरिन् । गत स्थानीय तहमा उपप्रमुख भएका चारजना अहिले पनि उम्मेदवार थिए । चार जनामध्ये मदाने गाउँपालिका उपप्रमुखमा सरिता खड्काबाहेक अरू तीनजना दोस्रोपटक निर्वाचित हुन सकेनन् । त्यसबाहेक गत स्थानीय तहको निर्वाचनमा रेसुंगा नगरपालिका उपमेयरमा पराजित अमृतादेवी कुँवर अहिले सोही पदमा निर्वाचित भइन् । तर, गत स्थानीय तह निर्वाचनमा गुल्मीदरबारबाट उपप्रमुखमा प्रतिस्पर्धा गरेकी एमालेकी सुशीला पुन अहिले पनि सोही पदमा पराजित भएकी छिन् ।

पहिले प्रमुख र अहिले उपप्रमुखमा पराजित
मदाने गाउँपालिका उपप्रमुखमा गठबन्धनका बेगम चन्द उपप्रमुखमा पराजित भए । उनलाई एमालेकी सरिता खड्काले पराजित गरेकी हुन् । बेगम गत स्थानीय तह निर्वाचनमा माओवादीको तर्फबाट प्रमुख पदका उम्मेदवार हुन् । उनी एमालेका दानबहादुर केसीसँग पराजित भएका थिए । अहिले चन्द उपप्रमुखमा पनि पराजित भए ।