
रुकुम पूर्वका तीन स्थानीय तहको अध्यक्षमा माओवादी केन्द्र विजयी भएको छ । एउटा स्थानीय तहको उपाध्यक्षबाहेक अन्य सबै स्थानीय तहमा माओवादीले जित हासिल गरेको छ ।
सिस्ने गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका कृष्ण रेग्मी विजयी भएका छन् । उनले कांग्रेस–एमाले गठबन्धनका दत्तबहादुर बस्नेतलाई ७९ मतान्तरले पराजित गरे । रेग्मीले ३ हजार ७ सय ७९ मत पाउँदा बस्नेतले ३ हजार ७ सय मत ल्याएका छन् ।
पालिकाको उपाध्यक्षमा भने गठबन्धनका तर्फबाट एमालेका गोपाल रेउले माओवादी केन्द्रकी आस्था विकलाई २ सय ८७ मतान्तरले पराजित गर्दै विजयी भए ।
भूमे गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवैमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा होमप्रकाश श्रेष्ठ र उपाध्यक्षमा सविना बुढा फराकिलो मतान्तरले विजयी भएका छन् ।
अध्यक्षमा श्रेष्ठले ३ हजार ९ सय ७५ मत ल्याउदा मंगोल नेसनल अर्गनाइजेसनका रतनबहादुर बुढाले ५ सय ३ र राष्ट्रिय जनमोर्चाका कमान पुनले ५६ मत मात्र पाए ।
उपाध्यक्षमा बुढा ५ हजार ९ सय ५१ मत पाएर विजयी हुँदा एमालेका कमानसिंह डाँगी क्षेत्रीले १ हजार ३ सय ५५ मत मात्र ल्याए ।
पुथाउत्तरंगा गाउँपालिकामा माओवादी केन्द्रका पुनिराज घर्ती अध्यक्षमा निर्वाचित हुँदा उपाध्यक्षमा पनि माओवादी केन्द्रकै भुपेन्द्रा बुढा विजयी भइन् । घर्तीले अध्यक्षमा कांग्रेसका उम्मेदवार तेजेन्द्र खाम मगरलाई झन्डै दोब्बर मतान्तरले पराजित गरे ।
घर्तीले ३ हजार ९ सय १३ मत पाउँदा केही समयअगाडि मात्र कांग्रेस प्रवेश गरी गाउँपालिका अध्यक्षमा लडेका खामले २ हजार १ सय १३ मत पाए । अध्यक्षमै एमालेका बागलाल बुढाले १ हजार ८ सय ५२ मत ल्याए ।
उपाध्यक्षमा बुढाले ४ हजार ५९ मत प्राप्त गरिन भने प्रतिद्वन्द्वी कांग्रेसकी कमला शाही मल्लले २ हजार १० र एमालेकी धर्म घर्ती बुढाले १ हजार ८ सय १२ मत ल्याइन् ।