१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ बैशाख २९ बिहीबार
  • Monday, 07 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ बैशाख २९ बिहीबार o८:२२:oo
Read Time : > 2 मिनेट
निर्वाचन प्रिन्ट संस्करण

उपत्यकाका मतदान केन्द्रमा आठ हजार प्रहरी र म्यादी परिचालित

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ बैशाख २९ बिहीबार o८:२२:oo

१२६६ मध्ये २०१ मतदान केन्द्र सुरक्षाका दृष्टिकोणले संवेदनशील

उपत्यकामा निर्वाचनका लागि आठ हजारभन्दा धेरै प्रहरी र म्यादी प्रत्यक्ष रूपमा खटिएका छन् । नेपाल प्रहरीका तीन हजार चार सय ३४ र चार हजार सात सय ११ म्यादी मतदान केन्द्रको सुरक्षामा खटिएका छन् । 

काठमाडौंमा दुई हजार दुई सय प्रहरी र दुई हजार आठ सय १४ म्यादी, ललितपुरमा सात सय १८ प्रहरी र एक हजार एक सय २५ म्यादी तथा भक्तपुरमा पाँच सय १६ प्रहरी र सात सय ७२ म्यादी खटिएको उपत्यका प्रहरी कार्यालयले जनाएको छ । तुलनात्मक रूपमा उपत्यकामा सुरक्षा चुनौती कम भएकाले यहाँ कार्यरत प्रहरीलाई समेत उपत्यकाबाहिरका जिल्लामा खटाइएको छ । निर्वाचनलाई शान्तिपूर्ण र भयरहित रूपमा सम्पन्न गर्न प्रहरी सक्रियताका साथ लागिपरेको उपत्यका प्रहरी कार्यालयका निमित्त प्रमुख डिआइजी उत्तमराज सुवेदी बताउँछन् । ‘प्रहरी सक्रियताले उपत्यकामा सामान्य झैझगडासमेत भएका छैनन्,’ उनले भने, ‘मतदातालाई निर्धक्क भएर मतदान गर्ने वातावरण बनाएका छौँ ।’ 

सुरक्षा संवेदनशीलता हेरेर स्थानीय निर्वाचनमा प्रत्येक मतदान केन्द्रमा आठदेखि ११ सुरक्षाकर्मी खटिने भएका छन् । प्रत्येक केन्द्रमा तीन नेपाल प्रहरी र बाँकी म्यादी प्रहरी खटिनेछन् । सशस्त्र प्रहरी र सेनाले भने मतदानस्थलबाहिर गस्ती मात्रै गर्नेछन् । देशभर १० हजार सात सय ५६ मतदानस्थल र २१ हजार नौ सय ५५ मतदान केन्द्र कायम गरिएका छन् ।

केन्द्रीय सुरक्षा समितिले करिब तीन हजार मतदान केन्द्रलाई अति संवेदनशील र चार हजार पाँच सय केन्द्रलाई संवेदनशील क्षेत्रको सूचीमा राखेको छ । बाँकी करिब साढे १४ हजार केन्द्र भने सामान्यअन्तर्गत राखिएका छन् । प्रहरीका अनुसार सुरक्षाका दृष्टिले सामान्य देखिएका केन्द्रमा प्रतिमतदान केन्द्र आठ सुरक्षाकर्मी खटिनेछन् । संवेदनशील मानिएका केन्द्रमा कम्तीमा नौ र अति संवेदनशील केन्द्रमा प्रतिमतदान केन्द्र कम्तीमा ११ सुरक्षाकर्मी परिचालन हुनेछन् ।

डिआइजी उत्तमराज सुवेदी निमित्त प्रमुख, उपत्यका प्रहरी कार्यालय

संवेदनशील मतदानस्थलमा सामान्यमा भन्दा बढी सुरक्षाकर्मी परिचालन हुनेछन् । प्रहरी सक्रियताले उपत्यकामा सामान्य झैझगडासमेत भएका छैनन् । मतदातालाई निर्धक्क भएर मतदान गर्ने वातावरण बनाएका छौँ ।

उपत्यकामा १० लाख ७१ हजार मतदाता, पाँच सय २८ मतदानस्थल 
स्थानीय तहको निर्वाचनमा उपत्यकाका तीन जिल्लामा पाँच सय २८ मतदानस्थल र एक हजार दुई सय ६६ मतदान केन्द्र तय गरिएको छ । उपत्यकाका २१ स्थानीय तहमा १० लाख ७१ हजार दुई सय ४३ मतदाता छन् । 

एक महानगरपालिकासहित ११ स्थानीय तह रहेको काठमाडौंमा ६ लाख ३७ हजार सात सय ७५ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । एक महानगरसहित ६ स्थानीय तह रहेको ललितपुरमा दुई लाख ४३ हजार आठ सय ८४ तथा चार स्थानीय तह रहेको भक्तपुरमा एक लाख ८९ हजार पाँच सय ८४ मतदाता छन् । मतदाता संख्या, विगतमा भएका झैझगडा तथा मतदानस्थलको भौतिक अवस्थालगायतका आधारमा विश्लेषण गरी उपत्यकाका तीन जिल्लामा दुई सय दुई मतदानस्थललाई संवेदनशीलको सूचीमा राखेर प्रहरीले सुरक्षा योजना लागू गरेको छ ।

काठमाडौंमा तीन सय २० मतदानस्थलमध्ये एक सय १४ लाई सुरक्षाका दृष्टिकोणले संवेदनशीलमा राखिएको छ । काठमाडौं महानगरपालिकामा एक सय ५६ मध्ये ३१ वटा संवेदनशील र एक सय २५ सामान्य सूचीमा छन् । कागेश्वरी मनोहरा नगरपालिकामा १३ मध्ये ६, कीर्तिपुरमा २० मध्ये सात, गोकर्णेश्वरमा १७ मध्ये आठ, चन्द्रागिरिमा २२ मध्ये १२, टोखामा १५ मध्ये पाँच, तारकेश्वरमा १४ मध्ये १२, दक्षिणकालीमा १५ मा ६, नागार्जुनमा १५ मा ६, बुढानीलकण्ठमा १९ मा १२ तथा शंकरापुरमा १४ मा नौ मतदानस्थल संवेदनशील छन् । 

काठमाडौं–१७ स्थित नेपाल राष्ट्रिय मावि ढल्को, १८ नम्बर वडाको चामुन्डा इंग्लिस स्कुल चौर भुरुंखेल, १९ नम्बर वडास्थित यट्खाबहाल र अरुणोदय मावि, १० नम्बर वडाको शान्ति निकुञ्ज मावि र २१ नम्बर वडाको तबहाल मतदानस्थललाई संवेदनशीलमा राखिएको छ । 

ललितपुरमा एक सय ३१ मध्ये ५० वटालाई संवेदनशील सूचीमा राखिएको छ । ललितपुर महानगरपालिकामा ५२ मतदानस्थलमध्ये १८ वटा संवेदनशील सूचीमा छन् । गोदावरी नगरपालिकामा ३१ मा पाँच, महालक्ष्मीमा १८ मा ६, कोन्ज्योसोम गाउँपालिकामा सातवटा मतदानस्थल रहेकोमा सातैवटालाई संवेदनशीलमा राखिएको छ । त्यस्तै, बागमतीमा १३ मा आठ र महांकालमा १० मा ६ मतदानस्थल संवेदनशील छन् । 

भक्तपुरमा ७७ मध्ये ३७ वटा संवेदनशील छन् । भक्तपुर नगरपालिकामा तीन, चाँगुनारायणमा १५, मध्यपुर थिमीमा पाँच र सूर्यविनायकमा १४ वटा मतदानस्थललाई संवेदनशीलमा राखिएको छ । भक्तपुर नगरपालिका–८ स्थित ख्वपः इन्जिनियरिङ कलेज, ९ नम्बर वडामा रहेको नगरपालिका नयाँ भवन तथा १० नम्बर वडास्थित सरस्वती मावि नवदुर्गास्थानलाई संवेदनशील सूचीमा राखिएको छ ।