१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
एनिमल नेपालले ललितपुरको गोदावरी नगरपालिका–८ मा स्थापना गरेको ‘डुकछाप डङ्की सेन्चुरी’मा उद्धार गरिएका गधाहरु । तस्बिर : रासस
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १६:४७:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

नेपालमा श्रम क्षेत्रमा उपयोग हुने घोडा, खच्चडको अवस्था कस्तो छ ?

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १६:४७:oo

घोडा यातायात अनि गधा, खच्चड ढुवानीका साधन। नेपालका सडक सञ्जाल नपुगेका तथा दुर्गम क्षेत्रमा अझै पनि घोडा, खच्चड र गधाको प्रयोग हुने गर्छ।  पछिल्लोपटक घोडसवारी शौख बने पनि खच्चड भने काठमाडौं उपत्यकामा इँटा ओसार्नेदेखि मध्यपहाडी र हिमाली भेगमा खाद्यान्न, औषधिसहितका मालसामग्री ढुवानीमा उपयोग हुने गर्छन्। तराईमा पनि भारी बोक्न प्रयोग गरिन्छ। भाले गधा र पोथी घोडीको संसर्गबाट खच्चड जन्मिन्छ।

‘नेपाल र भारतका तराईमा हुर्केका खच्चड काठमाडौं हुँदै हिमालसम्म पुग्छन्,’ एनिमल नेपालका कार्यकारी निर्देशक हरिप्रसाद जोशीले भने, ‘तर, उनीहरूको उपयोगभन्दा पनि जतिसक्दो बढी फाइदा लिने हिसाबले भारी बोकाइन्छ। पशु अधिकार पनि हुन्छ भनेर ख्याल गरिँदैन। जसकारण खच्चड औसत उमेरभन्दा चाँडै मर्ने गरेका छन्।’

वरिष्ठ पशुचिकित्सक डा. अतिषकुमार यादवका अनुसार नेपालमा खच्चड, गधाको औसत उमेर ३५ वर्ष हुन्छ। उसले आफ्नो श्रम उमेरको १५–२० वर्षसम्म भारी बोक्न सक्छ। ‘घोडा, खच्चड, गधालाई उसको तौलको ४० प्रतिशत (उदाहरणका लागि १ सय केजीको खच्चरले ४० केजी तौलको भारी) मात्र बोकाउनुपर्ने विश्वव्यापी मान्यता छ,’ यादवले भने,  ‘तर, यहाँ चाँडै नै भारी बोक्न प्रयोग गर्ने र बुढो नहुन्जेलसम्म काममा लगाइने गरिएको छ। यसकारण १५–२० वर्षमै मर्ने गरेका छन्।

नेपालको लुम्बिनी र सुदूरपश्चिम प्रदेशसँग सीमा जोडिएको भारतको उत्तरप्रदेशमा हरेक वर्ष अक्टुबरमा घोडा, खच्चड र गधा किनबेचको ठूलो मेला लाग्ने गर्छ। यही मेलाबाट नेपालगन्जलगायतका क्षेत्रमा खच्चड ल्याइन्छ।  ती खच्चड हिउँददेखि बर्खाअघिसम्म काठमाडौंका इँटाभट्टामा इँटा ओसार्न प्रयोग गरिन्छ।

भारी बोक्न उपयोग हुने खच्चड, गधाको अवस्थाबारे सरकारी निकाय भने बेखबर देखिन्छ। नेपालमा डेढ लाख हाराहारीमा घोडा, गधा र खच्चड रहेकाे आकलन एनिमल नेपालको छ। सरकारले भने हाल आएर घोडा, खच्चड, गधाको तथ्यांक संकलनको काम थालेको छ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सूचना अधिकारी प्रदीपचन्द्र भट्टराई श्रममा उपयोग हुने पशुको पनि अधिकारको सुनिश्चिता हुनुपर्ने बताउँछन्। त्यसका लागि पशुप्रति हुने निर्दयी गतिविधि रोक्न ‘पशु कल्याण निर्देशिका, २०७३’ जारी भएको उनले बताए। निर्देशिकामा कृषि, उद्योग तथा व्यवसायको क्षेत्रमा भारी बोक्ने, भार तान्ने र यातायातलगायतका क्षेत्रमा पशुले बोक्नुपर्ने भार, काम गर्ने समय तथा पशुको आहारा, वासस्थान, सुरक्षा र स्वास्थ्यबारे मापदण्ड तय गरिएको छ।

गधा संरक्षणबारे सचेतना जगाउन पछिल्लो समय ८ मेमा विश्व गधा दिवस मनाउन थालिएको छ। ‘एनिमल नेपाल’ले ललितपुरमा ‘डुकुछाप डंकी सेन्चुरी’ नाममा गधा पुनर्स्थापना केन्द्र स्थापना गरेर उपचारसहित वासस्थान व्यवस्था गरेको  छ।

कार्यकारी निर्देशक जोशीका अनुसार सडकमा बेवारिसे छोडिएका गधालाई उद्धार गरी उपचार र स्याहार गर्ने गरिन्छ। उपत्यकाका इँटाभट्टामा प्रयोग गरी काम नलाग्ने भएपछि बेवारिसे छाडिएका दुई दर्जनभन्दा बढी घोडा, खच्चड र गधा अहिले यो केन्द्रमा छन्।

ad
ad