१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
२o८१ जेठ ७ सोमबार o७:५८:oo
Read Time : > 2 मिनेट
ad
ad
निर्वाचन प्रिन्ट संस्करण

झापामा आचारसंहिता उल्लंघन : दलहरू प्रतिबद्धता जनाउँछन्, कार्यान्वयन गर्दैनन्

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार o७:५८:oo

जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिले झापामा आचारसंहिता उल्लंघन भइरहेको निचोड निकाल्यो । बिहीबार अनुगमन समितिले दलहरूसहित बैठक गर्दै आगामी दिनमा आचारसंहिता उल्लंघन हुन नदिने पनि प्रतिबद्धतासहितको निर्णय गर्‍यो । तर, यस्तै प्रतिबद्धतासहितको निर्णय नौ दिनअघि पनि भएको थियो ।

गत हप्ताको मंगलबार भएको अनुगमन समितिको बैठकमा जिल्लाका राजनीतिक दलले आचारसंहिता उल्लंघन हुन नदिने प्रतिबद्धता जनाएका थिए । यतिसम्म कि चोकचोकमा र सार्वजनिक स्थानमा भएका झन्डा तथा प्रचार सामग्री हटाउने प्रतिबद्धता गरेका थिए । तर, यो प्रतिबद्धतापछि झनै आचारसंहिता उल्लंघन बढ्यो । चोकमा र सार्वजनिक स्थान तथा सार्वजनिक सवारीमा झन्डाको संख्या बढ्यो । फेरि पनि निर्वाचन कार्यालय झापाले अघिल्लो निर्णय कार्यान्वयन गर्नुको सट्टा दलहरूलाई बोलाएर अर्को प्रतिबद्धता गराएको छ । 

जिल्ला निर्वाचन कार्यालय झापाले आचारसंहिता अनुगमनको बैठक राखेर गरेको निर्णय कार्यान्वय हुन नसक्दा आचारसंहिता उल्लंघनका घटना बढिरहेको छ । निर्वाचन आचारसंहिता २०७८ को दफा १२ (घ) मा जुलुस, आमसभामा भाग लिने वा प्रचार प्रसार गर्ने व्यक्तिले दलको निर्वाचन चिह्न वा झन्डा अंकित लोगो वा स्टिकर वा कपडा, टोपी वा क्याप, भेस्ट, टिसर्ट, ज्याकेट, कमिज, गाम्छा, ब्याच, मास्क वा लकेट लगाउन वा झोला बोक्न नहुने, तर उम्मेदवारले एफोर साइजको कागजमा आफ्नो व्यक्तिगत पहिचान (बायोडाटा)को विवरण खुलाई वितरण गर्न बाधा नपर्ने उल्लेख छ । तर, झापाका राजनीतिक दलहरूले भने चुनाव प्रचारमा प्रयोग भएको मोटरसाइकल, अटो रिक्सा र चारपांग्रे सवारीमा झन्डा तथा प्रचारका ब्यानर लगाएर चुनाव प्रचार गरिरहेका छन् । यति मात्र हैन, ठूला–ठूला र चर्को आवाजमा प्रचार सामग्री पनि बजाइरहेका छन् । झापामा सार्वजनिक स्थानमा पार्टीका झन्डा तथा प्रचार सामग्री राख्ने होडबाजी छ । 

यो निर्वाचन आचारसंहिता २०७८ को दफा १२ (ज) विपरीत हुन्छ । उक्त दफामा घर वा जग्गाधनीको अनुमति नलिई कसैको निजी घर वा जग्गामा वा सार्वजनिक भवन, सार्वजनिक उद्यान, सार्वजनिक सडकका पोल वा कुनै पनि सार्वजनिक स्थानमा दलको झन्डा, दल वा उम्मेदवारको निर्वाचन चिह्न राख्न वा टाँस्न नहुने उल्लेख छ ।

जिल्ला निर्वाचन कार्यालय झापाका मुख्य निर्वाचन अधिकृत गिरिराज गौतमले निर्वाचन आचारसंहिता उल्लंघनमा होडबाजी चलेको बताए । उनले सार्वजनिक स्थान र गाडीमा समेत झन्डाको प्रयोग भइरहेको बताए । ‘पछिल्लो समय केही समस्या आएको छ । झन्डा राख्ने र निर्वाचन आचारसंहिता उल्लंघन गर्ने कुरामा होडबाजी नगरौँ । यहाँ पनि ठीक छ भन्ने अवस्था छैन,’ उनले भने, ‘झापामा अनुमतिविना सवारीसाधन पनि प्रचारमा झन्डा लगाएर प्रयोग भइरहेको छ । यो पाइँदैन । केही स्थानीय तहबाहेक कतै पनि सवारी पास लिएको पाइँदैन । मापदण्डअनुसार प्रचारमा प्रयोग हुने सवारीको पनि पास लिनुहोला ।’ दलहरूले निर्वाचन प्रचारमा बालबालिकाको प्रयोग गरेको समेत पाइएको बताए । ‘सामाजिक सञ्जालमा बालबालिकाको प्रयोग भएको फोटो पनि पाइरहेका छौँ,’ गौतमले भने, ‘यस्तो नगर्नुहोला । बालबालिकाको प्रयोग गर्दा उम्मेदवारी पनि रद्द हुन सक्छ ।’

हल्दिबारीका निर्वाचन अधिकृत नारदप्रसाद भट्टराईले दलहरूले आफैँ आचारसंहिता बनाउन खोजेको आरोप लगाए । ‘दलहरूले यो निर्वाचन सहकारीको हैन, स्थानीय तहको हो । सहमति गरेर भए पनि प्रचार गरौँ भन्छन्,’ उनले भने, ‘भएको आचारसंहिता कार्यान्वयन गर्ने हैन, नयाँ आचारसंहिता बनाउने जस्तो कुरा गर्नुहुन्छ, उहाँहरू ।’

बैठकमा सहभागी दलहरूले निर्वाचन आचारसंहिता उल्लंघन भइरहेको स्वीकार गरे । यसमा सबै दलको प्रतिबद्धता आवश्यक रहेको बताए । बैठकमा झापामा क्रियाशील ठूला तथा साना दलका केही प्रतिनिधि आएका थिए । यद्यपि, ठूला दलका जिल्ला पदाधिकारी सहभागी नभई प्रतिनिधिको रूपमा पठाएका थिए । ‘दलका प्रमुख आउनुहुन्छ भन्ने अ‍ेपक्षा थियो । सबै दलका प्रमुखलाई खबर गरेका हौँ,’ झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले भने, ‘यसले आचारसंहिताको विषय दलहरूलाई रुचिकर छैन भन्ने देखाएको छ ।’ प्रमुख जिल्ला अधिकारी रिजालले झापामा आचारसंहिता उल्लंघनको घटना भए पनि लिखित उजुरी नआएको बताए । यद्यपि, मौखिक उजुरी आइरहेको उनको भनाइ छ । 

ad
ad