मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७९ बैशाख २२ बिहीबार ०७:३९:००
Read Time : > 1 मिनेट
निर्वाचन प्रिन्ट संस्करण

सत्तागठबन्धनले ल्यायो बुटवल उपमहानगरको संकल्पपत्र

Read Time : > 1 मिनेट
२०७९ बैशाख २२ बिहीबार ०७:३९:००

पाँचदलीय गठबन्धनले बुटवलको विकासमा एकजुट हुने प्रतिबद्धता जनाउँदै चुनावी संकल्पपत्र सार्वजनिक गरेको छ । बुटवलमा बुधबार पत्रकार सम्मेलन गर्दै पाँचदलीय गठबन्धनले संकल्पपत्र सार्वजनिक गरेको हो ।

संकल्पपत्रमा बुटवललाई समानता, स्वाभिमान र अवसरसहितको बस्नयोग्य सहरका रूपमा रूपान्तरण गर्ने संकल्प गरिएको छ । संकल्पपत्रमा विभिन्न क्षेत्रमा कर छुट दिनेदेखि सेवाहरू सहज जनमुखी बनाउनेसम्मका विभिन्न संकल्प गरिएको छ । बुटवल उपमहानगरमा कांग्रेसबाट प्रमुख पदका उम्मेदवार खेलराज पाण्डे, एकीकृत समाजवादीबाट उपप्रमुख पदका उम्मेदवार चिनबहादुर गुरुङसहित पाँच दलका नेताहरूले संकल्पपत्र सार्वजनिक गरेका हुन् ।

 

साझा संकल्पपत्रमा निजी तथा दलीय प्रयोजनका लागि सरकारी सवारीसाधनको प्रयोग अन्त्य गर्ने, वार्षिक रूपमा जनप्रतिनिधिहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने, जनप्रतिनिधिहरूको एक महिनाको तलब नगरवासीहरूको स्वास्थ्य बिमा कार्यक्रमका लागि योगदान गर्ने प्रतिबद्धता जनाइएको छ । संकल्पपत्रमा भनिएको छ, ‘बुटवल उपमहानगरपालिका कार्यालयलाई आमनगरवासीको अपनत्व झल्किने समावेशी र अपांगतामैत्री बनाउँदै साझा चौतारीका रूपमा विकास गरिनेछ । मेयर युथ एडभाइजरी बोर्ड गठन गरिनेछ ।’ 

पाँच दलले देश–विदेशमा रहेका बुटवलका बुद्धिजीवी तथा उच्च पेसागत क्षेत्रमा क्रियाशील अनुसन्धानविद्हरू सम्मिलित प्रबुद्ध परिषद् गठन गर्ने योजना पनि अघि सारेका छन् । यस्तै, विशिष्ट सार्वजनिक सेवालाई दु्रत अवलम्बन गरी घर–घरै सेवा पुर्‍याइनेदेखि सार्वजनिक सेवा प्राप्त गर्न एकद्वार नीति अवलम्बन गरी सिफारिस, राजस्व सेवा, घर–नक्सा इजाजत जस्ता सेवाहरूलाई डिजिटलाइज र झन्झटमुक्त बनाउने योजना यी दलले अघि सारेका छन् ।

गुनासो सुन्न हेलो मेयर डेस्क स्थापना गर्ने योजना पनि अघि सारिएको छ । गठबन्धनले व्यवसाय करको दर व्यापारको प्रभावका आधारमा निर्धारण गर्ने, पालिकाले लिँदै आएको घरबहाल कर, ई–रिक्सा सवारी कर, हाटबजार बैठकी करलगायतका करका दर एवं सिफारिस शुल्क घटाउने जनाएको छ । यस्तै, सबै वडाको दिगो र सन्तुलित विकासका लागि न्यायोचित बजेट विनियोजन गर्ने प्रतिबद्धता गठबन्धनले गरेको छ । 

संकल्पपत्रमा बुटवलमा दुईवटा नगर अस्पताल निर्माण गर्ने उल्लेख छ । संकल्पपत्रमा भनिएको छ, ‘हरेक वडामा प्रयोगशाला र आकस्मिक सेवासहितको वडा स्वास्थ्य सेवा केन्द्र स्थापना गरिनेछ । वडा स्वास्थ्य केन्द्रमार्फत महिलाका लागि निःशुल्क सेनिटरी प्याडको व्यवस्था मिलाइनेछ । स्वास्थ्य बिमामार्फत उपचार लिएका सेवाग्राहीलाई वडा स्वास्थ्य सेवा केन्द्रबाट औषधि उपलब्ध गराइनेछ ।

नगरभित्र नि:शुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइनेछ ।’ आम्दा अस्पताललाई उपमहानगरपालिकाको मातहतमा ल्याई मेडिकल कलेजका रूपमा विकास गर्न आवश्यक पहल गरिने, गर्भवती महिलालाई निःशुल्क स्वास्थ्य परीक्षण र पोषिलो खानाको व्यवस्था मिलाइने, सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाको दक्षता अभिवृद्धि र उत्प्रेरणाका कार्यक्रम सञ्चालन गर्दै मोबाइल हेल्थ वर्कर समूह गठन गरिने पनि उल्लेख छ ।

नगरवासीलाई स्वच्छ खानेपानीको पहुँचभित्र ल्याउने, उपभोक्ता समूहबाट सञ्चालित खानेपानी आयोजनाहरूलाई आवश्यकताअनुसार विकास, विस्तार र सहयोग उपलब्ध गराउने योजना अघि सारेको गठबन्धनले झुम्साखोला खानेपानी परियोजना यथाशीघ्र सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ । 

अत्याधुनिक फोहोर प्रशोधन केन्द्र स्थापना गर्नेदेखि घरेलु फोहोर संकलनबापत लिइँदै आएको दस्तुर घटाइने संकल्प पनि गठबन्धनले गरेको छ । संकल्पपत्रमा भनिएको छ, ‘बुटवलका प्रमुख बजार एवं केन्द्रहरूमा स्तरीय, सुविधाजनक र अपांगतामैत्री सार्वजनिक शौचालय निर्माण गरिनेछ । शौचालयको सरसफाइ र सञ्चालनका लागि आवश्यक स्रोतको व्यवस्था गर्न कोष खडा गरिनेछ ।’