१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
मञ्जु टेलर काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार o८:१२:oo
Read Time : > 3 मिनेट
ad
ad
निर्वाचन प्रिन्ट संस्करण

महिलाका मुद्दाबारे के भन्छन्  काठमाडौंका महिला उम्मेदवार ?

Read Time : > 3 मिनेट
मञ्जु टेलर, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o८:१२:oo

आगामी स्थानीय तहको निर्वाचनमा काठमाडौं उपत्यकाका विभिन्न स्थानीय तहमा प्रमुख र उपप्रमुख पदमा महिला उम्मेदवार बनेका छन् । प्रमुख र उपप्रमुख पदमा उम्मेदवारी दिनेमा अधिकांश प्रमुख दल र केही स्वतन्त्र छन् । महिला गैरसरकारी संस्था र संकल्पले काठमाडौंमा आयोजना गरेको ‘महिला जिताउँ अभियान’अन्तर्गत अन्तरक्रियामा काठमाडौं महानगरमा मेयर पदका लागि उम्मेदवारी दिएका कांग्रेसकी सिर्जना सिंह र विवेकशील साझा पार्टीकी समीक्षा बास्कोटा, उपमेयरमा उम्मेदवारी दिएकी एमालेकी सुनिता डंगोल र राप्रपाकी विनिता मगैयाले यसरी सुनाए आफ्ना प्रतिबद्धता ।

घरजस्तै काठमाडौं महानगर व्यवस्थित राख्छु : सिर्जना सिंह, कांग्रेसबाट मेयरकी प्रत्याशी, काठमाडौं महानगरपालिका 
पारिवारिक राजनीतिक परिवेश बलियो भएकाले घरजस्तै काठमाडौं महानगर व्यवस्थित बनाउनेछु । मंगलादेवीले आफ्नो जीवनकालभरि महिलाको क्षेत्रमा लडेकाले मैले पनि महिलाका मुद्दा नजिकबाट नियाल्ने मौका पाएकी छु । त्यसैले महिलाको हकहितमा काम गरेर देखाउनेछु ।

सामाजिक अभियन्ताको रूपमा सधैँ सक्रिय रहेकाले आममानिसको आवश्यकता बुझेकाले महानगर व्यवस्थित बनाउन भूमिका खेल्नेछु । महिलालाई राजनीतिमा ल्याउन, आर्थिक क्षेत्रमा अगाडि बढाउन कार्यक्रम बनाउनेछु । काठमाडौं महानगर महिलाका लागि सुरक्षित बनाउनेछु ।

महिलाको क्षेत्रमा कटिबद्ध भएर लाग्नेछु : सुनिता डंगोल, एमालेबाट उपमेयरकी प्रत्याशी, काठमाडौं महानगरपालिका 
महिलाको क्षेत्रमा कटिबद्ध भएर लाग्नेछु । कार्यस्थलमा महिलालाई सुरक्षित रहने र महिनावारीको समयमा बिदामा बस्न मिल्ने नीति तथा कार्यक्रम पछिल्लो समय चर्चाको विषय बनेको छ ।

त्यसैले महिलालक्षित कार्यक्रम ल्याइनेछ । महिलालाई कार्यस्थलमा सुरक्षित अनुभव गराउने वातावरण निर्माण गराउने प्रबन्ध गरेका छौँ । साथै, महिलाका हरेक क्षेत्रमा हरेक विषयलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने प्रतिबद्धता गर्छु । 

राजधानीको फोहोरसँगै राजनीतिको फोहोर हटाउँछु : समीक्षा बास्कोटा, विवेकशील साझाबाट मेयरकी प्रत्याशी, काठमाडौं महानगरपालिका 
राजधानीको फोहोरसँगै राजनीतिको फोहोर हटाउन मेयरमा उम्मेदवारी दिएकी हुँ । प्रमुख पदमा पुरुषको सिन्डिकेट तोड्दै हाम्रो पार्टीले काठमाडौंमा मेयर र उपमेयरमा महिला उम्मेदवार उठाएर राजनीतिमा नयाँ तरंग ल्याएको छ ।

पछिल्लो पाँच वर्षको अनुभवले महानगर व्यवस्थित बनाएर देखाउनेछु । महिलाले लामो संघर्ष गरेर प्राप्त गरेको ३३ प्रतिशतको हकसमेत गठबन्धनले तोडेकाले प्रमुख र उपप्रमुखमा महिलाको सहभागिता न्यून हुनु दुःखद हो । राजनीतिमा मात्र नभई हरेक क्षेत्रमा महिला सहभागिता ५० प्रतिशतभन्दा बढाउने लक्ष्य लिएका छौँ । 

सहरमा हिंसा कम गर्ने वातावरण बनाउँछु : विनिता मगैया, राप्रपाबाट उपमेयरकी प्रत्याशी, काठमाडौं महानगरपालिका
महानगर महिलामैत्री बनाउन प्रयत्न गर्नेछु । सहरमा महिलाविरुद्ध हुने हिंसा कम गर्न सिसिटिभी मात्र पर्याप्त छैन । पूर्ण सुरक्षाको प्रत्याभूति दिने वातावरण बनाउने लक्ष्य राखेकी छु । बाटोमा हुने सिसिटिभीले हिंसाका घटना रोक्दैन ।

जुन घटना भइसकेपछि कानुनी उपचारका लागि प्रमाणबाहेक काम लाग्दैन । महिलालाई राति अबेर फर्किंदा बाटोमा सुरक्षित महसुस गराउन नगर प्रहरीजस्ता सुरक्षाका उपाय अपनाउने लक्ष्य लिएका छौँ । हरेक क्षेत्रमा महिला सहभागिता बढाउनसमेत नीति तथा कार्यक्रममा महिलालाई विशेष प्राथमिकतामा राखिनेछ । 

महिलालाई समानताको वकालत गर्ने तहमा पुर्‍याउँछु : रजनी थापा, कांग्रेसबाट मेयरकी प्रत्याशी, टोखा नगरपालिका 
पाँच वर्षमा महिलालाई अधिकारका लागि प्रतिशतमा भर नपर्नुपर्ने अवस्थामा पुर्‍याउने लक्ष्य छ । हाल समताको माग गरिरहेका महिलालाई समानताको वकालत गर्ने तहमा पुर्‍याउन प्रयत्न गर्नेछु ।

महिलासँगै म पनि युवा भएकाले चुनावमा गरिएका प्रतिबद्धता दिन, महिना र वर्ष लगाएर कार्यान्वयन गर्नेछु, जसको रिजल्ट कम्तीमा पनि पाँच वर्षमा आउनेछ । महिलामाथि हुने हिंसाविरुद्ध लड्न ‘वुमन इम्पावर सेल’, ‘वुमन इन्करेज सेल’ र ‘वुमन फाइटब्याक सेल’ स्थापना गरिनेछ । 

उपत्यकाका दुई महानगरमा प्रमुख पदमा महिला उम्मेदवारको संख्या २३
उपत्यकाका दुई महानगरपालिकाको प्रमुख पदमा महिलाको उपस्थिति न्यून छ । काठमाडौं र ललितपुर महानगरमा महिलाको उम्मेदवारी पुरुषको तुलनामा निकै न्यून देखिएको हो । काठमाडौं महानगरमा प्रमुख पदका लागि उम्मेदवारी दिएका ५६ मध्ये जम्मा आठजना मात्र महिला उम्मेदवार छन् । जसमध्ये कांग्रेसबाट सिर्जना सिंह, विवेकशील साझा पार्टीबाट समीक्षा बास्कोटा, आमूल परिवर्तन मसिहा पार्टी नेपालबाट रूपा सुवाल, नेपाल जनता पार्टीबाट सरिता घिमिरे, मंगोल नेसनल अर्गनाइजेसनबाट सीता तामाङ र स्वतन्त्रबाट कान्ति तुलाधर (बज्राचार्य), ज्ञानु लामा तामाङ र किरण रञ्जितले उम्मेदवारी दिएका छन् । उपमेयर पदका लागि ३३ उम्मेदवारमध्ये १५ जना महिला छन् । 

ललितपुर महानगरमा मेयरका लागि आमूल परिवर्तन मसिहा पार्टीबाट सपना महर्जन, मौलिक जरोकिलो पार्टीबाट सपना श्रेष्ठ र सरिना लाखे जोशीले स्वतन्त्र उम्मेदवारी दिएकी छन् । यसबाहेक उपमेयर पदका लागि एमालेबाट मञ्जली शाक्य, राप्रपाबाट स्वर्णिमा शाक्य, नेमकिपाबाट ममिता श्रेष्ठ, नेपाल सुशासन पार्टीबाट जानकी प्रधान श्रेष्ठ, नेकपा मालेबाट सर्मिस्ता श्रेष्ठ र जनमत पार्टीबाट कुसुम बज्राचार्यले उम्मेदवारी दिएका छन् । 

निर्वाचन आयोगको तथ्यांकअनुसार महानगरपालिका, उपमहानगरपालिका, नगरपालिकाको प्रमुख–उपप्रमुख, गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षमा चार हजार चार सय नौजना मात्रै महिला उम्मेदवार छन्, जसमध्ये प्रमुखमा दुई सय ३० महिला उम्मेदवार छन् । पालिका प्रमुखमा महिला उम्मेदवार एक सय ५५ छन् । उपप्रमुखमा एक हजार चार सय ३५ महिला छन् । उपाध्यक्षमा एक हजार ६ सय ४४ महिला उम्मेदवार छन् । वडाध्यक्षमा नौ सय ४५ महिला उम्मेदवार छन् । निर्वाचन आयोगको तथ्यांकअनुसार २९ वैशाखसम्म १८ वर्ष पूरा भएका एक करोड ७७ लाख ३३ हजार सात सय २३ जनामध्ये ८७ लाख ४१ हजार पाँच सय ३० जना महिला छन् ।

प्रमुख पदमा उम्मेदवारी दिएका महिलाहरूले चुनावी घोषणापत्रमा महिलालक्षित कार्यक्रम ल्याएको जनाएका छन् । जसमध्ये अधिकांश महिला उम्मेदवारले कार्यस्थलमा हुने हिंसादेखि लिएर महिलाविरुद्ध हुने अपराध, बलात्कार, हत्या, दुव्र्यवहारविरुद्ध छुट्टै कार्यक्रम र महिनावारीको समयमा बिदा दिने जस्ता कार्यक्रम नीति तथा कार्यक्रममा समेटेका छन् । 

ad
ad