मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
रमेश भट्टराई ‘सहृदयी’
२०७९ बैशाख २१ बुधबार ०७:३०:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

दलीय होडबाजी र मताधिकारको चिन्ता

आफू बन्नभन्दा अरूलाई बिगार्नमा निमग्न दलीय होडबाजीले देश कता जाँदै छ भन्ने अहं सवाल जन्माएको छ

Read Time : > 2 मिनेट
रमेश भट्टराई ‘सहृदयी’
२०७९ बैशाख २१ बुधबार ०७:३०:००

सडकमा बाजागाजासहित तामझामको प्रतिस्पर्धा देखिन्थ्यो । उम्मेदवारहरू अबिरमालाले रातै सजिएका देखिन्थे । अर्कातिर, मानिसहरू नाचगान गरिरहेका थिए । पार्टीका झन्डाको प्रदर्शनसँगै एक झुन्ड नाचगानमा मग्न देखिन्थे । सबै पार्टीले देश र जनताको हितका बखान गर्दै थिए । चोकतिर कुनै ठूलै उत्सवमा जसरी विशेष भोज चलिरहेको थियो । छेउका होटेलवालालाई भ्याइनभ्याइ थियो । तिनको बजार अहिले राम्रैसँग चल्न थालेको छ । उता नौमती बाजा घन्किरहेको थियो । उम्मेदवारी दर्ताको चहलपहल हेर्दा सबैजसो पार्टीले विजयजुलुस गरेजस्तै देखिन्थ्यो । सामाजिक सञ्जालभरि बधाईको ओइरो देखिन्थ्यो । 

यतिखेर मुलुक ‘परिवर्तन र विकास’ कि ‘स्वार्थजनित पदीय आकांक्षा’तिर मोडिँदै छ । पुरानै नेतृत्वको पुनरावृत्तिको सम्भाव्यता आँखाअघि छ । नयाँ अभिलाषामा आशंकाको पहाड ठडिएको छ । यद्यपि, मुलुकले सामाजिक, शैक्षिक, आर्थिक वा अन्य प्रकृतिमैत्री विकासका अनगिन्ती सम्भावनामा उत्सव मनाउने नेतृत्व नै पाएन । दलका घोषणापत्रमा यी सन्दर्भभन्दा बढी मपाइँत्व हाबी देखिन्छ । अघिल्लो चुनावी नाराजस्तै मायावी बुद्धिविलासको प्रतिस्पर्धामा उत्सव देखिइरहेको छ । वस्तुतः पार्टीका नेतृत्व नै स्वयं समस्याको चाङ बनेर उभिएका देखिन्छन् । 

व्यवस्था फेरियो, तर व्यक्ति फेरिएन । जनताको अवस्था पनि खासै फेरिएन । पात्रको स्वभाव फेरिएन । उही दाउपेच, उही अमर्यादित गाली, उही एकअर्कालाई सिध्याउने खेलको पुलिन्दामा रम्ने ध्वाँसे उत्सव मात्र । आपूm बन्नुभन्दा अरूलाई बिगार्नमा निमग्न दलीय होडबाजीले देश कता जाँदै छ भन्ने अहं सवाल जन्मिएको छ । अनि, यो चुनावले हामीलाई के दिन्छ ? हाम्रो चाहना के हो ? वर्तमान अवस्थामा राजनीतिगत वितृष्णा र अन्धसमर्थनबीचको द्वन्द्व किन छ ? आत्मनिर्भरताको स्रोत र विकासको ठोस योजनामा उत्सव मनाउने हिम्मत कसले गर्ला ? युवाहरू बेरोजगारीको प्रताडनामा पिल्सिएका छन् । नेतृत्वचाहिँ आन्तरिक कमजोरी बिर्सिन्छ । अरूको दोहोलो काढ्छ अनि निष्ठाको राजनीति तुहिन्छ ।

विद्युतीय मतदानको अभाव र अधुरो परिणाम :
चुनावी नतिजाको विश्वसनीयता र आधुनिक पद्धतिको विषय यसपटक पनि छायामा पर्ने देखिन्छ । काम र दामका निम्ति परदेसिन बाध्य तमाम नेपालीको अभिमतको कदर हुने आधार स्पष्ट छैन । आखिर राष्ट्रिय परिचयपत्रका आधारमा विद्युतीय मतदान गर्न सक्ने परिवेश बनेन । स्वदेशमै पनि आफ्नो निर्वाचन क्षेत्रबाहिर रहनेले मतदानका लागि भौतिक रूपमै उपस्थित हुनुपर्ने बाध्यता छ । सर्वसाधारणलाई आवागमनको पिरलो हुन्छ । यातायातको भाडा अकासिएको छ । यसर्थ, दुई छाकको जोहो गर्न दिनहुँ घोटिनुपर्नेले मताधिकार प्रयोग गर्न नपाउँदा दुःख पनि मान्दैन ।

मताधिकार सौदाबाजी गर्ने वस्तु किमार्थ होइन । दबाब र प्रभावमा नफसौँ । उम्मेदवारहरूको योग्यता, क्षमता र व्यवहारलाई छनोट गरौँ ।

यद्यपि, हिजो कोरोना महामारीमा सहयोग गर्नै नचाहे पनि अहिले पार्टीहरूले गाडीभाडाका नाममा रकम खर्चेलान् । अझ दोहोरो भाडा पनि देलान् । देशमा नीति जे–जस्ता बनाए पनि मोटो रकम खर्चिने होड चल्ला पनि !प्राचीन चुनावी प्रक्रियाले त्यसको परिणाम र गणनाप्रति सधैँ प्रश्न तेर्सिरहेकै छ । विद्युतीय मत प्रक्रियालाई अवलम्बन गर्न सके मत बदर हुने, बाकसै साटिने, दबाब र प्रभावको भय रहनेलगायत समस्या कम हुन सक्थ्यो । गणना प्रक्रिया पनि चुस्तदुरुस्त रहन्छ । आखिर यसबाट समय, श्रम र सम्पत्तिको बचत हुन सक्छ । यसो हुन नसक्दा देशभित्र र बाहिरका लाखौँ मतदाताले मतदान गर्न सक्दैनन् । वस्तुतः यसपटकको मतदानबाट आउने परिणाम पनि वास्तविक हुन सक्दैन । 

नोटमा बिक्ने भोट र भ्रष्टाचारको सम्बन्ध
एकातिर घोषणापत्रभित्र मायावी शब्दजालको पोका अर्कातिर नोटका बिटाको प्रतिस्पर्धा छ । देखाउने बल्छी अनि छामिने खल्तीको खेलो । तर, हामी राजनीतिक वितृष्णाका अनगिन्ती ऐँठन बोकेर बाँचेका छौँ । विकासको उद्देश्यभन्दा बढी ‘मिलेर खाऊँ भाले’को प्रवृत्तिले खर्चिलो र भड्किलो रवाफ देखिन थालिसकिएको हो । झन्डा, भोज, बाजागाजाको तमासासँगै अब स्टेज, साजसज्जा आदिको तडकभडक यथेष्ट देखिन्छन् । खर्चिलो चुनावी शैलीले भ्रष्टाचारलाई मलजल गरिदिएको छ ।

सबै उम्मेदवारलाई एउटै डालामा हाल्नु युक्तिसम्मत हुँदैन । तथापि, खर्च नगरे चुनाव जितिँदैन, तर चुनाव जिते कमाउने र रमाउने बाटो तय हुन्छ भन्ने सोचले भ्रष्टाचारी पद्धति हस्तान्तरित भइरहेकै छ । ‘हाम्रा’लाई भन्दा ‘राम्रा’लाई भन्ने चुनावी उत्सवभित्र लुकेको विकृति चिर्न नसक्दा केही दिन रमाएर पाँच वर्षसम्म पछुताउने भय उत्तिकै छ ।

राजनीतिक सिद्धान्त र विचारको स्खलनलाई चिर्ने सचेतनामैत्री परिवेशले मात्रै चुनावी उत्सव रम्य बन्न सक्छ । विकासवाद रोज्ने कि पार्टीवादी बन्ने भन्ने यथार्थलाई मतदाताले बोध गर्नैपर्छ । हामी अभावमा त छौँ नै, तर मताधिकार कुनै सौदाबाजी गर्ने वस्तु किमार्थ होइन । यसकारण, हामी दबाब र प्रभावमा नफसौँ । उम्मेदवारहरूको योग्यता, क्षमता र व्यवहारलाई छनोट गरौँ । ठीक समयमा विवेक प्रयोग गर्न सके आजको भ्रामक उत्सवको साटो भोलि विकासको सौम्य उत्सव मनाउन सकिएला कि !