
मुस्ताङकाे थासाङ गाउँपालिकास्थित थाक सातसय क्षेत्रको सामूहिक चरन क्षेत्र मार्चे लेकमा याक र चौँरीको आलो रगत खाने मेला सुरु भएको छ । मार्चे याक नाक कृषक समूहले बिहीबारदेखि मेला आयोजना गरेको हो ।
हिमाली तथा उच्चपहाडी जिल्लाहरूमा जिउँदो याक र चौँरीको रगत खाने मेला सदियौँदेखि परम्पराको रूपमा छ । प्राकृतिक उपचार पद्धतिमध्येको एक मानिने चौँरीको आलो रगत खाँदा मानिसको पेटसम्बन्धी सम्पूर्ण रोग निको हुने जनविश्वास छ । समुद्री सतहदेखि करिब चार हजार मिटर उचाइमा अवस्थित प्राकृतिक सौन्दर्यले भरिपूर्ण मार्चे लेकमा मार्चे याक नाक कृषक समूहका १० वटा गोठ रहेको समूहका सदस्य सोजन हिराचनले जानकारी दिए ।
हिउँदमा बेँसी र गर्मीयाममा मार्चे लेक पुर्याएर याक र चौँरी पालन गर्ने प्रचलन छ । मार्चे लेकमा १० घरको करिब आठ सयभन्दा बढी याक तथा चौँरी छन् । यहाँ थाक सातसय क्षेत्रअन्तर्गत सौरु, सिर्खुम, लार्जुङ, नाउरिकोट र ताक्लुङलगायतका याक र चौँरी कृषकहरूको गोठ रहेका छन् ।
यो लेक नीलगिरि हिमालको फेदैमा अवस्थित छ । रमणीय मार्चे बुगिनमा बर्सेनि साउन महिनामा आलो रगत पिउने मेला लाग्छ । हिउँदयाममा भने बेँसी सारिएका याक र चौँरी उच्चलेकमा सार्नुअघि वैशाखमा थासाङको घट्टेखोलामा आलो रगत पिउने मेला लाग्ने गर्छ ।
बर्खायाममा उच्चलेकको चरन क्षेत्रमा पर्याप्त हरियो घाँस पलाउने र उच्चलेकका याक तथा चौँरीले प्राकृतिक जडीबुटी सेवन गर्ने भएकाले रगत स्वस्थवर्द्धक मानिन्छ ।
याक तथा चौँरीले यार्सागुम्बा, पाँचऔँले, निरमसी, जटामसी, सतुवा, चिची, भोलु चिया, कुरिलो, तोरा चिची, जिम्बु र बन लसुनलगायत वनस्पति खाने भएकाले याक र चौँरीको शरीरको रगतले ग्याष्ट्रिक, गानोगोला, दम, उच्च रक्तचाप, चिनी रोग र यौन शक्तिको क्षमतामा ह्रास देखिने समस्या समाधान गर्ने स्थानीय बताउँछन् । यसरी मेलामा रगत पिउनका लागि उल्लेख्य संख्यामा मानिसहरू आउने गरेको समूहका सदस्य सोजन हिराचनले बताए ।
मार्चे बुगिन लेकमा दश दिनसम्म सो मेला सञ्चालन हुने जनाइएको छ । मेला सञ्चालनपूर्व गत बुधबार मार्चे लेकमा सामूहिक गोठपूजा गरिएको मार्चे याक नाक कृषक समूहका अध्यक्ष बुद्ध गौचनले जानकारी दिए । यस वर्ष याक र चौँरीको आलो रगत प्रतिगिलास २५० रुपैयाँमा बिक्री गरिएको छ ।
‘यस वर्ष पनि विगतका झैँ चौँरीको रगत पिउने मेलाको सबै व्यवस्थापन गरिसकेका छौँ, आ–आफ्ना गोठहरूमा टहरा बनाएर होटेल पनि चलाएका छौँ,’ अध्यक्ष गौचनले भने, ‘करिब तीन सयभन्दा बढी सर्वसाधारणको उपस्थिति हुने अनुमान गरिएको छ ।’
मार्चे लेक पुग्न बेनी–जोमसोम मुख्य राजमार्गदेखि कालीगण्डकीपूर्व करिब तीनदेखि पाँच घण्टाको उकालो यात्रा गर्नुपर्छ । यहाँ सौरु र चिमाङबाट पनि आइपुग्न सकिने दुईवटा गोरेटो बाटा छन् ।