
एमाले अध्यक्ष केपी ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीको क्षमतामाथि प्रश्न उठाउँदै उनलाई पार्टी नेतृत्व दिन नसकिने बताएका छन् । भण्डारीले सक्रिय राजनीतिमा फर्किने र पार्टी नेतृत्वमा जाने इच्छा सार्वजनिक रूपमै प्रकट गरेपछि अध्यक्ष ओलीले नेतृत्व हस्तान्तरण सम्भव नरहेको बताएका हुन् । भण्डारी सक्रिय राजनीतिमा फर्केलगत्तै भावी नेतृत्वलाई लिएर उनी र अध्यक्ष ओली समूह ध्रुवीकृत हुँदै गएको छ ।
पूर्वराष्ट्रपति राजनीतिमा आउनु गलत हुने भन्दै ओलीले भण्डारीको अभिव्यक्ति र उनको सक्रियतामाथि पार्टीभित्र यथाशक्य चाँडो छलफल हुने पनि बताए । पत्रकार विजयकुमार पाण्डेसँगको अन्तर्वार्तामा ओलीले भण्डारीको अगाडिको यात्राबारे पार्टीले ठोस निर्णय लिने पनि बताएका छन् । भण्डारीले पार्टी नेतृत्व लिन चाहेको भन्ने विषयमा आफू अनभिज्ञ रहेको ओलीको दाबी छ ।
‘अहिले उहाँलाई नेतृत्व हस्तान्तरण गर्न सकिने अवस्था छैन, किनभने एक त उहाँ राजनीतिमा आउनुहुन्छ भनेर पार्टीले मानेको–ठानेको अवस्था नै छैन । उहाँ त पार्टी काम छोडेर धेरै वर्ष बाहिर हुनुहन्छ । पहिले पनि उहाँले संगठनात्मक नेतृत्वमा बसेर काम गरेको अवस्था होइन,’ ओलीले भनेका छन् ।
भण्डारीले पार्टी नेतृत्व लिन चाहेको भन्नेबारे आफू अनभिज्ञ रहेको ओलीको दाबी छ । तर, त्यसबारे पार्टीमा छलफल हुने उनको भनाइ छ । ‘खै के बोलिरहनुभएको छ । उहाँ आफैँले विचार गर्नुपर्छ । उहाँले सार्वजनिक रूपमा बोलेका, उहाँले आउँछु भनेका कुराहरू के हुन् ? उहाँसँग हामीले सोध्नुपर्छ । धेरै ढिलो गर्दैनौँ,’ उनले भनेका छन् ।
आफूसँग कुनै परामर्श नभएको भन्दै ओलीले पार्टीले उपयुक्त निर्णय गर्ने पनि जनाएका छन् । ‘अरूसँग थाहा भएन, मसँग सरसल्लाह गर्नुभएन । पार्टीमा आधिकारिक ढंगले सरसल्लाह गर्नुभएन । पार्टीमा कुनै लिखित–मौखिक केही जानकारी गराउनुभएको छैन । यस सम्बन्धमा पार्टीले निर्णय गर्छ,’ ओलीले भनेका छन्, ‘किनभने उहाँ आफ्नै हिसाबले राष्ट्रपतिमा जानुभएको होइन, हामीले पठाएको हो । उहाँ हाम्रो क्यान्डिडेट हो । राष्ट्रपति भइसकेपछि, क्यान्डिडेट तय भएपछि पार्टी छोडेर जानुभएको हो । पार्टी छोड्नुअघि त हाम्रै उपाध्यक्ष हो ।’
भण्डारीले राजनीतिमा आउँछु भनेपछि पार्टीले आवश्यक निर्णय लिनैपर्ने ओलीको भनाइ छ । ‘नैतिक रूपमा हुन्छ, हुँदैन ? गणतन्त्रमा के असर पर्छ ? समाजमा के असर पर्छ ? राजनीतिमा के असर पर्छ ? व्यवस्थामा के असर पर्छ ? उहाँकै जीवनमा के असर पर्छ ?’ यी सबै कुरा सोचेर उहाँलाई दिनुपर्ने सुझाव या उहाँमाथि गरिनुपर्ने निर्णय पार्टीले गर्न त गर्छ नै,’ ओलीले भने ।
‘रामवरणले थिति बसाल्नुभो, अब भत्काउनु हुन्न,’ ओलीले पूर्वराष्ट्रपति राजनीतिमा आउनु गलत भएको पनि टिप्पणी गरेका छन् । ‘यो संवैधानिक र कानुनी प्रश्न होइन । नैतिकताको प्रश्न हो । नैतिक मूल्यमा आधारित भएर बसाउनुपर्ने थिति हो । अघिल्लो राष्ट्रपतिले यो थिति बसाएको देखिन्छ,’ ओलीले भने ।
महत्वपूर्ण विषयमा भण्डारीले परामर्श नगरेकोमा ओलीको तीव्र असन्तुष्टि छ । ‘विद्याजीको हकमा कहाँ–कहाँ परामर्श गर्नुभो बताउनुहोला, तर मसँग चाहिँ परामर्श भएन । पार्टी अध्यक्ष म छु, मैले अध्यक्षता गरिरहेको छु । पार्टी छँदै छ । तर, पार्टीसँग म राजनीतिमा फर्किएर आउँछु भन्ने कुनै प्रस्ताव आएन,’ ओलीले भने, ‘कसरी काम गरौैँ ? मलाई सक्रिय राजनीतिमा आउने मन छ, आउन मिल्छ–मिल्दैन ? देशलाई फाइदा हुन्छ कि हुँदैन ? संवैधानिक प्रक्रिया कस्तो हुन्छ ? प्रणालीगत हिसाबले के हुन्छ ? सिंगै देशको सर्वमान्य नेताबाट एउटा दल विशेषको कार्यकर्ता बन्न आउँदा कस्तो हुन्छ ? यी कुनै पनि विषयमा विमर्श भएको छैन ।’
अध्यक्ष छोडेपछि दोस्रो मर्यादामा बस्दिनँ
ओलीले अझै एक कार्यकाल अध्यक्ष बन्न चाहेको संकेत गर्दै हटेपछि भने दोस्रो मर्यादामा नबस्ने पनि प्रस्ट्याएका छन् । ‘म कुनै प्रकारले अध्यक्ष भइनँ भने पनि बाँचुन्जेलसम्म एमालेबाट पृथक् त हुन्नँ । अर्को कुरा म अध्यक्ष छोडेपछि अध्यक्षको छेउमा बसेर द्वितीय सिट मेरो हुनुपर्छ, मलाई द्वितीय मर्यादा चाहिन्छ भनेर भन्दिनँ । म प्रथम मर्यादा भएको मान्छे द्वितीय मर्यादामा किन जान्छु ? म पहिलो मर्यादा छोड्दै छोड्दिनँ । अध्यक्ष छोड्छु, पहिलो मर्यादा छोड्दिनँ । त्यो गर्ने उपाय भनेको नजिकै आएर दोस्रो सिटमा बसेर र्याइँर्याइँ गर्ने होइन, घर बस्नुपर्छ,’ ओलीले भनेका छन् ।
आफूभन्दा योग्य आए मात्र नेतृत्व हस्तान्तरण
ओलीले आफूभन्दा क्षमतावान नेता आएको अवस्थामा मात्र नेतृत्व हस्तान्तरण गरिने पनि प्रस्ट्याएका छन् । ‘मेरो काम गर्ने क्षमता र सामथ्र्य छैन भने मैले नछोडेर हुन्छ ? मैले छोड्नुपर्ने परिस्थिति आयो भने छोड्नैपर्छ । अनि यो देवताले छोडाए, पशुपतिनाथले अध्यक्षबाट छोडाइदिए भने पनि म बसिरहन्छु भन्ने हुन्छ ? अथवा मेरो कार्यक्षमता ह्रास भयो, मेरो स्मरणशक्ति ह्रास भो, मैले काम गर्ने अवस्था रहेन अथवा मेरो भन्दा राम्रो गर्न सक्ने अर्को साथी निस्किसक्यो भने राम्रो गर्नेलाई ठाउँ नदिएर कम्प्रोमाइज गर्नुपर्छ भन्ने होइन । यो एउटा प्रक्रिया हो,’ ओलीले भनेका छन् ।
ओलीले नेतृत्वको छनोट सर्वसम्मत या चुनाव दुईमध्ये एक विधिबाट महाधिवेशनले गर्ने बताए । ‘महाधिवेशन एउटा औपचारिक थलो हो । सर्वसम्मतबाट पनि हुन सक्छ र भोटबाट पनि हुन सक्छ । त्यो आवश्यकता र परिस्थितिको कुरा हो । कुन ठाउँमा कसलाई सेट गर्नुपर्यो, पठाउनुपर्यो भन्ने त्यो पछिको कुरा हो,’ ओलीले भनेका छन् ।