मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ मङ्सिर १४ बुधबार
  • Wednesday, 30 November, 2022
रमेश भट्टराई ‘सहृदयी’
२०७८ मङ्सिर २७ सोमबार ०८:५६:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

समाजवादी गफमा पुँजीवादी प्रहसन

Read Time : > 2 मिनेट
रमेश भट्टराई ‘सहृदयी’
२०७८ मङ्सिर २७ सोमबार ०८:५६:००

समाजवाद र सर्वहारा वर्गको उत्थानको गफ छाँट्नेहरूले आफ्नो उत्थान गरे पनि तिनले जनताबारे सोचेका पनि छैनन् 


न्यालयको विवाद, सत्ताधारी र प्रतिपक्षबीच हुने मनमुटाव अनि सञ्जालका जुहारीबीच लोकतन्त्र र संघीय पद्धतिपश्चात्को राजनीतिमा पनि निष्ठा र न्यायको खडेरी कायमै छ । आखिर स्वच्छ न्यायालय, स्वच्छ पत्रकारिता अनि स्वच्छ समीक्षा गर्नुपर्ने मथिंगल नै दलरूपी कल्मषमा खुलेआम विषाक्त देखिन्छ । चाकडी पद्धतिको सोचले समृद्धि कोमामा जाने त होइन ? करोडौँ खर्चेर पार्टी महाधिवेशन गर्नेहरूले विपन्नको चुलोको महँगी र प्रताडनाबारे सोच्ने हिम्मत गर्लान् त ! परिवर्तनको नाम जप्नेहरू स्वार्थको रोइलोमा झनै स्खलित छन् । नयाँ पार्टी जन्माएकाहरू पनि आलोचना र तुच्छ गालीको पुरातन रुढिवादमा लिप्त छन्– पदीय लालसाकै माथापच्चीमा । समालोचना गरेर आपूmलाई सुधार्ने नीति र व्यवहार दुवैको अभावमा सत्य वचन पनि कटुवाक्य सावित हुन थालेको प्रतीत हुन्छ । 

आखिर पुरानो मुन्द्रोमा नयाँ जलप दलेको मात्रै न हो । मुलुकलाई दलीय प्रहसनको रंगमञ्च बनाइएको छ । जनता विसंगत मानसिकताभित्र विभाजित छन् । सत्ताधारी र प्रतिपक्षको पसल गर्नेहरूको पात्र र व्यवहारलाई शल्यक्रिया गर्ने हो भने उही समुद्र मथेर निस्केको हलाहल मात्रै बाँकी रहन्छ । आपूm बन्नेभन्दा पनि अर्कालाई सिध्याएर आपूm गतिलो हुँ भन्ने होडबाजी छ । सामाजिक सञ्जालको अचाक्लै दुरुपयोग देखिन्छ– चित्रमा, भाषामा अनि सोचमा । जनता त झनै अन्धभक्त भएका पनि त हौँ । लिसो लागेर झगडा गरिरहेका हुन्छन् । हेरिनसक्नुको तुच्छ र गिरेको भाषामा गालीगलोज हुन्छ । आफ्ना मन परेका नेताको गल्ती देखिए चुपचाप बस्छन् । मुलुकमा कार्यकर्ता देखिन्छन् तर जनता देखिँदैनन् । पार्टी देखिन्छ तर देश देखिँदैन । यदि पार्टी र खेमाभन्दा देश नै प्रिय देखिने भए आँखामा पट्टी बाँधेर लडाइँ गर्नुको तुक रहँदैन किनभने जनताको चाहना विकास हो, सिद्धान्त पनि होइन । 

उच्च तहका नेताहरू नै भाँडाकुँडा र छोराछोरीको पढाइका सन्दर्भमा केटाकेटी जसरी तल ओर्लिएर सामाजिक सञ्जालमा बान्ता गरिरहेको देख्दा कुन्नि कसलाई भन्दा देख्नेलाई लाज भनेजस्तो हुने रहेछ । मूलतः ०६२\६३ को आन्दोलनपछिका सत्ताधारी नेतृत्वमा उही अनुहार माथि छ । बालुवाटार र सिंहदरबारको घरबार पनि त दरबारकै सोचमा सर्लक्कै ढल्किएकै रहेछ । सत्ता चलाउनेले गुट चलाउँछ अनि मुख ज्यादा बजाउँछ । भोलि चुनाव भए पनि आखिर तिनै अनुहार माथि हुन्छन् । नयाँपनको बुद्धि त खासै ती अनुहारमा छैन । चाहे चुनावी गठबन्धनमा गए पनि हिजो एकपटक प्रधानमन्त्री भएका व्यक्तिकै पुनरावृत्ति हुँदा नयाँपनको के आशा गर्न सकिएला र ! 

उनले मनपराएको नेतृत्वलाई मन पराइदिनुपर्ने र मन नपरेकालाई विरोधै गरिदिनुपर्ने स्वार्थमा दोस्रो तहका नेतासमेत लहसिएका छन् । सबैजसो नेतृत्व आफ्नो प्रशंसाका भोगी भइसकेका छन् । विपक्षको उछित्तो काढ्ने होडबाजीमा राजनीति कलुषित र निष्ठाहीन बन्दै गएको छ । अझ स्थानीय तहमा पानी बाराबारकै दृश्य देखिन थालेको छ । यो कसैप्रतिको तेजोवध पटक्कै होइन । 

सिस्नोपानी पनि होइन । विडम्बनाको पराकाष्ठाले उब्जाएको वास्तविकता मात्रै हो । जनताको भावनालाई राजनीतिले नै डामेको छ नि त । जनता बबुरो कठपुतली भएर स्यालको हुइँयामा दगुरिरहेको छ । जति धेरै विधि र शासनका बखान होऊन्, आखिर काम गर्नुअघिका फोस्रा भाषण मात्रै । समाजवाद र सर्वहारा वर्गको उत्थानको गफ छाँट्नेहरूका जीवनशैली आलिसान छैन र ? नेतागणको दैनन्दिनी हेरौँ न । 

सुरक्षा गार्ड र सवारीको तामझाम हुन्छ । अनि, वरिपरि भजनमण्डलीका भिडमा मख्ख परेर पुँजीवादको विरोध गर्छन् । धुलाम्मे भुइँमा बसेर ताली बजाउनेहरूको जीवन हिजैको जस्तो छैन र ! जनताले चुनेर जनतैले शासन गर्ने पद्धतिमा समेत समस्यै–समस्याको चाङ किन उस्तै छ त ? प्रायः सबैजसोले जनताका नाउँमा समाजवादलाई अलाप्नचाहिँ छोडेकै छैनन् । के कुनै नेताले आजसम्म ‘मेरा लागि बडेमानको स्टेज चाहिँदैन, तामझाम चाहिँदैन, खर्चिलो होटल होइन, सामान्य घरमा बस्छु’ भन्ने हिम्मत गरेको छ ? आदर्श आचरणको मरुभूमिमा हामी सुन्दर बगैँचाको स्वेरकल्पना गरेजस्तो लाग्दैन । यो आजको राजनीतिक वितृष्णाको यथार्थ वस्तुस्थिति होइन र ?