१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
सुजित महत
२o८१ जेठ ५ शनिबार o७:o८:oo
Read Time : > 4 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

स्वच्छ छवि, कार्य सम्पादनमा कमसल

स्वच्छ छविका आइजिपी गृहमन्त्री वा बालुवाटारबाट फोन आएपछि आदेश तामेल गर्ने तामेलदारमा सीमित भएर बिदा भए

Read Time : > 4 मिनेट
सुजित महत
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार o७:o८:oo

'हामी पुलिस रिटायर भएपछि भूतपूर्व पुलिस बन्छौँ, नागरिक बन्दैनौँ,’ अलि अघि अन्तरंग र अलि लामो अनौपचारिक गफका क्रममा शैलेश थापा क्षेत्री भन्दै थिए, ‘नागरिक बनेर रिटायर्ड लाइफ बिताउने हो, न कि भूतपूर्व पुलिस ।’ यसैले, प्रहरी महानिरीक्षकको बिदाईको क्रममा हुने भड्किलो बिदाई कार्यक्रमको सट्टा एकदम सामान्य विदाबारी भई निजी कारमा सपत्नी आफैँले ड्राइभ गरी कटुन्जे (भक्तपुर) को घर पुग्न चाहेको सुनाइरहेका थिए । यसबीच सानोठिमीमा रोकिएर पोलेको मकै खाने योजना छ भनिरहँदा उनी हल्का भावुक पनि सुनिए । यो सब सुनिरहँदा थापाजीले कुनै ढोंग प्रदर्शन गरेको लागेन । किनकि, आमपुलिस हाकिमभन्दा उनी फरक नै सुनिए ।

बन्द कोठामा जे आउँछ मज्जाले पचाउँछ गर्दै सार्वजनिक वृत्तमा आदर्शको लहरेखोकी खोक्नेखाले उनी होइनन् । ‘घुपसे’ (घुस पदार्थ सेवन) नगर्ने अधिकृतका रूपमा चिनिए तीन दशक लामो जागिरे जीवनमा । पुलिसमा स्वच्छ छवि बनाएका एकथरि बरामद राजस्व छलीका सामानको कमिसनमा लोभिए/लोभिन्छन् त कोही सरकारी बजेटबाट हल्का निजी काम फच्चे गर्छन् । बलिउडको ‘सिंघम’ सम्झाइदिने रमेश खरेल पनि बरामद गरेको राजस्व छलीका सामानको कमिसनमा लोभिएको देखियो । अनि असल/अब्बल भनिएका कतिपयचाहिँ वीरेन्द्रलाल श्रेष्ठ नामका मध्यस्थकर्तामार्फत मिटरब्याजमा नगद लगानी गरिरहेका भेटिन्छन् । थापा यस्ता अधिकृत हुन्, जसले कुनै पनि ठाउँमार्‍याल काढेनन्, बिटुलिएनन् । मापसे नगरेकैमा उदाहरणीय ठानिने समाजमा उनी मुखमा कहिल्यै रक्सी नपरेका मान्छे थिए, चारित्रिक प्रमाणपत्रमा नम्बर थपिने नै भयो । फेरि मुखमा मदिरा नपारे पनि सहकर्मीलाई यदाकदा पिलाउँदै अबेरसम्म गफिन रुचाउने बानीले साथीसँगीका प्रिय हुने नै भए । 

स्वच्छ छवि त बिरासतमा पाएका थिए । नायव महानिरीक्षक (डिआइजिपी) बाट अवकाश प्राप्त उनका बुबा शम्भु थापा पनि स्वच्छ छविकै लागि चिनिए । रुपन्देहीबाट निर्वाचित सांसद भरतकुमार शाहले एकचोटि गफगाफमा बताएअनुसार रुपन्देहीको प्रहरी प्रमुखका रूपमा नबिटुलिई फर्किनेमा अच्युतकृष्ण खरेल र शम्भु थापा थिए । यस्तो असल बाबुका असल छोरा शैलेस आइतबार ३० वर्ष लामो जागिरे इनिङ खेल्दै क्रिजबाट बाहिरिए । विडम्बना, यस्ता स्वच्छ छविका व्यक्ति संगठनको सर्वोच्च पदमा २२ महिना रहेर बाहिरिँदा उपलब्धिका फेहरिस्तका साथ होइन, ‘फेलियर’ हाकिमका रूपमा बिदा भए ।  

घुपसे नगरी आइजिपीसम्म बनेका थापा घुपसे गर्नेका लागि कहीँकतै बाधा/अवरोध भइदिएनन् । बरु खन्चुवालाई झन् मस्ती भयो, जति खाए पनि ‘माथि’ बुझाइरहनुनपर्ने !  

आधारभूत तालिमदेखि नै पहिलो वरीयतामा रहँदै उनी मिड करिअरमै ‘भावी आइजिपी’ भइसकेका थिए, अवश्यम्भावी सर्वस्वीकार्यता पाइसकेका थिए । तथापि करियरको उत्तराद्र्धमा आइतबार उनीसँगै क्रिजबाट बाहिरिएका उनका सहकर्मी हरि पालले उछिट्याउँछन् कि जस्तो नपारेका होइनन् । पाल सत्ताको निर्णयमा प्रभाव पार्ने ठूलाबडाका प्यारा थिए । जसमा केपी ओलीका अति निकटका व्यवसायी आङछिरिङ शेर्पा पनि थिए । तर, शैलेसको स्वभावैले यस्ता ठूलाबडासित उठबस हुन्थेन । यसैले, शेर्पाको दुर्घटनामा देहान्त नभइदिएको भए पालले नै प्रहरी प्रमुखको पगरी पड्काउँथे भनेर अहिलेसम्म भनिन्छ पनि । 

नेपाल प्रहरीको प्रमुखका लागि हदैसम्मको प्रतिस्पर्धा हुन्छ, चुनावमा उम्मेदवारबीच जस्तै । चुनावमा घरदैलो गर्नुपर्छ, कार्यकर्ता परिचालन गर्नुपर्छ, खर्चिलो पनि हुन्छ । आइजिपीको प्रतिस्पर्धा पनि करिब–करिब त्यस्तै हुन्छ । नेता, दलाल आदि–इत्यादिको घरघरै पुगेर आशीर्वाद माग्नुपर्ने । प्रहरी संगठनभित्रैका अधिकृत, भूतपूर्व प्रहरी, नेता, पत्रकार आदि–इत्यादि शुभचिन्तकलाई मैदानमा परिचालन गर्नुपर्ने । र, खर्चिलो पनि । हेर्दा पुलिसको उच्चतम पदमा पुगेको ठालु देखिए पनि आइजिपीमा नियुक्ति पाइसक्दा कुनै पनि व्यक्ति यति गलित, अब्लिगेसन र गुन/ऋणको बोझले थिचिएको हुन्छ कि उसमा केही गर्ने संकल्प थियो भने पनि थाकी/हारिसकेको हुन्छ । शैलेस त्यो हदमा नगईकन आइजिपी भएका थिए । प्रधानमन्त्रीका श्रीमती/साला खोज्दै दाम राखेर चाकडीमा खटिनुपरेन । भेगीय कारण (दुवै भक्तपुरको काँठ क्षेत्रका) महेश बस्नेतले उनका लागि दौडधुप गरिदिएको र तत्कालीन प्रधानमन्त्री ओलीलाई आश्वस्त पारेको सुनिन्थ्यो । 

इनिङको सुरुवात अच्छा थियो । लगत्तै एआइजिपीमा बढुवा गर्दा सरकारले उनकै ब्याचका प्रद्युम्न कार्कीलाई छुटाइदिन खोज्दा थापाले नै अन्याय हुन दिएनन् । प्रहरी कार्यालयमा आइजिपीको तस्बिर झुन्ड्याउनुपर्ने बाध्यतालाई उल्ट्याएर वाहवाही नै पाए । बेरुजु फस्र्योट पनि उनको प्राथमिकतामा देखियो । चल्तापुर्जा, सुकिलामुकिला पुगे रेस्पोन्स गर्ने र पिँधमा रहेका पीडितको कुरै नसुन्ने प्रहरी प्रवृत्तिमा सुधार गर्न खोजे । समय बित्दै जाँदा उनी सरकारको हुन्छ बहादुर (यसम्यान) मा खुम्चिँदै गए । पटक–पटक सरकारले आफ्ना मान्छे ‘चुज एन्ड पिक’ गर्न अतिरिक्त महानिरीक्षक (एआइजिपी) को दरबन्दी कुनै मापदण्डबेगर थप्दै गर्‍यो, थापाकाजी टुलुटुलु हेर्दै रहे । हुन त ओली सरकारले एकुन्टाका दरले दुईचोटि दरबन्दी थप गर्‍यो, दुवैचोटि प्रहरी प्रधान कार्यालयको प्रस्तावबेगर नै । पहिलोचोटि प्रहरीले मन्त्रिपरिषद्मा पठाएको संगठन र व्यवस्थापन (ओ एन्ड एम) सर्भेमा मन्त्रिपरिषद्को समितिले एउटा एआइजिपीको प्रस्ताव थप गरिदिएको थियो भने दोस्रोचोटि थापाले थप दरबन्दी माग गर्न नमानेपछि गृह मन्त्रालयले सोझै प्रस्ताव गरी मन्त्रिपरिषद्बाट पास गराएको थियो । शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्नासाथ एआइजिपी बन्न बाँकी रहेका डिआइजिपीहरूले लबिङ थालेपछि आइजिपी थापा चुपचाप बस्दिए । सायद दुईजनाले आ–आफ्नो समयमा दरबन्दी थपाएर एआइजी भई नै सकेका छन् भने अब कोही नछुटून्, कोही नदोहोरिऊन् भन्ने उनलाई पर्‍यो होला ।  

भ्रष्टाचारमा सप्रमाण पेस गरिएका एसपी रामेश्वर यादवलाई उनले जागिरै खोसिदिएको भए हुन्थ्यो, पाँच वर्ष बढुवा रोक्काको नरम सजाय दिए । अलि पछि आफैँले कारबाही गरेका यादवलाई मलाइदार मानिने सिन्धुपाल्चोक प्रहरी प्रमुख बनाएर प्रहरी संगठनलाई नै आश्चर्यचकित पारिदिए । खुमबहादुर खड्काको तोक आदेशमा राष्ट्रिय अनुसन्धानमा जागिर खाएर उनकै तजबिजमा सोझै नेपाल प्रहरीको निरीक्षकमा विलय भएको समूहका यादवले गृह मन्त्रालय पट्याए कि बालुवाटार, उनै जानून् । जे होस्, जति नै गल्ती गरे पनि गृहमन्त्री वा बालुवाटारबाट फोन आएपछि आदेश तामेल गर्ने तामेलदारमा सीमित भए । पुलिसहरू सके गृहमन्त्री र प्रधानमन्त्रीकहाँ, नसके एकाघर सगोलका सदस्यकहाँ, त्यो पनि नसके मावली/ससुराली वा बिचौलियाकहाँ पुगेर मलाइदार पोस्टिङ, बढुवाका लागि रिझाउने, फोन गराउने– आइजिपीले मान्दिहाल्ने देखियो । पुलिसहरूले चाकडीका भरमा सरुवा/बढुवाको सिफारिस गराएका छैनन्, दाम पनि राखेका छन्, र अचेल असर्फीको सिक्का दाम राखेर पुग्दैन भन्ने उनलाई थाहा नभएको थिएन । तथापि खुरुखुरु तामेल गरी नै रहे ।

संगठनको सर्वोच्च पदमा पुगिसकेका थिए । त्यो पदमा पुगेर पनि घुपसे गरेको कुरा अहिले उनकै कटु आलोचक बनेका उनका सहकर्मी पनि मान्दैनन् । पुलिसको जागिरपछि उनका पूर्ववर्तीहरूलाई झैँ भविष्यमा राजनीतिक नियुक्ति वा राजनीतिमा ठाउँ पाउन राजनीतिक नेतृत्वलाई खुसी तुल्याइरहनुपर्ने पनि थिएन । उही अन्तरंग गफगाफका क्रममा पनि उनले अवकाशपछि अर्को कुनै नियुक्तिको लालसा नभएको बताएका थिए । ‘एकछिनलाई मानौँ लालसा पलाइहालेछ भने पनि म कसैकोमा माग्न जाने होइन, कसैले बोलाएर दिने त जमानै रहेन,’ उनले भनेका थिए । लोभलालच नहुनुका बाबजुद उनले अडान राख्नै सकेनन् । अडान लिएर आइजिपीको अधिकार प्रयोग गरेको भए पनि शेरबहादुर देउवा नेतृत्वको सरकारले उनलाई बर्खास्त गर्न सक्ने थियो, झ्यालखानामा जाक्न सक्ने थिएन । असमयमै बिदा हुनुपरेको भए चोलेन्द्रशमशेरको जस्तो छवि त थिएन कि सरकारी कदममा मान्छेले ताली बजाऊन्, उनी त हिरो नै हुन्थे । 

घुपसे नगरी जागिर खाएका थापाले आइजिपीका रूपमा पनि त्यो काम नगरेकामा सबै विश्वस्त छन् । तर, घुपसे गर्नेका लागि उनी कहीँ–कतै बाधा/अवरोध भैदिएनन् । बरु खन्चुवाहरूलाई झन् मस्ती भयो, जति खाए पनि ‘माथि’ बुझाइरहनुनपर्ने । कतिसम्म भने सेनाले थोत्रा इन्सास, एसएलआर १० हजार थान पुलिसलाई दान गर्ने प्रस्ताव राख्यो, थापाले सहर्ष स्विकारे । जब कि हतियारविनै समुदायलक्षित पुलिसिङ नै आधुनिक पुलिसिङ हो, जसमा सकेसम्म हतियार प्रयोग गरिँदैन, गरिहाल्न परे गैरघातक हतियार प्रयोग गर्नुपर्छ । यसैले, सेनाले थोत्र्याएका घातक हतियार पुलिसलाई कामै थिएन । अर्को कुरा, सेनाका हतियार पुलिसलाई भिडाएर सेनाका लागि नयाँ हतियार खरिद गरी कमिसन कुम्ल्याउने खेलोफड्कोका सहयोगी भैदिए उनी । शैलेसजस्ता बेदाग व्यक्ति नेतृत्वमा रहँदा त यस्तो ताल रह्यो । अब त उनीजस्ता छविका अधिकृत माथिसम्म आइपुग्ने सम्भावनै धूमिल हँुदै गएको छ । दाम चढाएर आफ्ना लागि दरबन्दी थप्नेदेखि बढुवा/नियुक्ति पाएका नेतृत्वमा पुगे भने के हुने होला ? 

ad
ad