कञ्चनरुप नगरपालिकामा जसपाका मेयर उम्मेदवारको प्रतिबद्धता : बरमझियाको पेडालाई अन्तर्राष्ट्रिय ब्रान्ड बनाउने

आइतबार, १८ बैशाख, २०७९
डिजिटल संस्करण

सप्तरीको कञ्चनरुप नगरपालिकाका मेयर पदका उम्मेदवार भोलाकुमार पासवानले घोषणा–पत्र सार्वजनिक गरेका छन्। कञ्चनपुरमा पत्रकार सम्मेलन आयोजना गरी जनता समाजवादी पार्टीका (जसपा) तर्फबाट उम्मेदवार बनेका उनले चुनावी घोषणा–पत्र सार्वजनिक गरेका हुन्। घोषणा–पत्रमा व्यावहारिक शिक्षा, निःशुल्क स्वास्थ्य, व्यावसायिक कृषि, सामाजिक न्याय, व्यापार र स्वरोजगार जस्ता आधारहरूलाई समृद्ध कञ्चनरूपको ६ आधार भन्दै उल्लेख गरेका छन्। 

घोषणा-पत्रमा ६५ वर्षमाथिका ३० जना ज्येष्ठ नागरिकलाई पशुपतिनाथको तीर्थ यात्रा गराउने, नगरक्षेत्रभित्र औद्योगिक क्षेत्र स्थापना, बरमझियाको पेडालाई अन्तर्राष्ट्रिय क्षेत्रसम्म ब्रान्डको रूपमा प्रचारको व्यवस्था, प्रत्येक वडामा खेल मैदान निर्माण गर्ने उल्लेख गरिएको छ।

यस्तै, गर्भवती महिलालाई पोषण भत्ताबापत १० हजार, एकल महिलालाई वार्षिक ५ हजार उपलब्ध गराउने, रोजगारका आधारमा पाठ्यक्रमको विकास गरिने घोषणा-पत्रमा उल्लेख गरिएको छ।

विगत डेढ दशकदेखि उनी पत्रकारिता, अनुसन्धान एवं सामाजिक क्षेत्रमा सक्रिय रहँदैआएका छन्। पत्रकार सम्मेलनमा पासवानले नगर प्रमुखका रूपमा सबै प्रतिबद्धता पूरा गर्ने क्षमता, सामर्थ्य र अठोटसहित लाग्ने प्रणसमेत गरेका छन्।
 
 

सम्पादकको रोजाइ

सुझावित समाचार