१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १o:२५:oo
Read Time : > 1 मिनेट
ad
ad
निर्वाचन प्रिन्ट संस्करण

उम्मेदवार बन्न दल अदलबदल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १o:२५:oo

नेपालगन्ज उपमहानगरको मेयरमा उम्मेदवारी दिएका राप्रपाका नन्दलाल वैश्य अघिल्लो दिन नेकपा (माओवादी केन्द्र)मा थिए । सत्तागठबन्धन दलबीच उपमहानगर भागबन्डा गर्दा नेपालगन्ज उपमहानगरको मेयर नेपाली कांग्रेस र उपमेयर जनता समाजवादी पार्टी (जसपा)को भागमा पर्‍यो । माओवादी केन्द्रले मेयर नपाउने निश्चित भएपछि उनी राप्रपा प्रवेश गरे । र, ११ वैशाखमा राप्रपाको तर्फबाट नेपालगन्जको मेयरमा उम्मेदवारी दिए । उनी नेपालगन्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष हुन् । 

राप्रपा प्रवेश गरेपछि उनले आफूसुहाउँदो पार्टी पाएको प्रक्रिया दिए । उनी हिन्दू धर्ममा कट्टर छन् । ‘अहिलेसम्म म भड्किएको थिएँ । मेरो सिद्धान्त र व्यवहार मिल्ने पार्टी बल्ल पाएको छु,’ उनले भने । राप्रपा नेपालबाट नेपालगन्जको उपमेयरमा उम्मेदवारी दिएकी रमारानी वैश्य अघिल्लो दिनसम्म जसपामा थिइन् । उनी उपमेयरको दाबेदार थिइन् । गठबन्धनले नेपालगन्जको उपमेयर जसपालाई दिने र उपमेयरमा मेयरका दाबेदार मोहम्मद कमरुद्धिन राई उम्मेदवार बन्ने निश्चित भएपछि उनी रातारात जसपा छोडेर राप्रपा नेपालमा प्रवेश गरिन् । 

जसपा छोडेको भोलिपल्ट उनले राप्रपा नेपालको तर्फबाट नेपालगन्जको उपमेयरमा उम्मेदवारी दिइन् । उपमेयर पाउने सर्तमा जसपा त्यागेर राप्रपा नेपालमा प्रवेश गरेको उनले बताइन् । ‘जसपाबाट उपमेयर नपाउने निश्चित भएपछि राप्रपा नेपालले उपमेयर दिन्छु भन्यो, त्यही सर्तमा राप्रपा नेपाल प्रवेश गरेँ र उपमेयरमा उम्मेदवारी दिएँ,’ उनले भनिन् । 

नेपालगन्ज उपमहानगरपालिका–१२ का निर्वाचित वडाध्यक्ष बुद्धिसागर सुवेदी १० वैशाखसम्म नेपाली कांग्रेस थिए । उनी पुनः वडाध्यक्षमा दोहोर्‍याउने मुडमा थिए । तर, पार्टीले उनलाई वडाध्यक्षको टिकट नदिने निश्चित भएपछि उनी कांग्रेस परित्याग गरी जसपा प्रवेश गरे । वडाध्यक्षको टिकट पाउनकै लागि नेपाली कांग्रेसको लामो राजनीति उनले क्षणभरमै छाडे । मनोनयनको एक दिनअघि प्रवेश गरेका उनले जसपाको तर्फबाट वडाध्यक्षमा उम्मेदवारी दिए । 

त्यसैगरी, नेपालगन्ज उपमहानगरपालिका–१७ का निर्वाचित वडाध्यक्ष अजय पाठक पनि ११ वैशाखमा माओवादी केन्द्र परित्याग गरी एमाले प्रवेश गरे । एमालेले वडाध्यक्षको टिकट दिने सहमतिमा उनले माओवादी त्यागेका थिए । पाठकले १२ वैशाखमा एमालेको तर्फबाट नेपालगन्ज उपमहानगरपालिका वडा नं. १७ को वडाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् । 

नेपालगन्ज उपमहानगरपालिका वडा नं. १० का खुमानन्द काफ्लेले ११ वैशाखमा एमाले छाडे । वडाध्यक्षका लागि तयारी गरेका उनी टिकट नपाएपछि जसपामा प्रवेश गरी वडाध्यक्षमा उम्मेदवारी दिए । टिकट नपाउने संकेत पाएपछि नेपाली कांग्रेस राप्तीसोनारी गाउँपालिका–६ का सभापति लवराज खरेलले पार्टी छाडे । वडाध्यक्ष दिने सर्तमा उनी राप्रपा प्रवेश गरे । अघिल्लो दिनसम्म नेपाली कांग्रेसको राजनीति गरेका उनी रातारात राप्रपा प्रवेश गरेर वडाध्यक्षमा उम्मेदवारी दिए । 

ad
ad