आसन्न स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिन काभ्रेमा दुई जनप्रतिनिधिले राजीनामा दिएका छन्। बेथानचोक गाउँपालिका वडा नं. २ का अध्यक्ष भगवान घिमिरे र रोसी गाउँपालिका वडा नं. १२ का सदस्य शंखबुद्ध लामाले पदबाट राजीनामा दिएका हुन्। घिमिरेले बेथानचोक गाउँपालिका र लामाले रोसी गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिन राजीनामा दिएका हुन्।
घिमिरेले बिहीबार गाउँपालिका कार्यालय पुगेर गाउँपालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिनासमक्ष राजीनामा-पत्र बुझाएका हुन्। उम्मेदवारी दर्ता गराउनुपूर्व राजीनामा दिनुपर्ने प्रावधानलाई टेक्दै राजीनामा दिएको घिमिरेले बताए।
त्यस्तै लामाले पनि रोसी गाउँपालिकाका अध्यक्ष दलबहादुर लामा (डिबी) समक्ष राजीनामा दिएका हुन्। शुक्रबार दिएको राजीनामा सोही दिन स्वीकृत भइसकेको छ।