
प्रधानमन्त्री शेरबहादुर देउवा र विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा शुक्रबार भएको भेटमा प्रधानमन्त्रीले स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउने गरी सरकाले विभिन्न कार्यक्रमहरू सञ्चालन गरेको बताएका छन् । यसका साथै कोभिड नियन्त्रणलगायत स्वास्थ्य क्षेत्रमा विश्व स्वास्थ्य संगठनको सहयोगका लागि पनि प्रधानमन्त्रीले गेब्रेयससलाई धन्यवाद व्यक्त गरेका छन् ।
प्रधानन्त्रीले नेपाली स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धि, स्वास्थ्यको क्षेत्रमा बहुपक्षीय साझेदारीलगायतका विषयमा सहकार्य गर्न नेपाल सरकार तयार रहेको धारणा पनि भेटमा राखेका थिए ।
भेटमा महानिर्देशक डा. टेड्रोसले नेपालले कोरोनाविरुद्धको खोप अभाियन प्रभावकारी रूपमा व्यवस्थापन गरेको र प्रायः सबैजसोलाई खोप लगाइसकेकोमा प्रधानमन्त्रीको प्रशंसा गरेका थिए । कोभिड नियन्त्रण तथा रोकथाममा पनि नेपाल सरकारको रणनीति प्रभावकारी भएको उनको भनाइ थियो । डा. टेड्रोसले नेपालले दक्षिण एसियामै टाइफाइडविरुद्ध बालबालिकालाई खोप सुरु गरेकोमा पनि नेपाल सरकारलाई धन्यवाद व्यक्त गरे । नेपालले छोटो समयमा बाल तथा मातृ मृत्युदर घटाएकोलगायतका विभिन्न स्वास्थ्य सूचकमा गरेको प्रगतिको पनि उनले प्रशंसा गरेका थिए ।