
बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा कलाकार सविता डंगोलको एकल चित्रकला प्रदर्शनी भइरहेको छ । ‘आत्माहरूको झुकाव’ शीर्षकको प्रदर्शनीमा ३८ वटा कलाकृति छन् । पाँच वर्ष लगाएर तयार पारेका ३८ चित्रलाई उनले प्रदर्शनीमा राखेकी हुन् ।
उनले रुखमा महिला र पुरुषको बिम्ब बनाएर प्रकृतिको अस्तित्व चित्रमार्फत देखाउने प्रयास गरेको बताइन् । दुई महिला पुरुषको जोडीको विचार र कल्पनाको समायोजन देखाउन काइँयोलाई बिम्बात्मक रूपमा प्रयोग गरेकी छिन् । चित्रमा महिला र पुरुषलाई प्रकृतिको प्रतिबिम्ब र सृष्टिको सुरुवात देखाउन खोजेको बताइन् ।
उनी भन्छिन्, ‘मानिसले जीवनमा तमाम समस्या झेल्दै अघि बढ्नुपर्छ । चित्रमा दुई युगल जोडीले स्वीकार गरेको वास्तविक विचार र कल्पनालाई समायोजन गरेकी छु । चित्रमा एकअर्कालाई जोड्न काइँयोलाई बिम्बको रूपमा प्रयोग गरेकी छु ।’ काइँयोसँग जोडिने महिलाको कपाललाई कलात्मक र सुन्दरता ढंगबाट चित्रमा देखाएकी छिन् । उनी भन्छिन्, ‘जीवनजस्तै कपालको आफ्नै संरचना हुन्छ । त्यसकारण काइँयो र प्रेमिल जोडीको समिश्रणलाई फरक तरिकाले क्यानभासमा उतारेकी छु ।’
रुख सिंगो संसारको घर हो भनेर देखाउन अधिकांश चित्रमा रुखको आकृति दिएको उनले सुनाइन् । उनी भन्छिन्, ‘बढ्दो वन विनाश, वन्यजन्तु विनाशजस्ता घटना दिनानुदिन बढ्दै गइरहेका छन् । जसले मानिसकै कारण मानिस जिउने एउटा भरपर्दाे आधार भत्किने खतरा बढ्दै गएको छ । विकासले विनाश निम्त्याउँछ भनेझैँ प्रकृतिको अस्तित्व पनि नरहने संकेत देखिँदै छ । यसकारण प्रकृतिविना पृथ्वीको कुनै अस्तित्व नहुने भन्ने चित्रमार्फत देखाउन खोजेकी हुँ ।’
कलाकार डंगोलको कोरोना महामारीपछि पहिलो कला प्रदर्शनी हो । स्वदेश तथा विदेशका ग्यालरीमा उनका दर्जनौँ कलाकृति प्रदर्शनी भइसकेका छन् । गत २८ चैतमा सुरु भएको प्रदर्शनी १६ वैशाखसम्म रहन्छ ।