१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
एक साताअघि आगलागीमा परेर खाद्यान्न, लत्ताकपडा र घरबार गुमाएका धन्कौलका विपन्न १३ पासवान परिवार त्रिपालमुनि बस्दै आएका छन् ।  तस्बिर : नयाँ पत्रिका
श्रवण थापा सर्लाही
२o८१ बैशाख ३१ सोमबार o९:१८:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

सर्लाहीका आगलागीपीडितको त्रिपालमुनि वास

Read Time : > 1 मिनेट
श्रवण थापा, सर्लाही
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o९:१८:oo

सर्लाहीको धन्कौलमा गत साता भएको आगलागीका पीडित परिवारको बिचल्ली भएको छ । धन्कौल गाउँपालिका–५ हरकठवाका १३ विपन्न पासवान परिवारले घरबार गुमाएपछि बिचल्ली भएको हो । 

घरबार गुमाएका उनीहरू अहिले त्रिपालमुनि वास बसिरहेका छन् । सहयोगी संघसंस्थाले दिएको केही खाद्यान्न र गाउँपालिकाले दिएको एक थान त्रिपालको भरमा गुजारा गर्नुपरेको आगलागीपीडितको भनाइ छ । दैनिक ज्याला मजदुरी गरेर परिवार पाल्दै आएका १३ पासवान परिवार आगलागीपछि खुला आकासमुनि आइपुगेका छन् । आफूसँग भएका अन्नपात, लत्ताकपडा र फुसका झुपडी जलेर खरानी भएपछि दैनिकी चलाउनसमेत मुस्किल परेको पीडित लीलावतीदेवी पासवानले गुनासो गरिन् । 

त्रिपाल टाँगेर बस्दै आएका उनीहरू बर्खायाम सुरु हुन लागेकाले थप चिन्तामा छन् । ‘घर खरानी भइगयो,’ पीडित लीलावतीले भनिन्, ‘हामी दैनिक ज्याला मजदुरी गरेर जसोतसो परिवार पालिरहेका छौँ । अब कसरी घर बनाउनु ? बर्षात्को समय सुरु भएको छ । यसरी त्रिपालमा लालाबाला कसरी जोगाउनु ?’ 

आठजनाको परिवार रहेका गगनदेव पासवानलाई पनि बर्षात्को समयमा परिवारलाई कसरी जोगाउने भन्ने चिन्ता बढ्दै गएको छ । पालमुनि बसेर दैनिकी कटाउन मुस्किल परेको उनले गुनासो गरे ।

धनकौल गाउँपालिका ५ का वडाध्यक्ष गजेन्द्र महतोका अनुसार आगलागीबाट प्रदीप पासवान, रामवली पासवान, जवाहिर पासवान, शीतल पासवान, बिकाउ पासवान, जितन पासवान, रामविश्वास पासवान, गगनदेव पासवान, नन्दकिशोर पासवान, सरफलाल पासवान, राकेश साह, रामनाथ पासवान र मचिन्दर पासवानको घर पूर्ण रूपमा जलेर नष्ट भएको छ । हरिवन र मलंगवा नगरपालिकाबाट पुगेको बारुण यन्त्रको सहायतामा सुरक्षाकर्मी र स्थानीयले आगो निभाएका थिए ।

गाउँपालिका अध्यक्ष भन्छन्– पुनर्वास गराउन सक्दैनौँ
अग्निपीडिहरूका सामु दैनिक गुजारा चलाउनेदेखि पुनर्वासको ठूलो समस्या देखिएको छ । तर, धनकौल गाउँपालिकाका अध्यक्ष रामआश्रय राहले गाउँपालिकाले खाद्यान्न र त्रिपाल वितरण सहयोग गरिसकेकाले थप सहयोग गर्न नसकिने बताए । ‘आगलागीबाट घरबारविहीन भएको परिवारलाई २५ किलोका दरले चामल, दाल, चिउरा, तेल, ग्यास सिलिन्डर चुलो, केही भाडा दियौँ । उनीहरूलाई तत्कालका लागि कम्बल र त्रिपालसमेत वितरण गर्‍यौँ,’ गाउँपालिका अध्यक्ष साहले नयाँ पत्रिकासँग भने, ‘घरखर्च भनेर जनही पाँच–पाँच हजारका दरले नगदसमेत दियौँ । अब घरवासको विषयमा हामीले सोचेका छैनौँ ।’ उनले गाउँपालिकाले गर्नुपर्ने सम्पर्ण भूमिका निभाएको दाबी गरे ।

दीर्घकालीन व्यवस्थापन पालिकाले नै गर्ने हो : प्रजिअ
विपद् व्यवस्थापन समितिका संयोजकसमेत रहेका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले पीडितहरूको दीर्घकालीन व्यवस्थापनमा पालिका आफैँ लाग्नुपर्ने बताए । ‘जिल्लामा रहने व्यवस्थापन समितिसँग उनीहरूलाई घरवास व्यवस्थापन गर्ने सुरक्षित गर्ने योजना र बजेट हुँदैन,’ प्रजिअ गौतमले भने, ‘अन्य दातृ संघसंस्थासँगको सहयोगमा खाद्यान्न, लत्ताकपडासमेत वितरण गरिसकेका छौँ । बर्षात्को समय भएकाले उनीहरूलाई समयमै सुरक्षित आवासमा फर्काउन स्थानीय सरकारले पहल गर्नुपर्छ ।’ 

ad
ad