मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
मच्छिन्द्र कप्तान सुजल श्रेष्ठ बल अगाडि बढाउँदै । तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२०७८ चैत २३ बुधबार ०६:४७:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

ए डिभिजन लिग : मच्छिन्द्र क्लब बाहिरियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ चैत २३ बुधबार ०६:४७:००

सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन मच्छिन्द्र फुटबल क्लब एएफसी कपअन्तर्गत प्रारम्भिक छनोट चरणबाटै बाहिरिएको छ । दशरथ रंगशालामा मच्छिन्द्रले श्रीलंकाली लिग च्याम्पियन  ब्लु स्टार एससीसँग प्रतिस्पर्धा गर्दा २–१ ले पराजित भयो । सोमबार ब्लु स्टारलाई दोस्रो चरणमा पुर्‍याउने क्रममा मोहमद इसान र सेनाल सन्देशले एक–एक गोल गरेका थिए । ब्लु स्टारले पहिलो हाफमै दुई गोल गरेको थियो । 

नेपालबाट प्रतिनिधित्व गरेको मच्छिन्द्रले मध्यान्तरपछि एक गोल फर्काएको थियो । कप्तान सुजल श्रेष्ठले गोल गर्दै मच्छिन्द्रलाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर, मच्छिन्द्रले प्रतिस्पर्धामा थप गोल गर्न नसक्दा एएफसी कपको प्रारम्भिक छनोट चरणबाटै बाहिरियो । खेलको २४औँ मिनेटमा ब्लु स्टारले १–० को अग्रता लियो । इसानले ब्लु स्टारलाई अग्रता दिलाएका हुन् । मिडफिल्डर फिजलको फ्रिकिकमा इसानले सहजै गोल गर्न सफल भए । 

एक गोलले पछाडि परेको मच्छिन्द्रले खेलमा नियन्त्रण गुमायो । मैदानमा सम्हालिन नपाएको मच्छिन्द्रविरुद्ध ब्लु स्टारले खेलको २८औँ मिनेटमा २–० को अग्रता लियो । सन्देशले ब्लु स्टारलाई दोस्रोपटक अग्रता दिलाएका हुन् । डिबक्सभित्र मच्छिन्द्रका डिफेन्डर रन्जित धिमालले क्लियर गर्न नसकेको बललाई सन्देशले गोल गरेका थिए । नेपालको लिग च्याम्पियन मच्छिन्द्रले मध्यान्तरअघि खेलमा पकड जमाउन सकेन । तर, पहिलो हाफमा मच्छिन्द्रले केही राम्रा गोल अवसर चुकाएको थियो ।  

दोस्रो हाफमा मच्छिन्द्रले ब्लु स्टारमाथि दबाब बनाएको थियो । खेलको अन्तिम इन्जुरी समयमा सुजलले मच्छिन्द्रलाई २–१ को अन्तरमा झारे । उनले मनीष डाँगीको क्रसमा गोल गरेका थिए । यसअघि नवौँ मिनेटमा विमल घर्तीमगरको पासमा नुर्लान नोभ्रुजोभले ब्लु स्टारका गोलरक्षकविरुद्ध वान भर्सेस वानको अवस्थामै गोल गर्न चुके ।