१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
• वि.सं २o८१ बैशाख १७ सोमबार
• Monday, 29 April, 2024
लक्ष्मण खनाल आबुधावी
२o८१ बैशाख १७ सोमबार १o:४५:oo
Read Time : > 1 मिनेट
ad
ad
प्रवास डिजिटल संस्करण

विदेशमा नेपाली ठग्नेलाई इन्टरपोलको सहयोगमा कारबाहीको तयारी

Read Time : > 1 मिनेट
लक्ष्मण खनाल आबुधावी
नयाँ पत्रिका आबुधावी
२o८१ बैशाख १७ सोमबार १o:४५:oo

गैरकानुनी काम गर्ने नेपालीहरू विदेशी भूमिमा पनि नजोगिने मन्त्रीकाे चेतावनी

युएई भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले विदेशमा नेपाली ठग्नेलाई इन्टरपोलको सहयोगमा कारबाहीको तयारी भइरहेकाे बताएका छन् । मंगलबार आबुधाबीस्थित नेपाली दूतावासद्वारा आयोजित कार्यक्रममा बाेल्दै उनले यस्ताे बताएका हुन् ।

कार्यक्रममा मन्त्री श्रेष्ठले नक्कली मागपत्र बनाउने, झुटो आश्वासन र रोजगारीको प्रलोभन देखाएर प्रचलित कानुनले तोकेको प्रक्रियाभन्दा बाहिरबाट नेपालीलाई युएई ल्याउने कार्यमा संलग्न व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल)को सहयोगमा युएईबाट नेपाल झिकाउने तयारी गरिएको बताए ।

वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित गर्ने अभियान अघि बढाइएको बताउँदै उनले गैरकानुनी काम गर्ने नेपालीहरू विदेशी भूमिमा पनि नजोगिने चेतावनी दिए । नेपाली नागरिकलाई युएईमा अलपत्र पार्ने संस्था वा व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन र पीडितलाई कसरी न्याय दिलाउन सकिन्छ भन्नेबारे मन्त्री श्रेष्ठले नेपाली समुदायबाट सुझाव लिएका थिए ।

उनले इन्टरपोलबाट ‘रेड नोटिस’ जारी गरेर दलालको खोजी गरी कारबाहीको दायरामा ल्याउन लागिएको बताए । नेपाली नागरिकलाई युएईमा अलपत्र पार्ने संस्था वा व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन सजिलो होस् भनेर आफ्नो भ्रमण टोलीमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका डिएसपीलाई पनि सहभागी गराएको उनले बताए।

कार्यक्रममा मन्त्री श्रेष्ठले अलपत्र परेका नेपालीहरूको समस्या समाधानमा सहयोग गर्न आफूले युएई सरकारसँग पनि आग्रह गरेको बताए । अलपत्र परेका नेपालीलाई युएईमै रोजगारीको अवसर प्रदान गर्ने, भिसा अवधि सकिएर बढी शुल्क बुझाउनुपर्ने वा गैरकानुनी रूपमा बस्नुपर्ने बाध्यता भएकाहरूलाई आममाफी दिने तथा उद्धार गर्नुपर्नेहरूलाई नेपाल फिर्ता गर्न युएई सरकारसँग सहयोगको आग्रह गरिएको बताए ।

कार्यक्रममा मन्त्रालयका सचिव एकनारायण अर्याल, नेपाली राजदूत कृष्णप्रसाद ढकाल, श्रम मन्त्रालय तथा दूतावासका कर्मचारीसहित नेपाली संघ–संस्थाका प्रतिनिधि, गैरआवासीय नेपाली संघका प्रतिनिधि र श्रमिकहरूको सहभागिता थियो । कार्यक्रमका सहभागीहरूले नेपाली श्रमिकहरूले युएईमा भोगेको समस्याबारे मन्त्री श्रेष्ठलाई जानकारी गराएका थिए ।

ad
ad