मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ फाल्गुण २७ शुक्रबार ०६:५४:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

भिजिट भिसामा विदेश जान  पाँच लाख आय भएको बैंक स्टेटमेन्ट देखाउनुपर्ने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ फाल्गुण २७ शुक्रबार ०६:५४:००

विदेश घुम्न जान अब वार्षिक पाँच लाख करयोग्य आय भएको बैंक स्टेन्टमेन्ट देखाउनुपर्ने भएको छ । भिजिट भिसामा हुने मानव तस्करी नियन्त्रण गर्न भन्दै गृह मन्त्रालयले बिहीबार यससम्बन्धी नयाँ मापदण्ड लागू गर्ने निर्णय गरेको हो । 

गृहले १८ बुँदे नयाँ मापदण्डको निर्णय गरी लागू गर्न अध्यागमन विभागलाई निर्देशन दिएको छ । जसमा वार्षिक पाँच लाख आय हुुनुपर्ने र त्यसको आधा बैंकमा मौज्दात हुनुपर्ने प्रावधान राखिएको छ । राम्रो आय भएका व्यक्ति मात्र विदेश घुम्न जाऊन् भन्ने गृहको उद्देश्य देखिन्छ । तर, बैंक स्टेटमेन्ट बनाउन नै बिचौलिया समूह सक्रिय हुने जोखिम छ । भिजिट भिसासम्बन्धी देखिएका समस्या समाधान अध्ययन कार्यदलले गरेको सिफारिसका आधारमा नयाँ मापदण्ड लागू गर्ने निर्णय गरेको थियो । सो कार्यदलले वार्षिक १० लाख आय भएकालाई मात्र विदेश घुम्न जान दिने प्रावधान लागू गर्न सिफारिस गरेको थियो । तर, त्यो प्रावधान व्यावहारिक नभएको भन्दै आलोचना भएपछि पाँच लाख बनाइएको छ । 

यद्यपि अन्य मापदण्ड पूरा गर्नेहरूले भने वार्षिक पाँच लाख आय भएको स्टेटमेन्ट देखाउनुपर्ने छैन । खाडीबाहिरका देश जान कम्तीमा एकपटक, खाडी देश जान कम्तीमा दुईपटक विदेश गएको तथा कम्तीमा दुई वर्ष विदेशमा बसेका व्यक्तिले सहजै प्रस्थान अनुमति पाउनेछन् । न्यूनतम १२ कक्षा अध्ययन गरेको र अंग्रेजी तथा गन्तव्य मुलुकमा बोलिने भाषा बोल्न जान्ने व्यक्तिलाई पनि अध्यागमनले नरोक्ने भएको छ । वैदेशिक रोजगारमा रहेका व्यक्तिले आमा–बाबु, ससुरा–सासू, छोराछोरी, श्रीमान् तथा श्रीमतीलाई विदेशमा भिजिट भिसामा लैजान पाउनेछन् । भिजिट भिसालाई थप वस्तुगत बनाउन यस्तो प्रावधान लागू गरिएको गृह मन्त्रालयले जनाएको छ ।  

ट्राभल एजेन्सीहरूले खाडी र मलेसियामा टुर प्याकेजमा घुमाउन लैजाँदा अध्यागमन विभागबाट पूर्वस्वीकृति लिनुपर्ने भएको छ । अन्य देशमा लैजाँदा पनि ट्राभल एजेन्सीले फर्काउने प्रतिबद्धतासमेत गर्नुपर्ने भएको छ । घुमाउन लगेका व्यक्ति उतै भए ट्राभल एजेन्सीलाई जिम्मेवार बनाउन लागिएको छ । 

त्यस्तै, संगठित संस्थाको नेतृत्व वा प्रयोजनमा आफ्ना सदस्य तथा कर्मचारी खाडी र मलेसियामा भ्रमणमा लैजाँदा पनि पूर्वस्वीकृति चाहिने भएको छ । तीन महिनाअघि ललितपुरको एक सहकारीले आफ्ना सदस्यलाई विदेश घुमाउन लैजाने क्रममा अध्यागमनले फर्काइदिएको थियो । त्यस्ता संस्थाले अब पूर्वस्वीकृति लिनुपर्ने भएको छ । कलाकार तथा खेलाडी खाडी, मलेसिया तथा जोखिम भएका मुलुकमा भ्रमणमा जाँदा पनि अध्यागमन विभागबाट पूर्वस्वीकृति लिनुपर्ने मापदण्ड लागू गरिएको छ ।