मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
कृष्ण रिजाल काठमाडौं
२०७८ फाल्गुण २५ बुधबार ११:४१:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

विभूषण बनाउन १६ करोड ३२ लाख रकमान्तर

Read Time : > 1 मिनेट
कृष्ण रिजाल, काठमाडौं
२०७८ फाल्गुण २५ बुधबार ११:४१:००

अर्थ मन्त्रालयले नेपाल सरकारबाट विभूषित हुने व्यक्तिहरूका लागि विभूषण बनाउन सवा १६ करोड रुपैयाँ रकमान्तर गरेको छ।  गृह मन्त्रालयको मागअनुसार आठ सय ८७ जनालाई दिइने विभूषण निर्माण गर्न अर्थ मन्त्रालयले १६ करोड ३२ लाख ८३ हजार रुपैयाँ रकमान्तर गरिदिएको हो।  

भैपरी आउने साधारण प्रशासन शीर्षकबाट मानपदवीका लागि रकमान्तर गरिएको अर्थ मन्त्रालयले जनाएको छ।  ‘नेपाल सरकारबाट आठ सय ८७ मानपदवी, अलंकार र पदक निर्माण गर्न नपुग हुने रकम १६ करोड ३२ लाख ८३ हजार रुपैयाँ भैपरी आउने साधारण प्रशासनबाट रकमान्तर गरिएको छ,’ मन्त्रालयले उल्लेख गरेको छ। 

बहुमूल्य धातु र रत्नजडित विभूषण बनाउन सुरु, आठ सय ८७ जनालाई करिब २० करोड खर्चेर विभूषित गरिँदै
 

सरकारले विभिन्न क्षेत्रमा योगदान दिने व्यक्तिलाई बहुमूल्य धातु तथा रत्नजडित विभूषणले विभूषित गर्नेछ।  यसका लागि अर्थ मन्त्रालयले रकम रकमान्तर तथा निकासा गरेको हो।  सम्बन्धित मन्त्रालयको मागअनुसार एउटा शीर्षकको रकम अर्को शीर्षकअन्तर्गत खर्च गर्न सकिने गरी रकमान्तर गरिएको अर्थ मन्त्रालयका प्रवक्ता ढुण्डुप्रसाद निरौलाले बताए। 

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ ले एक शीर्षकबाट अर्को शीर्षकमा रकमान्तर गर्ने (क्रस बजेट रकमान्तर) अधिकार अर्थ मन्त्रालयलाई दिएको छ।  ‘विनियोजन ऐनअन्तर्गत कुनै एक प्रकारको खर्च व्यहोर्ने स्रोतमा रहेको रकम अर्को स्रोतमा स्रोतान्तर गर्ने र भुक्तानी विधि परिवर्तन गर्ने अधिकार अर्थ मन्त्रालयलाई  हुनेछ,’ ऐनमा उल्लेख छ।  सोही ऐनले दिएको अधिकार प्रयोग गरेर अर्थ मन्त्रालयले सम्बन्धित मन्त्रालयको मागअनुसार बजेट रकमान्तर गरेको प्रवक्ता निरौलाले बताए।  

मन्त्रालयले पछिल्ला दुई महिनामा साढे दुई अर्ब रुपैयाँबराबर बजेट रकमान्तर गरेको छ।  त्यसअघि अर्थ मन्त्रालयले मंसिर मसान्तसम्ममा विविध शीर्षकको बजेटबाट १४ अर्ब ४४ करोड रुपैयाँ आर्थिक सहायता, साधारण प्रशासन, कर फिर्ता, भ्रमण, भौतिक सुविधालगायत शीर्षकमा रकमान्तर गरेको हो।  

हिरा, सुन, चाँदीजडितको तक्मा बनाइँदै 
सरकारले संविधान दिवसको अवसरमा गत असोजमा विभिन्न क्षेत्रमा योगदान गर्ने नौ सय तीनजनालाई पदक दिने घोषणा गरेको थियो।  तर, त्यसमध्ये केही व्यक्तिहरू अयोग्य भएको गृह मन्त्रालय स्रोतले जनाएको छ।  त्यस्तै, केहीले पदक नलिने घोषणासमेत गरिसकेका छन्।  

अहिले आठ सय ८७ जनाका लागि विभिन्न प्रकारका पदक निर्माणको कार्य सुरु भएको हो।   नेपाल रत्न, राष्ट्र गौरव, महाउज्ज्वल राष्ट्रदीप, सुप्रसिद्ध प्रबल जनसेवाश्री, सुकीर्तिमय राष्ट्रदीप, सुप्रबल जनसेवाश्री, प्रबल जनसेवाश्रीलगायत विभिन्न नाममा तक्मा दिनेछ।  यस्ता तक्मा हिरा, मणि, सुन, चाँदीलगायत धातु तथा रत्नहरू राखेर तयार गरिन्छ।  अहिले तक्मा बनाउने काम भइरहेको गृह मन्त्रालयका सहसचिव शिवराम पोखरेलले जानकारी दिए।  
सुनको भाउ बढ्दा तक्माको लागत बढ्यो ।

गृह मन्त्रालयले पदक निर्माणका लागि आवश्यक सुनचाँदीलगायत धातु तथा रत्न राष्ट्र बैंकमार्फत खरिद गर्छ।  अहिले खरिदको कार्य पूरा भइसकेको उनले बताए।  पदक निर्माणको काम भने घरेलु कार्यालयले गर्ने उनले बताए।  यस वर्ष सुनचाँदीको भाउ बढेका कारण विभूषणको लागत पनि बढ्ने उनले बताए।  

सरकारले गएको वर्ष तक्मा बाँड्न करिब १२ करोड रुपैयाँ खर्च गरेको थियो।  यस वर्ष करिब २० करोड खर्च हुने अनुमान गरिएको छ।  ‘विभूषित हुने व्यक्तिको संख्या र सुनको भाउसमेत बढेका कारण यस वर्ष बढी खर्च हुने देखिएको हो,’ उनले भने।