१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
गणेश लम्साल विराटनगर
२o८१ बैशाख २१ शुक्रबार १o:३३:oo
Read Time : > 2 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

बलात्कार आरोपी कथित सिद्धबाबाको  मुद्दाको पेसी आज  उच्च अदालतमा 

Read Time : > 2 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १o:३३:oo

सुनसरी जिल्ला अदालतबाट आफ्नै अनुयायी महिलालाई बलात्कार गरेको आरोपबाट सफाइ पाएका कथित सिद्धबाबा भनिने कृष्णदास गिरीको मुद्दाको पेसी आज उच्च अदालतमा चढेको छ । चलखेल गरेर जिल्ला अदालत सुनसरीबाट थुनामुक्त भएका सुनसरीको चतराधामस्थित आश्रममा बस्दै आएका कथित सिद्धबाबा भनिने कृष्णदास गिरीविरुद्धको मुद्दाको पेसी कारणवश नहटेमा आज सुनुवाइ भएर उच्च अदालतबाट फैसला पनि हुन सक्नेछ । 

सुनसरी अदालतबाट न्याय नपाएको भन्दै पीडित महिलाले मुद्दा पुरावलोकन गर्न माग गर्दै २६ चैत ०७७ मा उच्च अदालत विराटनगरमा मुद्दा दर्ता गराएकी थिइन् । विभिन्न कारणले तीनपटक पेसी हटिसकेको उक्त मुद्दा आज बुधबार पेसी चढेको हो । पीडितको मुद्दालाई काउन्टर दिन कृष्णदासले पनि आफूमाथि झुटा मुद्दा लगाएको भन्दै उच्चमा निवेदन दर्ता गराएका छन् ।  उच्च अदालतले हाल दुवै मुद्दालाई एकै ठाउँमा राखेर सुनुवाइ गर्न लागेको छ ।  

कृष्णदासले आफनो पक्षमा बहस गर्न काठमाडाैंबाट महँगा कानुन व्यवसायीहरूलाई झिकाउने गरेका छन्  । यता पीडित महिलाको तर्फबाट स्थानीय अधिवक्ता  डिल्ली दाहाल र कोषराज न्यौपाने र एकजना सरकारी वकिलले मात्र बहस गर्नेछन् ।  सुनसरी जिल्ला अदालतले कृष्णदासलाई सफाइ दिएको फैसला लेखनमा पनि ढिलाइ भएको थियो । फैसला लेखनमा ढिलाइ हुँदा आफूले उच्चमा १७ नम्बर गर्न नपाएको भन्दै पीडित पक्षले गुनासो गरेपछि उच्च अदालत विराटनगरले विशेष चासो दिएपछि मात्र फैसलालेखन भएपछि पीडितले मुद्दा उच्च अदालतमा दर्ता गराएकी थिइन् । 
 
जेलमुक्त भएपछि बलात्कार आरोपी सिद्धबाबा अझै आफ्नै आश्रममा  
आफ्नै अनुयायीलाई आश्रममा बोलाएर बलात्कार गरेको अभियोग लागेका सिद्धबाबा भनिने कृष्णदास गिरीलाई जिल्ला अदालत सुनसरीले विवादित फैसला गर्दै २२ मंसिर ०७७ मा सफाइ दिएको थियो । जिल्ला अदालत सुनसरीका न्यायाधीश अर्जुन कोइरालाको इजलासले बादीको माग दाबी नपुगेको भन्दै अन्तिम फैसला गरेपछि  पुर्पक्षका लागि थुनामा रहेका कृष्णदास जेलमुक्त भएका थिए । बलात्कारविरुद्ध पर्याप्त प्रमाणहरू हुँदाहुँदै पनि सुनसरी जिल्ला अदालतले अभियुक्त सिद्धबाबालाई नाटकीय ढंगले सफाइ दिएपछि जेलमुक्त भएका सिद्धबाबा हाल चतराधामस्थित आफनै आश्रममा बस्दै आएका छन् ।  

यस्तो छ सिद्धबाबाविरुद्ध बलात्कार अभियोग र  न्यायिक शृंखला 
विवादास्पद हिन्दू धर्मगुरु  सिद्धबाबा भनिने कृष्णदास गिरीलाई   सुनसरीको बराहक्षेत्रको चतराधामस्थित आश्रममा आफ्नै साधक महिलालाई  ४ कात्तिक ०७६ मा बलात्कार गरेको आरोप लागेको थियो । पीडित महिलाले आफूमाथि बलात्कार भएको किटानी जाहेरी दिएपछि पक्राउ पर्ने डरले कृष्णदास १२ मंसिरमा सिकिस्त बिरामीको बहाना बनाएर विराटनगरस्थित विराट अस्पतालमा  भर्ना भएका थिए ।

सुनसरी प्रहरीले उनलाई १६ मंसिरमा  पक्राउ गरी अस्पतालमै राखेर पटकपटक अदालतमा म्याद थप गराएर अपराधको अनुसन्धान गरेको थियो । १० पुस ०७६ मा सिद्धबाबाविरुद्ध प्रहरीले बलात्कार अभियोगमा सुनसरी अदालतमा मुद्दा दर्ता गराएको थियो । १४ पुस ०७६ मा जिल्ला अदालत सुनसरीले सिद्धबाबालाई तीन लाख धरौटीमा बाहिर बसेर पुर्पक्ष गर्न पाउने गरी थुनामुक्त गरेको थियो । ९ माघ ०७६ मा उच्च अदालत विराटनगरले जिल्ला अदालत सुनसरीको आदेशलाई बदर गर्दै थुनामा राखेर पुर्पक्ष गर्न आदेश गरेको थियो । उच्चको आदेशपछि पक्राउ पर्ने डरले  भारततर्फ फरार भएका कृष्णदास पछि अदालतमा हाजिर भएपछि पुर्पक्षका लागि झुम्का कारागारमा थुनामा बस्दै आएका थिए ।  

उच्च अदालत विराटनगरको आदेशलाई सदर गर्दै १२ मंसिर २०७७ मा सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराई र प्रकाश ढुंगानाको संयुक्त इजलासले आरोपी सिद्धबाबालाई थुनामै राखेर पुर्पक्ष गर्न आदेश गरेको थियो । तर त्यसको ठीक १० दिनपछि सुनसरी जिल्ला अदालतले २२ मंसिर ०७७ मा अन्तिम फैसला गर्दै उनलाई आरोपबाट सफाई दिएको थियो । २६ चैत ०७७ मा पीडितले न्याय नपाएको भन्दै  पुनरावेदन गर्न माग गर्दै उच्च अदालत विराटनगरमा मुद्दा दर्ता गराएकी थिइन् । उच्चमा दर्ता भएको उक्त मुद्दा कोभिड संक्रमणले गर्दा सुनुवाइमा ढिलो भएको थियो भने पछिल्लोपटक २६ माघ ०७८ मा तोकिएको पेसी पनि हटेको थियो ।  

 


 

ad
ad