१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ फाल्गुण १५ आइतबार ०९:११:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

सहिद स्मारक ए डिभिजन लिग : अपराजित मच्छिन्द्र च्याम्पियन 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ फाल्गुण १५ आइतबार ०९:११:००

सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७८ को अन्तिम खेलमा मच्छिन्द्र क्लबले विभागीय टोली एपिएफ फुटबल क्लबलाई पराजित गरेको छ । दुई खेलअघि नै लिग च्याम्पियन बनेको मच्छिन्द्रले शनिबारको खेलमा एपिएफलाई २–१ गोलले हराएको हो । 

एपिएफविरुद्ध एक गोल व्यहोरेका मच्छिन्द्रका गोलकिपर विशालले यस सिजनमा पहिलोपटक ओपन प्लेमा गोल खाएका हुन् । विशालले एक हजार एक सय ८४ मिनेटपछि गोल खाएका हुन् । विशालले यसअघि लिगको पहिलो खेलमा न्युरोड टिम (एनआरटी)विरुद्ध गोल खाएका थिए । एनआरटीविरुद्ध ५४औँ मिनेटमा फरवार्ड एरिक विष्टले फ्रिकिकमा मच्छिन्द्रविरुद्ध गोल गरेका थिए ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अभिषेक गुरुङले मच्छिन्द्रलाई अग्रता दिलाएका थिए । ४२औँ मिनेटमा एन्ड्रेज चोंकेउले निकालेको थ्रो बलमा अभिषेकले गोल गरे । तर, प्रदीप लामाले ७०औँ मिनेटमा गोल गरेपछि एपिएफ खेलमा फर्किएको थियो । ८१औँ मिनेटमा रेजिन सुब्बाले गोल गरेपछि मच्छिन्द्रले २–१ को जित निश्चित गर्‍यो । त्यसअघि सशस्त्र प्रहरी बलको एपिएफ फुटबल क्लबका विक्की तामाङले गरेको पासमा आशिष लामाले छैटौँ मिनेटमा गोल गर्न सकेनन् । 

मच्छिन्द्र फुटबल क्लबका विशाल राईको एक्रोभेटिक सर्टमा अभिषेक रिजालको २१औँ मिनेटमा गरेको प्रहार एपिएफका युया कुरियामाले उत्कृष्ट बचाउ गरे । त्यसको चार मिनेटपछि विशालले दिएको क्रस पासलाई विमल घर्तीमगरले राम्रो सदुपयोग गर्न सकेनन् । उनले गरेको फितलो प्रहार बाहिरियो । 

एपिएफका प्रदीप लामाले ३८औँ मिनेटमा ६ यार्डबाट क्रस गरे पनि आशिष लामाले भेटाउन सकेनन् । पहिलो हाफको अन्तिम तीन मिनेटमा गोल खाएपछि एपिएफ दोस्रो हाफमा केही आक्रामक बनेको थियो ।  आशिष लामाले ६३औँ मिनेटमा १८ यार्ड बक्सबाहिरबाट प्रहार गरेको फ्रिकिक पोस्टको माथिबाट बाहिरियो ।

खेलको ८९औँ मिनेटमा आवास लामिछानेले दोस्रो पहेँलो कार्डपछि रातो कार्ड व्यहोर्दै मैदानबाट बाहिरिएपछि एपिएफ १० खेलाडीमा सीमित बनेको थियो । लिगको ११औँ चरणमा सातदोबाटो युथ क्लबलाई १–० ले पराजित गरेसँगै दुई खेलअगावै लिगको उपाधि रक्षा गरेको मच्छिन्द्रले १३ खेलबाट ३५ अंक जोड्दै लिगको अन्त्य गर्‍यो ।

यस्तै, समान खेलबाट १५ अंक जोडेको एपिएफले आठौँ स्थानमा रहँदै लिगको अन्त्य गर्‍यो । यसपटक लिग तालिकाको पुछारमा रहेका दुई टोली च्यासल युथ क्लब र ब्रिगेड ब्वाइज क्लब (बिबिसी) दोस्रो डिभिजनमा घटुवा भएका छन् ।