१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
मञ्जु टेलर काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार o८:o५:oo
Read Time : > 3 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

जटिल स्वास्थ्य समस्या भोगिरहेका विपन्न नागरिक महामारीमा झन् बढी प्रभावित

Read Time : > 3 मिनेट
मञ्जु टेलर, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o८:o५:oo

चिकित्सकहरू भन्छन्– समयमै अस्पताल जान नसक्ने, नियमित अस्पतालको बसाइ र महँगो उपचार व्यहोर्न नसक्ने विपन्न झन् बढी समस्यामा परेका छन्

स्तन क्यान्सरको शल्यक्रियापछि नियमित फलोअपका लागि ३२ वर्षीया विपन्न महिला वैशाख पहिलो साता नेसनल हस्पिटल एन्ड क्यान्सर रिसर्च सेन्टर जावलाखेल पुगिन् । उनले तीन वर्षअगाडि स्तन क्यान्सरको शल्यक्रिया गरेकी थिइन् । नियमित चेकजाँचका लागि फर्किंदा श्वासप्रश्वासमा समस्या देखियो । परीक्षणको समयमा कोभिड देखिएपछि उनलाई वीर अस्पताल रिफर गरियो । 

फोक्सोमा क्यान्सर देखिएकाले अक्सिजन स्याचुरेसन कम हुँदा उनी करिब एक महिनाभन्दा बढी अस्पताल बसिन् । यतिवेलासम्म फोक्सोमा क्यान्सर फैलिइसकेको थियो । उनले समयमै क्यान्सर रोेगको उपचार पाएको भएपछि गएर किमोथेरापी गर्न पर्दैनथ्यो । कोभिड संक्रमण फैलिइरहेको समयमा उपचारका लागि अस्पतालसम्म जान नसक्दा क्यान्सर फैलिएको उनी बताउँछिन् । हाल उनी किमोथेरापी गरिरहेकी छिन् । 

डा. पुकारचन्द्र श्रेष्ठ, भक्तपुर मानव अंग प्रत्यारोपण

पहिलो र दोस्रो लकडाउनको समयमा प्रत्यारोपणका लागि गरिने अधिकांश शल्यक्रिया रोकिए । योसँगै निःशुल्क उपचार सेवा उपलब्ध हुने अस्पतालसम्म पुग्नसमेत महामारीमा अप्ठ्यारो भएकाले विपन्नहरू स्वास्थ्य सेवाबाट वञ्चित भएको देखिन्छ ।

चिकित्सकहरूका अनुसार शल्यक्रियापछि सुरुवातमा तीनदेखि चार महिना, दोस्रोपटक ६ महिना र एक वर्षपछि ६ देखि आठ महिनामा नियमित फलोअपमा आउनुपर्ने हुन्छ । तर, खानपान र जीवनशैलीका कारण बीचमै समस्या आउन सक्ने भएकाले तीन वर्षपछि पनि प्रत्येक ६ महिनामा चिकित्सकको सल्लाह लिनुपर्ने हुन्छ । 

कोभिड संक्रमणका कारण समयमै विपन्न नागरिकको अस्पतालसम्म पहुँच नहुँदा अधिकांश रोग फैलिइसकेपछि मात्र अस्पताल पुग्ने गरेको डा. प्रभाकर साह बताउँछन् । उनका अनुसार क्यान्सर, मुटु, मिर्गौला, पार्किन्सन्स, दम आदिजस्ता जटिल स्वास्थ्य समस्या भोगिरहेकाहरू महामारीमा प्रभावित भइरहेका छन् ।

नियमित अस्पताल बसाइ, महँगो उपचार व्यहोर्न नसक्नेहरू महामारीको समयमा झन् बढी प्रभावित भएको डा. निरज बम बताउँछन् । ‘सरकारले केही रोगको औषधि उपचारमा मात्र सहुलियत दिँदै आए पनि दम र अन्य दीर्घरोगीलाई समेत निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्ने देखिन्छ । उपचार खर्च व्यहोर्न नसक्दासमेत दीर्घरोग मृत्युको कारण बन्ने गरेको छ जुन महामारीपछि झन् बढ्दै गएको छ,’ उनले भने ।

कोभिडबाट मृत्यु भएकामध्ये झन्डै ३५ प्रतिशतमा अन्य रोग
स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुरसार कोभिड संक्रमणका कारण मृत्यु भएकामध्ये झन्डै ३५ प्रतिशतमा अन्य रोगको समस्या रहेको छ । कोभिडबाट मृत्यु भएकामध्येमा कुनै न कुनै स्वास्थ्य समस्या हुने धेरै रहेकाले यो संख्या अझै धेरै हुन सक्ने चिकित्सकहरू बताउँछन् । संक्रमणका कारण अन्य रोगको समयमै उपचार गर्न नपाउँदा कोभिडको जोखिम बढेको उनीहरूको भनाइ छ । जसमध्ये उपचारको सहज पहुँचमा नभएका विपन्नहरू बढी प्रभावित भएको विज्ञहरू बताउँछन् । 

महामारीको समयमा अधिकांश अस्पतालहरू कोभिड संक्रमितको उपचारका लागि छुट्याउँदा अन्य स्वास्थ्य समस्याबाट बढी प्रभावित भएको पछिल्ला सर्वेक्षणले देखाउँछ । ओमिक्रोन संक्रमण नियन्त्रणमा आएसँगै अस्पतालहरूले नन्कोभिड सेवा सञ्चालनमा ल्याए पनि यसको असर भने दीर्घरोगीमा दीर्घकालीन रूपमा देखिएको डा. पुकारचन्द्र श्रेष्ठ बताउँछन् । ‘पहिलो र दोस्रो लकडाउनको समयमा प्रत्यारोपणका लागि गरिने अधिकांश शल्यक्रिया रोकिए । योसँगै निःशुल्क उपचार सेवा उपलब्ध हुने अस्पतालसम्म पुग्नसमेत महामारीमा अप्ठ्यारो भएकाले विपन्नहरू स्वास्थ्य सेवाबाट वञ्चित भएको देखिन्छ,’ उनले भने ।

महामारीपछि नि:शुल्क स्वास्थ्य सेवा लिने विपन्नको संख्या न्यून
कोभिड महामारी सुरु हुनुअघि र महामारीको बीचमा दीर्घरोगको समस्या लिएर अस्पताल पुग्नेको संख्याले समेत विपन्नहरूमा परेको प्रभावलाई पुष्टि गर्छ । स्वास्थ्य सेवा विभागले प्रत्येक वर्ष प्रकाशित गर्ने तथ्यांकअनुसार कोभिड महामारीपछि निःशुल्क स्वास्थ्य सेवा लिने विपन्नको संख्या निकै न्यून देखिन्छ । 

डा. नीरज बम, शिक्षण अस्पताल महाराजगन्ज

सरकारले केही रोगको औषधि उपचारमा मात्र सहुलियत दिँदै आए पनि दम र अन्य दीर्घरोगीलाई समेत निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्ने देखिन्छ । उपचार खर्च व्यहोर्न नसक्दासमेत दीर्घरोग मृत्युको कारण बन्ने गरेको छ, जुन महामारीपछि झन् बढ्दै गएको छ ।

स्वास्थ्य सेवा विभागअन्तर्गतको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाको तथ्यांकअनुसार आर्थिक वर्ष ०७६/७७ मा ५४ हजार आठ सय ८६ विपन्न नागरिकले नि:शुल्क स्वास्थ्य सेवा लिएका थिए । गत आर्थिक वर्षमा २९ हजार तीन सय ४६ ले मात्र सेवा लिएका छन् । जसमध्ये पनि १२ हजार चार सय ४५ जना विपन्नहरू अघिल्लो वर्षदेखि नै उपचारका लाग पालो कुरिरहेका थिए । महामारीमा संक्रमणको डरका कारण अधिकांश शल्यक्रिया रोकिएका र यातायातको सुलभ पहुँच नहुँदासमेत दीर्घरोगका बिरामी बढी प्रभावित भएको चिकित्सकहरू बताउँछन् ।

यी हुन् आठ गम्भीर रोग, जसको उपचार विपन्नले नि:शुल्क पाउँछन्
विपन्न नागरिक औषधिउपचार कोषमार्फत आठवटा गम्भीर रोगको उपचारका लागि विपन्नले निःशुल्क स्वास्थ्य सेवा पाउने गर्छन् । मिर्गाैला, क्यान्सर, मुटु रोग, हेड इन्जुरी, स्पाइनल इन्जुरी, पार्किन्सन्स, अल्जाइमर्स र सिकलसेल एनिमियाको औषधि उपचार खर्च व्यहार्न नसक्ने विपन्न नागरिकको खर्च सरकाले व्यहोर्ने गर्छ । 

उपचार खर्च व्यहोर्न नसक्ने विपन्नले स्थानीय तहको सिफारिसमा नेपालभित्र रहेका सरकारी अस्पतालमा उपचार गराएमा उपचार खर्चमा सहुलियत पाउँछन् । तर, महामारीमा अस्पतालसम्म पुग्ने संख्यामा नै कमी आउँदा न्यून विपन्न नागरिकले सेवा लिएको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखा प्रमुख गोमा निरौला बताउँछिन् । उनका अनुसार सम्बन्धित स्थायी ठेगानाको स्थानीय तहको सिफारिस, नागरिकताको प्रतिलिपि, चिकित्सकको प्रिस्क्रिप्सन, नाबालकको हकमा जन्मदर्ताको प्रमाणपत्र र निवेदन सम्बन्धित स्थानीय तहमा बुझाएअनुरूप उपचार खर्चमा सहुलियत पाउँछन् ।  

अस्पताल पुग्ने बिरामीको संख्या निकै बढेको पाइए पनि न्यून संख्यामा मात्रै विपन्न नागरिकले स्वास्थ्य सेवा लिएका छन् । विभागको विवरणअनुसार गत आर्थिक वर्षमा मिर्गाैलासम्बन्धी समस्याका एक सय २१ जना बिरामीले मात्र सहुलियत लिएका छन्, जब कि आव ०७६/७७ मा सात हजार चार सय ७८ जना विपन्न नागरिकले मिर्गाैलाको उपचारमा सहुलियत पाएका थिए । 

आव ०७६/७७ मा क्यान्सरका ३४ हजार ६ सय ६७ बिरामीको औषधिउपचार सेवा सरकारले व्यहोरेको थियो । आव ०७७/७८ मा १५ हजार एक सय ८७ ले मात्र निःशुल्क उपचार पाएका छन् । यसबाहेक हेड इन्जुरी, मुटुरोग र अल्जाइमर्सको उपचारका लागि समेत स्वास्थ्य सेवामा न्यून पहुँच रहेको तथ्यांकले देखाउँछ । 

कोभिड संक्रमण कमजोर बन्दै गएको र दीर्घरोगको उपचार हुने ठूला सरकारी अस्पतालमा विपन्नको पहुँचसमेत सहज बन्दै गएको पाइन्छ । औषधि उपचारका लागि सहुलियत लिने विपन्न नागरिकको संख्यासमेत बिस्तारै बढ्दै गएको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाकी नर्सिङ अधिकृत मेनुका मोक्तान बताउँछिन् । ‘यो आर्थिक वर्षको सुरुवातपछि अस्पतालबाट संक्षिप्त रिपोर्ट आइनसेका कारण निःशुल्क स्वास्थ्य सेवा लिनेहरूको तथ्यांक यकिन छैन । तर, केही महिनादेखि उपचारमा सहुलियत लिनेको संख्या भने बिस्तारै बढ्न थालेको छ,’ उनले भनिन् ।

ad
ad