निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ असार १६ बिहीबार
  • Thursday, 30 June, 2022
प्रेम गैरे
२०७८ फाल्गुण ६ शुक्रबार ०८:३४:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

उद्यम क्रान्ति कसरी गर्ने ?

नेपालमा उद्यमशीलताको इकोसिस्टम अर्गानिक रूपमा विकास हुँदै छ र उद्यम क्रान्तिका लागि यसको अपरिहार्यताबारे बहस सुरु भएको छ 

Read Time : > 2 मिनेट
प्रेम गैरे
२०७८ फाल्गुण ६ शुक्रबार ०८:३४:००

औद्योगिक क्रान्तिसँगै विश्व अर्थतन्त्र आर्थिक विकासमा तीव्र रूपमा अगाडि बढेको हो । यसले मानवजातिको जीवनस्तरमा गुणात्मक परिवर्तन ल्याए पनि धनी र गरिबबीचको खाडल भने झनै गहिरियो । तर, औद्योगिक क्रान्ति अहिले ‘नलेज इकोनोमी’ (ज्ञानमा आधारित अर्थतन्त्र) अर्थात् ‘उद्योग ४.०’ मा प्रेवश गरेसँगै पुँजीको लोकतान्त्रीकरण भएको छ । फलस्वरूप पुँजी ‘आइडिया र नवप्रवर्तन’तर्फ आकर्षित हुन थालेको छ र नवउद्यमीहरू धनाढ्य बन्ने लहर विश्वभर चलेको छ । अर्कातिर नवउद्यमले स्थापित कम्पनीलाई विस्थापित गर्ने क्रम पनि बढेको छ ।

यो बदलिँदो परिवेशमा उद्यमशीलताको तिव्र विकास गर्न ‘इकोसिस्टम’ अर्थात् उद्यमीमैत्री वातावरण हुनुपर्छ भन्ने सिद्धान्त विश्वप्रसिद्ध छ । यो अवधारणा ब्याब्सन कलेजका संस्थापक तथा हार्वर्ड विश्वविद्यालयका प्रोफेसर अफ प्राक्टिस डेनियल जे आइसनवर्गले प्रतिपादन गरेका हुन् । प्रा. डेनियलद्वारा स्थापित ब्याब्सन कलेज शैक्षिक संस्थाहरूको वरीयतामा उद्यमशीलताका लागि पहिलो मानिन्छ । यद्यपि, त्यहाँ उद्यमशीलताको मात्र अध्यापन हुने हुँदा कतिपय संस्थाले यसलाई आफ्नो वरीयतामा समावेश गरेका छैनन् । डेनियलले ‘हार्वर्ड बिजनेस रिभ्यु’मा उद्यमशीलतामा क्रान्ति कसरी गर्ने (हाउ टु स्टार्ट एन आन्ट्रप्रेनरियल रिभोलुसन) शीर्षकमा आर्टिकल प्रकाशन गरी विभिन्न सूत्र पेस गरेका छन्, जसको सार निम्न छ :

१. सिलिकन भ्यालीको नक्कल नगरी स्थानीय इकोसिस्टम निर्माण गर्ने : प्रविधिमा भीमकाय कम्पनीहरू जन्माउन सफल अमेरिकाको ‘सिलिकन भ्याली’ उद्यमशीलता विकासको रोल मोडेल हो । छुट्टै परिस्थिति र आफ्नै लयमा बनेको त्यो सहर र त्यहाँको इकोसिस्टम नक्कल गर्न असम्भवप्रायः छ । फेरि, त्यो जरुरी पनि छैन– किनकि हरेक ठाउँको मौलिकता र छुट्टै महत्‍व हुन्छ । उद्यमशीलता प्रवद्र्धनका लागि स्थानीयस्तरमै उपलब्ध स्रोतसाधनको कसीमा इकोसिस्टम निर्माण गर्नुपर्छ । सरकारी नीति, समन्वयात्मक संस्था, भौतिक पूर्वाधार आदि तदनुरूप बनाउनुपर्छ भन्ने आइसनबर्गको जिकिर छ । 

नेपालको सन्दर्भमा तुलनात्मक लाभका क्षेत्रहरूको उच्चतम उपयोगका लागि इकोसिस्टम बनाउनुपर्छ । उदाहरणका लागि हाम्रो एउटा विशिष्ट सम्पदा जलस्रोत हो र त्यसका अनेकौँ उपयोगमध्ये पछिल्लो समय ऊर्जा उत्पादनमा हामी केही सफल भएका छौँ । अब यसकै वरिपरि इकोसिस्टम बनायौँ भने हामीले फड्को मार्न सक्छौँ । अर्गानिक रूपमा ऊर्जाको माग त बढ्छ नै, गुणात्मक रूपमा माग बढाउँदा मात्र उत्पादित ऊर्जा सदुपयोग हुन्छ । स्वच्छ र स्वदेशमै उत्पादित ऊर्जाबाट प्रेट्रोलियम पदार्थ र कोइलाको आयात घटाउन सकिन्छ । विद्युत् सस्तो हुने, उद्योगको लागत घटेर आन्तरिक उत्पादन बढी प्रतिस्पर्धी हुने, कार्बन उत्सर्जन घट्ने, प्रदूषण घट्नेलगायत चेन इफेक्ट सिर्जना गर्न सकिन्छ । 

२. साझेदारी, सहकार्य र सहभागिता : सुरुवाती चरणबाटै निजी क्षेत्र र सरोकारवाला पक्षलाई संलग्न गराउँदा एकअर्काको परिपूरक भई उद्यमशीलताको तीव्र विकासमा मद्दत पुग्छ । सहभागितामूलक ढंगबाट अगाडि बढ्दा सबैलाई अपनत्व पनि हुन्छ र पुरानो मानसिकता परिवर्तनको आधार पनि तयार हुन्छ ।
समन्वयको अभाव र सरोकारवाला पक्षको असंलग्नताका कारण धेरै आयोजना विवादित बन्छन् र असफल हुन्छन् । त्यसैले समन्वयको काममा हामीले अब सम्झौता नगर्ने अठोट लिनुपर्छ । 

३. धैर्य, स्रोतको उचित उपयोग र ठूला उद्यमीलाई प्रोत्साहन : लघु उद्यमलाई टेवा दिनुभन्दा ठूला नवप्रवर्तन उद्यमीलाई सहयोग गर्नुपर्ने कुरा सुन्दा नराम्रो लागे पनि, इकोसिस्टम विकास र सीमित स्रोतसाधनको सदुपयोगका लागि महत्‍वपूर्ण हुने आइसनबर्गको तर्क छ । सयौँ लघुउद्यमको सफलताले भन्दा एउटा युनिकर्न (छोटो समयमै एक खर्ब रुपैयाँ मूल्यांकन बनाएको कम्पनी) उद्यमको सफलताले बढी प्रेरणा दिन्छ र मानिसलाई नवप्रवर्तन उद्यमशीलतातर्फ आकर्षित गर्छ । 

उद्यमशीलताको लहर ल्याउन आममानिसमा चेतना आवश्यक छ । भारतमा हाल ‘सार्क ट्यांक इन्डिया’ नामक कार्यक्रम लोकप्रिय छ । यसले भारतमा कसरी उद्यमशीलताको लहर आएको छ, त्यो त देखाएको छ नै, साथसाथै नवउद्यमीलाई पनि सपना देख्न प्रेरित गरेको छ र नवप्रवर्तनका उदाहरण पेस गरेको छ । नेपालमा पनि ‘सार्क ट्यांक नेपाल’को चर्चा चलेको छ, जुन एकदमै सकारात्मक छ ।

नेपालमा उद्यमशीलताको इकोसिस्टम निर्माणमा विभिन्न व्यक्ति र संस्था सक्रिय छन् । ‘आन्टरप्रेनर्स फर नेपाल’ नामक फेसबुक समूहले उद्यमीलाई नेटवर्किङ गर्ने प्लाटफर्म निर्माण गरेको छ । स्किल ल्याब र अन्तरप्रेरणाजस्ता संस्थाले शैक्षिक संस्थामा इन्क्युबेसन सेन्टर स्थापना गर्न सहयोग गरिरहेका छन् । डोल्मा फन्ड, वान टु वाच, र टिम भेन्चरर्सलगायत संस्थाले पुँजीगत लगानी (भेन्चर क्यापिटल फन्ड) को पहुँच सहज बनाएका छन् । बैंकहरूको सबलीकरणले लगानीको पहुँच विस्तार गरेको छ । ‘एफवान् सफ्ट’, सस्तो डिल, उपाय सिटी कार्गोलगायत उद्यमले छोटो समयमा फड्को मारेका उदाहरणले नवप्रवर्तन उद्यमीमा प्रेरणा भरेका छन् । 

नेपालको उद्यमशीलताको इकोसिस्टम अर्गानिक रूपमा विकास हुँदै छ । नेपालमा यसको अपरिहार्यताबारे किङ्स कलेजका प्रधानाध्यापक नरोत्तम अर्यालका लेखरचना र युट्युब भिडियो सान्दर्भिक छन् । अर्यालले भनेजस्तै हामीले शिक्षालाई समाजसँग जोड्नुपर्छ । त्यस्तै, दक्षिण अमेरिका, अफ्रिका र मध्यपूर्वका देशहरूको अध्ययनबाट आइसनबर्गद्वारा प्रतिपादित उल्लिखित सिद्धान्त हाम्रा लागि मननयोग्य छन् । यी सिद्धान्त र ज्ञानको आलोकमा जडसूत्रीय नभई निरन्तरको प्रयोग र परीक्षणमा आधारित सामूहिक प्रयासद्वारा उद्यम क्रान्ति गर्नतर्फ हामी अग्रसर हुनुपर्छ । (उद्यमशीलता विषयका अध्यापक गैरे बोस्टन इन्टरनेसनल कलेज, भरतपुरको इन्क्युबेसन विभागका प्रमुख हुन्)