निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ असार १६ बिहीबार
  • Thursday, 30 June, 2022
प्रेम गैरे
२०७८ माघ ४ मंगलबार ०७:४८:००
Read Time : > 4 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

‘इफेक्चुअल लजिक’ : उद्यमीहरूको पृथक् सोच

Read Time : > 4 मिनेट
प्रेम गैरे
२०७८ माघ ४ मंगलबार ०७:४८:००

अनिश्चिततालाई अंकमाल गर्दै मानव भविष्यलाई थप सुन्दर बनाउन अनवरत प्रयास गर्नु नै सही अर्थमा उद्यमशीलता हो 


उद्यमशीलता अहिले एक ‘ग्ल्यामरस’ शब्द भएको छ । उद्यमीका रूपमा आफ्नो परिचय दिनु एउटा गौरवको विषय बनेको छ । राजनीतिमा समेत तीव्र आर्थिक विकासको आकांक्षा पूरा गर्न सक्ने अचुक अस्त्रका रूपमा उद्यमशीलतालाई हेर्न थालिएको छ । हार्वर्ड युनिभर्सिटीको स्कुल अफ बिजनेसमा सन् १९४७ सालमा व्यवस्थापन संकायमा प्रवेश पाएको एउटा विषय आज विश्वभरका अधिकांश विश्वविद्यालयमा अध्यापन गरिन्छ । एउटा विषय मात्र नभएर स्नातकोत्तर तहमा उद्यमशीलताको डिग्री नै हासिल गर्न सकिन्छ । यसरी तीव्र रूपमा औपचारिकता पाएर विश्वभरका विश्वविद्यालयमा फैलिएको यो विषय निकै लोकप्रिय बनेको छ ।

संयुक्त राज्य अमेरिकाको सिलिकन भ्यालीमा जब सूचना प्रविधिको उल्लेख्य विकास भयो, त्यसले उद्यमशीलताको लोकप्रियता अहिलेको तहमा पु¥याउन ठूलै भूमिका खेल्यो । स्टिभ जब्स, बिल गेट्स, मार्क जुकरबर्ग, जेफ बेजोस, सर्गे ब्रिन, ल्यारी पेज, पिटर थिल, एलन मस्कलगायत उद्यमीको जुनस्तरको लोकप्रियता छ, त्यसले उद्यमशीलताको लोकप्रियतालाई विश्वभर सञ्चार गर्न मद्दत ग¥यो । फलस्वरूप उद्यमशीलता अहिले ‘टक अफ द टाउन’ भएको छ । ‘उद्यमशील समाज बनाउने शिक्षानीति’ अबको आवश्यकता हो भन्ने मर्मसहितको मिलन पाण्डेको नयाँ पत्रिकामा हालै मात्र प्रकाशित आलेख यसको एक दृष्टान्त हो ।

अस्ट्रेलियाको ‘ला ट्रोब युनिभर्सिटी’बाट ‘उद्यमशीलता र नवीनता’ विषयमा स्नातकोत्तर डिग्री हासिल गर्ने सौभाग्य पाएको र हाल यही विषयको अध्यापक भएको नाताले उद्यमशीलताको एक रोचक सिद्धान्त पेस गर्ने उद्देश्यले यो लेख लेख्दै छु । सन् २००० को दशकमा प्रतिपादन भएको ‘इफेक्चुयसन थ्योरी’ले तपाईंको उद्यमशीलताको बुझाइमा एक नयाँ आयाम थप्नेछ भन्ने मेरो विश्वास हो ।

‘इफेक्चुयसनको सिद्धान्त’ उद्यमीहरूले कसरी तर्क गर्छन् भन्ने कुरालाई अध्ययन गरी प्रतिपादन गरिएको सिद्धान्त हो । भारतीय मूलकी अमेरिकी प्राध्यापक सारस सारसभ्याथीले २३ अर्बदेखि करिब आठ खर्ब मूल्यांकन भएका कम्पनीका २७ जना प्रवर्तक उद्यमीमाझ अध्ययन गरेर निकालिएको निष्कर्षका रूपमा यो सिद्धान्त रहेको छ ।

इफेक्चुअल तर्क ‘कारणको विश्लेषण गरेर परिणामको आकलन गरिने कारणीय तर्कभन्दा बिल्कुलै फरक तरिकाले तर्क गर्ने पद्धति हो । भविष्यको निर्माण मानिसहरूको कर्ममा निहित हुन्छ भन्ने पूर्वधारणासहित यसले ‘एक्सपर्ट’ उद्यमीहरू विगत हेरेर भविष्यवाणी गर्नुभन्दा भविष्य निर्माणमा लाग्ने गरेको तथ्य उजागर गरेको छ । उद्यमशील मानसिकता विकास गर्नमा यस भाष्यको निकै ठूलो महत्‍व छ । यस सिद्धान्तअन्तर्गत उद्यमशीलताका हामीले अनुसरण गर्न सकिने पाँच मान्यता छन्, जुन यसप्रकार छन् :

१. ‘बर्ड इन ह्यान्ड’ (अर्थात् आफूसँग जे छ, त्यही साधन प्रयोग गरी सुरु गर्ने) :: उद्यमीहरूले उपयुक्त अवसर पर्खिनेभन्दा पनि आफू जुन अवस्थामा छन्, आफूसँग जे साधन छ, त्यसैको उच्चतम प्रयोग गरी उद्यम सुरु गर्छन् । अर्थात् उद्यमीका लागि अवसरभन्दा कर्म प्राथमिक हुन्छ भन्ने यो मान्यताको सार हो । 

२. ‘एफोर्डेबल लस’ (व्यहोर्न सकिने नोक्सानी) : सम्भावित लाभमा भन्दा बढी ध्यान बहन गर्न सकिने नोक्सानीमा दिँदा कुनै पनि अवसरलाई सदुपयोग गर्ने कि नगर्ने भन्ने कुरामा स्पष्ट हुन सकिन्छ । जोखिम बहन गर्दा असीमित जोखिम मोल्नेभन्दा पनि गणित मात्रामा जोखिम लिनु उद्यमीका लागि उपयुक्त रणनीति हो ।

३. ‘क्रेजी क्विल्ट प्रिन्सिपल’ (सहकार्यमा जोड) : व्यावसायिक प्रतिस्पर्धा अथवा प्रतिस्पर्धाको विश्लेषणमा भन्दा सहकार्यमा जोड दिएर अगाडि बढ्दा भविष्य बढी सुरक्षित हुने अध्ययनले देखाएको छ । विश्व परिस्थिति तीव्र रूपमा परिवर्तन भइरहेको अवस्थामा क्षणिक प्रतिस्पर्धाभन्दा दूरगामी साझेदारीको रणनीति बढी उपयुक्त हुन्छ भन्ने सार यो सिद्धान्तको छ ।

४. ‘लेमनेड प्रिन्सिपल’ (प्रतिकूलतालाई अवसरमा बदल्ने) : विभिन्न परिस्थितिसँग जुध्दै गर्दा उद्यमीले आफ्नो लक्ष्यलाई परिमार्जन गर्दै जाने गर्छन् । लचकता अपनाउनेबित्तिकै विभिन्न सम्भावना देखा पर्न सक्छन् । कोभिडको विषम परिस्थितिमा जसरी उद्यमीले चुनौतीलाई अवसरमा बदले, त्यसरी नै हरेक परिस्थितिमा लचक रहन सक्नु सफल उद्यमीको एउटा विशेष गुण हो ।

५. जहाजको पाइलट (नियन्त्रण गर्न सकिने कुरा मात्र व्यवस्थापन गर्नु) : जसरी जहाजको पाइलट आफूले नियन्त्रण गर्न सक्ने कुरामा मात्र केन्द्रित हुन्छ, त्यसरी नै नियन्त्रणबाहिरका कुरालाई छाडेर उद्यमी अगाडि बढ्छन् । त्यसकारण भविष्य कस्तो हुन्छ भनेर आकलन गर्नतिर नलागेर भविष्य निर्माण गर्नतिर लाग्ने गर्छन् ।

यी पाँच मान्यता प्रयोग गरेर हामीले हाम्रो दृष्टिकोणमा नवीनता ल्याउन सक्छौँ । त्यस्तै उद्यमशीलतासम्बन्धी हाम्रा जिज्ञासाको पनि उत्तर भेट्न सक्छौँ । उदाहरणका लागि हामीले कुन व्यवसाय गर्दा सबैभन्दा बढी फाइदा हुन्छ भनेर व्यर्थमा समय र श्रम खेर फालिरहेका हुन्छौँ, जबकि हरेक प्रकारको व्यवसायमा सफल व्यवसायी पनि हुन्छन् र असफल व्यवसायी पनि हुन्छन् । हामीले उपलब्ध स्रोत र आफ्नो रुचिको कुनै पनि उद्यम सुरु गरेर त्यसलाई सफल कसरी बनाउने भनेर सोच्दा वा तदनुरूप कर्म गर्दा सहज रूपमा लक्ष्य हासिल गर्न सक्छौँ ।

उपलब्ध स्रोत र आफ्नो रुचिको कुनै पनि उद्यम सुरु गरी त्यसलाई सफल कसरी बनाउने भनेर सोच्दा वा तदनुरूप कर्म गर्दा सहज रूपमा लक्ष्य हासिल गर्न सकिन्छ

त्यस्तै हामीले आफूसँग स्रोतहरू के–के छन् र तिनको उच्चतम प्रयोग के हुन सक्छ भनेर बिरलै सोच्ने गर्छौं । फलस्वरूप हामी लगानी गर्ने पैसा छैन, अथवा सीप छैन वा अन्य नभएका कुरामा ज्यादा केन्द्रित भएका हुन्छौँ । हाम्रै समाजमा पनि धेरैले आफ्नो सीप र पुँजीको उच्चतम प्रयोग गरी त्यसबाट व्यवसाय विस्तार गरेर सफल उद्यमी बनेका प्रशस्तै उदाहरण भेटिन्छन् । आफूसँग भएको स्रोतलाई प्रयोग गर्न जानिएन भने त्यो स्रोत खेर जान्छ । उदाहरणका लागि हामीले पुराना गाडीका पार्टपुर्जाहरू रेस्टुरेन्टहरूमा डेकोरेसन अथवा पुरातन शैलीको झलक दिनका लागि प्रयोग गरेको देखेकै छौँ, जुन स्रोतको उचित उपयोगको एक नमुना हो । अब सोचौँ, हामीसँग के–के स्रोत छ, जुन खेर गइरहेको छ । मलाई निकै महत्‍वपूर्ण लाग्ने स्रोत भनेको मानव स्रोत र हाम्रो समय हो । के हामीले उचित उपयोग गरेका छौँ त ?

सम्भावित घाटाको पहिल्यै यथोचित आकलन नगरी जोखिम लिँदा हामी भविष्यमा नवीन प्रयोग गर्न र थप जोखिम लिन असमर्थ हुन्छौँ । जस्तो कि, हामीले उद्यम सुरु गर्दा नसोचेको क्षति व्योहोर्नुप¥यो भने अर्को उद्यम सुरु गर्ने हिम्मत कसरी जुटाउन सकौँला । तर, यदि हामीले जोखिम पहिल्यै आकलन गरेर उद्यम सुरु गरेका छौँ भने त्यसले हामीलाई आघात पार्दैन र हामी फेरि अर्को उद्यममा नवीन प्रयोगलाई निरन्तरता दिन सक्छौँ ।

त्यस्तै अनिश्चितता अथवा हाम्रो वशमा नभएका कुरासँग हामी डराउँछौँ, अत्तालिन्छौँ र हामीले गर्न सक्ने कुरा बिर्सिन्छौँ । गर्न सकिने कुरामा मात्र ध्यान दिँदा सम्भावनाहरू अंकुरित हुन्छन् । हाम्रो जीवन नै अनिश्चयले भरिएको छ भने अनिश्चिततासँग त्रस्त हुनुभन्दा आफ्नो पकडमा भएका कुराको सही व्यवस्थापन गरेर अगाडि बढ्ने शिक्षा यो सिद्धान्तले दिन्छ ।

उद्यमी र व्यवसायीबीच केही भिन्नता हुन सक्छन् । तर, दुवैले उल्लिखित सिद्धान्तहरूको पालना गर्दै उद्यमशील मानसिकता विकास गर्न सक्छन् । उद्यमी बन्नका लागि नवीन व्यवसाय गर्नुपर्छ भनेर धेरैले अनावश्यक बहस गर्छन् । उद्यमशील मानसिकताको अचेल कर्पोरेट तथा सार्वजनिक सेवामा समेत खोजी हुन थालेको छ, जसले त्यस बहसलाई निरर्थक बनाइसकेको छ ।

नवीन अन्वेषण या सोच स्वैरकल्पनामा डुबेर आउने कुरा होइनन्, यी त प्रयोग र परीक्षण गर्दै जाँदा प्राप्त हुने कुरा हुन् । लक्ष्य पनि सधैँ स्थिर रहन्छ वा हुनुपर्छ भन्ने छैन । परिस्थिति बदलिँदा लक्ष्य बदल्नैपर्ने हुन्छ । त्यसैले अनिश्चिततालाई अंकमाल गर्दै, मानव भविष्यलाई थप सुन्दर बनाउन अनवरत प्रयास गर्नु नै सही अर्थमा उद्यमशीलता हो । उद्यमीले कारणीय तर्क प्रयोग नगर्ने भन्ने होइन, कारणीय तर्कको आफ्नै महत्‍व छ, तर अनिश्चितताको मोडमा कारणीय तर्कभन्दा इफेक्चुअल तर्क प्रभावकारी हुन्छ भन्ने यो सिद्धान्तको सार हो । (उद्यमशीलता विषयका अध्यापक गैरे बोस्टन इन्टरनेसनल कलेज, भरतपुरको इन्क्युवेसन विभागका प्रमुख हुन्)