१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
दुई खेलअगाडि नै सहिद स्मारक ए डिभिजन लिग च्यापियन बनेपछि मच्छिन्द्र क्लबका खेलाडी । तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o८:४८:oo
Read Time : > 2 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

मच्छिन्द्र लगातार दोस्रोपटक लिग च्याम्पियन

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o८:४८:oo

मच्छिन्द्र फुटबल क्लबले सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ । मच्छिन्द्र दुई खेलअगाडि नै लगातार दोस्रोपटक लिग च्याम्पियन बनेको हो । दशरथ रंगशालामा बुधबार नवप्रवेशी क्लब सातदोबाटो युथलाई १–० को झिनो गोलअन्तरले हराउँदै मच्छिन्द्रले च्याम्पियन उपाधि उचालेको हो । मच्छिन्द्रलाई लिग च्याम्पियन बनाउने क्रममा एक मात्र निर्णायक गोल नोर्लान नोभ्जोभले गोल गरेका थिए । 

पहिलो हाफमा सातदोबाटोले मच्छिन्द्रलाई गोलरहित बराबरीमा रोकेको थियो । दोस्रो हाफको आठौैँ मिनेटमै नोर्लानले मच्छिन्द्रलाई १–० को अग्रता दिलाए । खेलको थप गोल नहुँदा उनकै एक मात्र गोलको सहयोगमा मच्छिन्द्रले खेल मात्र जितेन, दुई खेलअगाडि नै लिगको उपाधि रक्षासमेत गर्‍यो । गत वर्ष मच्छिन्द्रले त्रिभुवन आर्मीलाई लिगकै अन्तिम खेलमा १–० ले हराउँदै पहिलोपटक उपाधि जितेको थियो । 

च्याम्पियन यात्रा

  • मच्छिन्द्र २–१ एनआरटी 
  • मच्छिन्द्र ०–० आर्मी
  • मच्छिन्द्र २–० जावलाखेल
  • मच्छिन्द्र ३–० हिमालयन शेर्पा
  • मच्छिन्द्र ०–० संकटा
  • मच्छिन्द्र १–० मनाङ
  • मच्छिन्द्र १–० पुलिस
  • मच्छिन्द्र १–० फ्रेन्ड्स 
  • मच्छिन्द्र ४–० बिग्रेड
  • मच्छिन्द्र २–० च्यासल

देवेन्द्र तामाङको हेडिङ सातदोबाटोका गोलरक्षक अभिषेक बरालले बचाएका थिए । तर, क्रसबारबाट फर्किएको बलमा नोर्लानले गोल गरे । जितसँगै शीर्ष स्थानको मच्छिन्द्रले ११ खेलमा सर्वाधिक २९ अंक जोडेको छ । दोस्रो स्थानको मनाङ मस्र्याङ्दीमाथि मच्छिन्द्रले नौ अंकको अग्रता लिएको छ । मनाङको २० अंक छ । सातदोबाटोले ११ खेलमा १५ अंक जोडेको छ । सातदोबाटो छैटौँ स्थानमा रहेको छ ।

लिगको ११औँ चरणमा नवप्रवेशी क्लब सातदोबाटोमाथि १–० को जित निकाल्दै मच्छिन्द्र क्लबले दुई खेलअगाडि नै सहिद स्मारक ए डिभिजन लिगको उपाधि रक्षा गरेको छ 

लिगको छैटौँ चरणमा मनाङमाथि १–० को जित नै मच्छिन्द्रको उपाधि रक्षा गर्ने बलियो आधार बन्यो । साथै मनाङ सातदोबाटोसँग स्तब्ध हुनु पनि मच्छिन्द्रलाई थप फाइदा पु¥यो । अघिल्लो चरणमा मच्छिन्द्रले लिगको साविक उपविजेता आर्मीलाई गोलरहित बराबरीमा रोकेको थियो । 

प्रतिस्पर्धाको १९औँ मिनेटमा मच्छिन्द्रका विमल घर्तीमगरले डिबक्सभित्रबाट प्रहार गरेको बललाई सातदोबाटोका गोलरक्षक अभिषेक बरालले बचाए । यसैगरी २९औँ मिनेटमा सातदोबाटोले अग्रता लिने अवसर गुमायो । आकाश बुढामगरको कर्नरमा निरज चौधरीको प्रहार मच्छिन्द्रका गोलरक्षक विशाल श्रेष्ठले बचाए । 

थ्री स्टार र पुलिसबीच बराबरी  
लिगअन्तर्गत बुधबार ११औँ चरण खेलमा पूर्वविजेताद्वय थ्री स्टार र नेपाल पुलिस क्लबले बराबरी नतिजा निकालेका छन् । थ्री स्टारले सुरुवाती अग्रता रक्षा गर्न नसक्दा पुलिससँग बराबरी नतिजा निकाली अंक बाँडेको हो । खेलको २१औँ मिनेटमा ऋतिक कुमार खड्काले थ्री स्टारलाई १–० को अग्रता दिलाएका थिए । खेलको ५१औँ मिनेटमा सुमन सुवेदीले पुलिसलाई १–१ गोलको बराबरीमा ल्याए । उनले तेज तामाङको फ्रिकिकमा हेडिङ गोल गरेका हुन् । खेलको १८औँ मिनेटमा थ्री स्टारका घानिफोले प्रहार गरेको बललाई पुलिसका गोलरक्षक सत्रुधन चौधरीले बचाए । बराबरीसँगै थ्री स्टारले ११ खेलमा १८ अंक र पुलिसले ११ खेलमा ११ अंक जोडेको छ ।

उपाधिको श्रेय खेलाडीलाई : प्रवेश कटवाल, मुख्य प्रशिक्षक, मच्छिन्द्र
मुख्य प्रशिक्षक प्रवेश कटवालले मच्छिन्द्रलाई लगातार दोस्रोपटक च्याम्पियन बनाउँदा निकै खुसी देखिए । ‘कुनै पनि क्लबलाई आफ्नो प्रशिक्षणमा लगातार दोस्रोपटक लिग च्याम्पियन बनाउन पाउँदा खुसी नहुने कुरै भएन,’ कटवालले हर्षित हुँदै भने, ‘यो सबै खेलाडीहरूको मिहिनेतका कारण सम्भव भएको हो, यस कारण लिग उपाधि जित्नुको श्रेय खेलाडीलाई नै जान्छ ।’ ए डिभिजन सुरु हुनअघि आयोजित पत्रकार सम्मेलनमा मच्छिन्द्रले लिग उपाधि रक्षा गर्ने किसिमले नै रणनीति र खेलाडी बनाएको प्रशिक्षक कटवालले बताएका थिए । 

‘हामीले सबै चरणमा योजनाअनुसार खेल्यौँ,  खेलाडी र म्यानेजमेन्ट टिमको ठूलो सहयोग छ,’ उनले भने । प्रतिस्पर्धामा नवप्रवेशी सातदोबाटोले राम्रो प्रदर्शन गरेको उनको भनाइ छ । ‘वास्तवमा सातदोबाटोले हामीविरुद्ध राम्रो प्रदर्शन नै गरेको थियो, उनीहरू गोल फर्काउन सक्ने टोली थियो,’ उनले भने । प्रशिक्षक प्रवेशले एएफसी कप छनोटका लागि टिममा केही परिवर्तन हुनेसमेत बताए 

सोचेजस्तो खेल भएन : मेघराज केसी, मुख्य प्रशिक्षक, सातदोबाटो
सातदोबाटोका मुख्य प्रशिक्षक मेघराज केसीले प्राप्त अवसरमा गोल नहुँदा हारको सामना गरेको बताएका छन् । यद्यपि आफ्ना खेलाडीले लिग च्याम्पियन टोलीविरुद्ध राम्रो खेलेको उनको भनाइ छ । ‘खेलाडीले प्राप्त मौकामा गोल गर्न सकेनन्, तर खेलाडीले बलियो टोलीविरुद्ध राम्रो नै खेले,’ केसीले भने, ‘खेल सोचेको जस्तो भएको थियो, हामीले जित्नका लागि खेलेका थियौँ केवल गोल मात्र नभएको हो ।’ उनले मच्छिन्द्रलाई भाग्यले साथ दिएको जनाए । ‘मच्छिन्द्रलाई आज भाग्यले साथ दियो,’ उनले भने । 

सबै खेलाडी एकजुट  : सुजल श्रेष्ठ कप्तान, मच्छिन्द्र
कप्तानीमा लिग च्याम्पियन बनाएका सुजल श्रेष्ठले टोलीमा आबद्ध सबै खेलाडी एकजुट हुँदा नै मच्छिन्द्रले उपाधि रक्षा गरेको प्रतिक्रिया दिएका छन् । लिगको उपाधि रक्षा गरेसँगै मच्छिन्द्रले मच्छिन्द्र बहाल क्षेत्रमा विजयी उत्सव मनाएको थियो । बाजागाजासहित मच्छिन्द्रका खेलाडी तथा अफिसियलले परिक्रममा गरेका थिए । विजयी उत्सव मनाएका मच्छिन्द्रका कप्तान सुजलले भने, ‘सबै एकजुट भएका कारण हामीले लिग फुटबलको उपाधि जित्न सफल भएका हौँ ।’ 

उनले लिग जित्न पाउँदा धेरै खुसी लागेको पनि प्रतिक्रिया दिएका छन् । ‘हामीलाई सातदोबाटोविरुद्धको खेल निकै महत्वपूर्ण थियो, खेल पनि जित्यौँ साथै लिगको उपाधि रक्षा गर्दा झनै खुसी भएँ,’ उनले भने, ‘यो पालि पनि टोलीले राम्रो प्रदर्शन गरिरहेको छ, यो सबै सफलता हामी सबै एकजुट भएर खेल्नु नै कारण थियो ।’  
 

ad
ad