१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नवीन अर्याल काठमाडौं
२०७८ फाल्गुण ५ बिहीबार ०९:५०:००
Read Time : > 4 मिनेट
अर्थ प्रिन्ट संस्करण

७२ वर्षपछि नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँदै 

Read Time : > 4 मिनेट
नवीन अर्याल, काठमाडौं
२०७८ फाल्गुण ५ बिहीबार ०९:५०:००

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चार वर्ष ढिलो गरी सम्पन्न, शुक्रबारदेखि क्यालिब्रेसन फ्लाइट

भैरहवामा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (जिबिआइए) सञ्चालनका लागि तयार भएको छ । विमानस्थलमा भौतिक पूर्वाधार निर्माण र सञ्चारका उपकरण जडान भइसकेको छ । विमानस्थलमा जडान गरिएका सञ्चारका उपरकण परीक्षणका लागि ६ फागुनदेखि क्यालिब्रेसन (यान्त्रिक परीक्षण) फ्लाइट हुँदै छ । क्यालिब्रेसन फ्लाइट, परीक्षण उडानलगायतका सम्पूर्ण प्रक्रिया पूरा गरी बुद्ध पूर्णिमाको दिन २ जेठ २०७९ बाट विमानस्थल नियमित सञ्चालनमा ल्याउने नेपाल नागरिक उड्डयन प्राधिकरणको तयारी छ । नेपालमा २००६ सालमा त्रिभुवन विमानस्थल सञ्चालनमा आएपछि पहिलोपटक अर्को अन्तर्राष्ट्रिय विमानस्थल सम्पन्न भएको हो ।

क्यालिब्रेसन फ्लाइटका लागि बिहीबार थाइल्यान्डबाट विशेष उपकरणजडित विमान आउन लागेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए । क्यानले विमानस्थलमा १५ फागुनसम्म बिहान १० बजेदेखि साँझ ५ बजेसम्म क्यालिब्रेसन फ्लाइट हुने जनाएको छ । निर्धारित समयभन्दा चार वर्ष ढिलो निर्माण सम्पन्न भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रूपमा हेरिएको छ । मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा चाप बढ्दै करिब स्याचुरेसनमा पुगिसकेको छ । अब गौतमबुद्ध विमानस्थलमा नियमित उडान सुरु गर्न ढिलाइ नगर्ने उनको भनाइ छ । 

के हो क्यालिब्रेसन फ्लाइट ?
गौतमबुद्ध विमानस्थलमा क्यालिब्रेसन फ्लाइटका लागि विशेष जहाज त्रिभुवन विमानस्थल हुँदै भैरहवा पुग्नेछ । विमानस्थलमा उपकरण जडान गर्ने जिम्मेवारी पाएको एरोनोटिकल रेडियो अफ थाइल्यान्ड (एरोथाई)ले विशेष विमान ल्याएर फ्लाइट क्यालिब्रेसन गर्न लागेको हो । सो विमानमार्फत यान्त्रिक परीक्षण उडान गर्न नियमित उडान १० दिनसम्म प्रभावित हुने क्यानले जनाएको छ । 

विमानस्थलमा भौतिक पूर्वाधार निर्माण गरेर मात्रै सञ्चालनयोग्य हुँदैन । त्यहाँ जहाज उडान अवतरणका लागि सञ्चार उपकरण पनि जडान गर्नुपर्ने हुन्छ । एरोथाईले उपकरणको काम सम्पन्न गरिसकेको छ । ती उपकरणले ठीक ढंगले काम गरेका छन् कि छैनन् भनेर परीक्षण गर्न विशेष प्रविधिजडित जहाजबाट क्यालिब्रेसन फ्लाइट गर्नुपर्ने हुन्छ । 

एरोथाईको जहाजमा पाइलट, को–पाइलट र विशेषज्ञ टोलीसहित सातजनाको टिम आउनेछ । एरोथाईकै इन्जिनियरले विमानस्थलमा जोडिएका उपकरणको परीक्षण गर्नेछन् । कन्ट्रोलर टावर र जहाजबीच कुराकानी गर्न जोडिने सूचना संयन्त्रले काम गरेको वा नगरेको पनि परीक्षण हुनेछ । क्यालिब्रेसन फ्लाइट भएपछि अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आइकाओ)को मान्यता पाउन करिब तीन महिनालाग्ने बताइन्छ ।

यसबीचमा आइकाओका अरू मापदण्ड पनि पालना गर्नुपर्ने हुन्छ । यान्त्रिक परीक्षणमा सम्पूर्ण उपकरणले ठीक ढंगले काम गरेको रिपोर्ट आएर परीक्षण उडान सम्पन्न गरेपछि बल्ल विमानस्थलले अन्तर्राष्ट्रिय मान्यता पाउने व्यवस्था छ । विमानस्थलमा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको वाइडबडी जहाजबाट परीक्षण उडान गर्ने तयारी छ । ‘विमानस्थलमा सामान्य करेक्सनका काम बाँकी रहनु सामान्य हो, अरू ठूला काम सम्पन्न भइसकेका छन्, अब ठूलो जटिलता आउलाजस्तो लाग्दैन’ विमानस्थल परियोजना प्रमुख प्रवेश अधिकारीले भने, ‘क्यालिब्रेसन फ्लाइट हुनु भनेको विमानस्थल सञ्चालनको तयारी हुनु हो, हामी विमानस्थल सञ्चालनका लागि अगाडि बढिसक्यौँ ।’

७२ वर्षपछि नयाँ अन्तर्राष्ट्रिय विमानस्थल
मुलुकमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको सात दशकपछि अर्को अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँदै छ । ६ दशकदेखि आन्तरिक उडान भइरहेको गौतमबुद्ध विमानस्थल स्तरोन्नति भई अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा सञ्चालन हुँदै छ । गौतमबुद्धलाई अन्तर्राष्ट्रिय विमानस्थलमा स्तरोन्नति गर्ने गृहकार्य सुरु भएको डेढ दशक भइसक्यो । तर, विमानस्थल निर्माण सुरु भने १५ जनवरी २०१५ देखि भएको प्रवेश अधिकारीले बताए । विमानस्थल निर्माणका लागि नोभेम्बर २०१४ मा चिनियाँ कम्पनी ‘नर्थ–वेस्ट सिभिल एभियसन’सँग सम्झौता भएको थियो । सम्झौताको समयमा विमानस्थलले डिसेम्बर २०१७ सम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको थियो । तर, त्यसताका विमानस्थल निर्माण कार्य जम्मा २७ प्रतिशत सम्पन्न भएको थियो । विनाशकारी भूकम्प, भारतीय नाकाबन्दी, वर्षात्पछिको डुबान, मधेसकेन्द्रित बन्द–हडताल, कोभिड महामारी, निर्माण कम्पनी र निर्माण सामग्री उपलब्ध गराउने ठेकेदारको लापरबाही, निर्माण सामग्रीको अभावलगायत विविध कारणले विमानस्थल निर्माणमा ढिलाइ भएको हो । 

अहिलेसम्म ३० अर्ब खर्च 
गौतमबुद्ध विमानस्थल निर्माण सुरु भएको सात वर्षमा सञ्चालनमा आउँदै छ । विमानस्थलको भौतिक निर्माणमा ६ अर्ब ८० करोड रुपैयाँ हाराहारी खर्च भइसकेको महानिर्देशक अधिकारीले बताए । यस्तै, जग्गा मुआब्जामा करिब २३ अर्ब र सञ्चार उपकरण जडानमा ५० करोड रुपैयाँ खर्च भएको छ । 

अहिलेसम्म विमानस्थल निर्माणमा करिब ३० अर्ब रुपैयाँ लगानी भएको छ । सरकारले विमानस्थलको ‘आइसिबी–वान’ (सिभिल निर्माण)अन्तर्गत धावनमार्ग, ट्याक्सी वे, एप्रोन, टर्मिनल भवन, कन्ट्रोल टावर भवनलगायत बनाउन चिनियाँ कम्पनीसँग ६ अर्ब २२ करोडमा ठेक्का सम्झौता गरेको थियो । सन् २०१८ मा एडिबीले विविध कारणले आयोजना निर्माणको काम सन्तोषजनक नभएको भन्दै विमानस्थलबाट हात झिक्न खोजेको थियो । एडिबीले सहुलियतपूर्ण ऋण रकम दिनका लागि काम गरेर देखाउन नेपाल सरकारसँग प्रस्ताव गरेको थियो । यदि त्यतिवेला परियोजना रोकिएको भए लगानी सवा ६ अर्बबाट बढेर दोब्बर हुने अवस्था रहेको क्यानका कर्मचारी बताउँछन् । तर, क्यानले दाङ, नवलपरासीलगायत ठाउँबाट गिट्टी, ढुंगा, गेग्रानलगायत निर्माण सामग्रीको जोहो गरेर विमानस्थल निर्माणलाई तीव्रता दिएपछि एडिबी रकम दिनका लागि सकारात्मक बनेको थियो । ‘आइसिबी–टु’अन्तर्गत सञ्चारका उपकरण जडानलगायत काम थाइल्यान्डको एरोथाईले गरिरहेको छ । 

विमानस्थललाई विश्वस्तरको आधुनिक सुविधासम्पन्न बनाउन अझै २५ अर्ब खर्च लाग्ने क्यानका महानिर्देशक अधिकारी बताउँछन् । अझै गुरुयोजनाअनुसारको काम भएको छैन । त्यहाँ एरोब्रिजसहितको सुविधासम्पन्न अन्तर्राष्ट्रिय टर्मिनल भवन बनाउन बाँकी नै छ । विमानस्थलमा जहाज पार्किङ एप्रोनको क्षमता विस्तार गर्नुपर्छ । एप्रोन र धावनमार्गको समानान्तर ट्याक्सी–वे पनि निर्माण गर्नुपर्ने हुन्छ । 

विमानस्थलमा तीन हजार मिटर लम्बाइ र ४५ मिटर चौडाइको धावनमार्ग बनेको छ । त्यहाँ अहिले पाँचवटा अन्तर्राष्ट्रिय उडानका जहाज पार्किङ गर्न मिल्ने एप्रोन बनाइएको छ । आन्तरिक उडानका लागि छुट्टै पार्किङ निर्माण गरिएको छ । अग्नि निवारण र जीवनरक्षाका लागि दमकल र एम्बुलेन्स सुविधा विमानस्थलमै उपलब्ध गराइएको छ ।

जहाज सिमराबाटै प्रवेश 
गौतमबुद्ध विमानस्थलमा क्यानले पश्चिमतर्फबाट हवाई प्रवेश बिन्दु मागे पनि अहिलेसम्म भारतले स्वीकृति दिएको छैन । भारतले सुरक्षाको कारण देखाउँदै विमानस्थललाई सहज हुने हवाई रुट दिन आनाकानी गरिरहेको छ । क्यानले विमानस्थल सञ्चालनका लागि बनाएको आइएफआर उडान कार्यविधिमा दुई नटिकल माइलसम्मको एयर स्पेस भारतीय भूमि परेको र उक्त कार्यविधिप्रति भारतले असहमति जनाएपछि अहिले आफ्नै भूमिभित्र पर्ने गरी उडान अवतरण कार्यविधि बनाएर स्वीकृत गरेको छ । बाहिरबाट आएका जहाज सिमराबाट प्रवेश गरी नेपाली भूमि भएर गौतमबुद्ध विमानस्थलमा अवतरण गर्नेछन् । सरकारले विमानस्थलमा सहज प्रवेश बिन्दुका लागि भारतसँग छलफल गरिरहेको हुँदा भारत सकारात्मक हुने क्यानको विश्वास छ ।

कुन–कुन वायुसेवा उड्लान् टुंगो छैन
गौतमबुद्ध विमानस्थलमा कुन–कुन जहाजले उडान गर्छन्, अझै टुंगो लागेको छैन । भर्खर विमानस्थल निर्माण सम्पन्न भएको र क्यालिब्रेसन फ्लाइटको तयारी भइरहेकाले अझै पनि वायुसेवा कम्पनीसँग वार्ताको चरणमा पुगिनसकेको क्यानको भनाइ छ । ‘अझै विमानस्थलले अन्तर्राष्ट्रियस्तरको मान्यता पाइसकेको छैन, क्यालिब्रेन फ्लाइट, टेस्ट फ्लाइटलगायत आइकाओले तोकेका विभिन्न मापदण्ड पूरा गरेपछि बल्ल अन्तर्राष्ट्रिय मान्यता पाइन्छ’ महानिर्देशक अधिकारीले भने, ‘विमानस्थल उडानयोग्य प्रमाणित भएपछि मात्र अन्तर्राष्ट्रिय वायुसेवालाई भैरहवा उडान गर्न आमन्त्रण गर्नेछौँ ।’

विमानस्थल निर्माण सम्पन्न भएको घोषणा गरेपछि वायुसेवा कम्पनीको ध्यान तानिने क्यानको विश्वास छ । ‘अझै विमानस्थलले अन्तर्राष्ट्रिय मान्यता पाइसकेको छैन, परीक्षणकै चरणमा छ, त्यसैले कुनै पनि वायुसेवा कम्पनीसँग वार्ता भइसकेको छैन’ महानिर्देशक अधिकारीले भने, ‘काठमाडौंको विमानस्थल करिब स्याचुरेसनमा पुग्न थालेको हुँदा भैरहवा विमानस्थलको भविष्य उज्वल देख्छु ।’ लुम्बिनी आउने विश्वभरका बौद्धमार्गी, नारायणी पश्चिमका बासिन्दा, वैदेशिक रोजगारीमा जानेहरू भैरहवाबाट सीधा उडान गर्न पाउनेछन् । बौद्धमार्गी मुलुक चीन, जापान, कोरिया, भियतनाम, श्रीलंकालगायत मुलुकबाट सीधा भैरहवा उडान हुनेमा क्यान विश्वस्त छ । 

विमानस्थलको व्यवस्थापन र मर्मत–सम्भार क्यानले नै गर्नेछ । अहिले आन्तरिक विमानस्थलमा कार्यरत कर्मचारी र जनशक्ति थपेर विमानस्थल सञ्चालनको तयारी भइरहेको छ । ग्राउन्ड ह्यान्डलिङ सेवाका लागि नेपाल वायुसेवा निगमलाई नियुक्त गरिएको छ । 

विमानस्थल निर्माण प्रक्रिया

  •   डेढ दशकअघि गौतमबुद्ध विमानस्थल स्तरोन्नतिको गृहकार्य
  •   एडिबीसँग सहुलियतपूर्ण ऋण सम्झौता
  •   सन् २०१४ नोभेम्बरमा चिनियाँ कम्पनीसँग ६ अर्ब २२ करोडमा विमानस्थल निर्माण ठेक्का सम्झौता
  •   सन् २०१५ जनवरीदेखि निर्माण सुरु गरेर २०१७ डिसेम्बरसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य
  •    सन् २०१५ अप्रिलमा विनाशकारी भूकम्प र लगत्तै नाकाबन्दीको अवरोध
  •   सन् २०१७ डिसेम्बरमा २७ प्रतिशत काम सम्पन्न
  •   सन् २०१८ मा सन्तोषजनक काम नभएको भन्दै एडिबी असन्तुष्ट 
  •   क्यानले निर्माणलाई तीव्रता दिएपछि एडिबी सम्झौताबमोजिम रकम दिन सहमत
  •   ६ फागुन २०२२ देखि क्यालिब्रेसन फ्लाइट सुरु हुँदै
  •   आगामी वैशाखभित्र परीक्षण उडान गर्ने लक्ष्य
  •   २ जेठ २०७९ बुद्ध पूर्णिमाका दिनबाट नियमित उडान गर्ने लक्ष्य 
  •  अहिलेसम्म मुआब्जासहित ३० अर्ब खर्च