मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
हिमालयन शेर्पाविरुद्ध बल अगाडि लैजाँदै एनआरटीका राजेश परियार । तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२०७८ फाल्गुण २ सोमबार ०८:५९:००
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

लिगमा चारै क्लबले अंक बाँडे

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ फाल्गुण २ सोमबार ०८:५९:००

सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको दशौँ चरणअन्तर्गत आइतबार दशरथ रंगशालामा दुई खेल भएका छन् । संयोगले दुवै खेलमा प्रतिस्पर्धा गरेका चारै क्लबहरूले गोलरहित बराबरी खेल्ने समान एक–एक अंक बटुलेका छन् । हिमालयन शेर्पा र न्युरोड टिम (एनआरटी)बीचमा कुनै गोल भएन । विभागीय नेपाल एपिएफ र संकटा क्लबबीचको खेल पनि गोलरहित बराबरी नै निस्कियो । लिगमा छैटौँ बराबरी नतिजा निकालेको संकटा १५ अंकका साथ पाँचौँ स्थानमा रह्यो । एनआरटी १४ अंकका साथ सातौँ स्थानमा छ । हिमालयन शेर्पाले एक स्थान सुधार गरी १२औँ स्थानमा पुगेको छ । हिमालयनले लिगमा तेस्रो बराबरी खेल्दा १२ अंक बटुल्यो । लिगको दशौँ स्थानमा रहेको एपिएफ ११ अंकका साथ नवौँ स्थानमा छ । 

एनआरटी र हिमालयनबीचको प्रतिस्पर्धा फितलो रह्यो । यद्यपि, हिमालयनको दाँजोमा एनआरटीले धेरै गोल प्रयास गरेको थियो । तर, एनआरटीका खेलाडीले मौकाको सदुपयोग गर्न नसक्दा एक अंकमै सीमित भयो । १९औँ मिनेटमा सनम लिम्बूको क्रसमा स्टेफन समीरले डिबक्सभित्र प्रहार गरेको बललाई हिमालयनका गोलरक्षक दीप कार्कीले बचाए । काउन्टर एट्याक्टमा हिमालयनका कप्तान विश्वास श्रेष्ठले डिबक्सभन्दा २० यार्ड टाढाबाट प्रहार गर्दा फ्रिकिकलाई एनआरटीका गोलरक्षक अजित प्रजापतिले क्रसबारमा पन्च गर्दै क्लियर गरे । पहिलो हाफको इन्जुरी समयमा हिमालयनले राम्रो गोलको अवसर प्राप्त गर्‍यो । हिमालयनका कप्तान विश्वासले डिबक्सभित्र विसन गुरुङलाई सटिक पास दिएका थिए । तर, विसनले विश्वासबाट प्राप्त बललाई भेटाउन सकेनन् । एनआरटीका गोलरक्षक प्रजापतिले डाइभ गर्दै टोलीलाई गोल खानबाट बचाए । 

संकटाको गोल प्रयास
प्रतिस्पर्धामा एपिएफका जापानिज गोलरक्षक युया करियामाले उत्कृष्ट प्रदर्शन गरेका थिए । उनका केही उत्कृष्ट क्लियरका कारण नै एपिएफले संकटालाई गोलरहित बराबरीमा रोक्न सफल भएको हो । ११औँ मिनेटमा संकटाका फोडे फोफानाको प्रहारलाई एपिएफका कुरियामाले डाइभ दिँदै बचाएका थिए । ३४औँ मिनेटमा एपिएफका कप्तान नवीन लामाको कर्नरमा अर्मान्ड विनोङको ओपन हेडिङ गोल प्रयास क्रसबारमाथि गएको थियो । 

६७औँ मिनेटमा संकटाका ग्लोरीले डिबक्स क्रस पास निकालेका थिए । उत्तम राईको हेडिङ गोल प्रयासलाई एपिएफका गोलरक्षक करियामाले बचाए । ७४औँ मिनेटमा आवास लामिछानेले संकटाका गोलरक्षक राजाबाबु थापाविरुद्ध वान भर्सेज वानको अवस्थासमेत गोल गर्न सकेनन् । एपिएफ लगातार सात खेलमा अपराजित रहेको छ । लिगको पहिलो तीन चरणसम्म एपिएफले लिगमा अंक चढाएको थियो । एपिएफले थ्री स्टारलाई बराबरीमा रोक्दै चौथो चरणबाट अंक बटुलेको हो । संकटाको नवौँ चरणमा अपराजित यात्रा रोकेको थियो । 

मनीष खतरामुक्त
लिगअन्तर्गत दशौँ चरणमा च्यासलविरुद्धको प्रतिस्पर्धाका गम्भीर घाइते भएका मच्छिन्द्र क्लबका स्ट्राइकर मनीष डाँगी खतरामुक्त भएका छन् । च्यासलका खेलाडीसँग ठोकिएपछि मनीष मैदानमै बेहोस भएर ढलेका थिए । दशरथ रंगशालामा १० मिनेटको प्राथमिक उपचारपछि मनीषलाई मैदानबाट ब्लुक्रस अस्पताल पुर्‍याइएको थियो । मनीषको आवश्यक सबै परीक्षण सकिएको अस्पतालले जनाएको छ । अस्पतालले उनी खतरामुक्त भएको जनाएको छ । मनीषलाई ४८ घन्टाको मेडिकल अब्जर्भेसनमा राखिएको छ । ‘उनको टाउको र घाँटीको सिटिस्क्यान गरिएको दुवैको रिपोर्ट सामान्य छ, इसिजी र इको परीक्षणमा पनि खराबी देखिएको छैन,’ मच्छिन्द्रका फिजियो सुरज भुसालले भने, ‘दायाँ कानमाथि एक सेन्टिमिटर चोट लागेको छ । दुईवटा टाँका लगाइएको छ ।’ 

सुनील बलको स्थानमा मैदानभित्र प्रवेश गरेको तेस्रो मिनेटमै मनीष च्यासलका यान्निकसँग ठोकिएका थिए । त्यसपछि उनी गम्भीर कन्कसन इन्जुरी (टाउकोमा चोट) बाट गुज्रिए । नेपाली फुटबलकै उदीयमान स्ट्राइकर मनीषको घटनाले धेरैलाई युरोकप २०२० मा मैदानभित्रै हृदयाघात भएका डेनमार्ककका खेलाडी क्रिस्टियन इरिक्सनलाई सम्झिन बाध्य बनाए । 

एनएसएलमा तीन टोली थपिए
नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसइएम)को आयोजनामा हुने नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणमा तीन टोली थपिएका छन् । दोस्रो संस्करणमा अब १० टोलीबीच प्रतिस्पर्धा हुने भएको छ । आयोजक एनएसइएमले आइतबार पत्रकार सम्मेलनमार्फत थपिएका नयाँ तीन टोलीको घोषणा गरेको हो । जसमा झापा ११ एफसी, स्पोर्टिङ इलाम दी मेची र वीरगन्ज युनाइटेड एफसी रहेका छन् ।