१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडौँ
२०७८ माघ २८ शुक्रबार १०:०२:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

अनुसन्धानको निष्कर्ष : प्रोटिनयुक्त शाकाहारी भोजनले १०–१३ वर्ष बढाउँछ आयु

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
२०७८ माघ २८ शुक्रबार १०:०२:००

कम उमेरमै भोजनको बानी परिवर्तन गर्दा १३ वर्षसम्म आयु वृद्धि हुने एउटा अध्ययनले देखाएको छ । पिएलओस मेडिसिन जर्नलमा मंगलबार प्रकाशित अध्ययनअनुसार रातो मासु एवं प्रशोधित खानेकुरा बढी समावेश हुने पश्चिमा भोजनशैलीलाई कम गरी फलफूल, ताजा तरकारी, गेडागुडी, होल ग्रेन (नपिसी खान मिल्ने अनाज) एवं ड्राइ फुड्स समावेश गर्दा महिलाको आयु १० वर्षसम्म र पुरुषको आयु १३ वर्षसम्म थपिन सक्छ । पिएलओएस मेडिसिन क्यालिफोर्निया, सनफ्रान्सिस्को र क्याब्रिजमा रहेर पोषणसम्बन्धी अनुसन्धानमा संलग्न प्रतिष्ठत संस्था हो । 

पिएलओएसले भोजनको छनोटले महिला र पुरुषको आयुमा कसरी प्रभाव पार्छ भन्ने अध्ययन गर्न एउटा मोडल नै तयार गरेको थियो । यसरी गरिएको अध्ययनले सिमी, मटर, दलहन, होल ग्रेन्सलगायतका गेडागुडी एवं ओखर, बदाम, पेस्ताजस्ता प्रशस्त प्रोटिनयुक्त चिजहरू खाने व्यक्ति सबभन्दा धेरै दीर्घजीवी पाएको हो । यो अध्ययनले महिलाले २० वर्षको उमेरदेखि वनस्पतिमा आधारित प्रोटिनयुक्त खानेकुरा अनुशरण गरे उनको उमेर १० वर्षसम्म र पुरुषले अनुशरण गरे आफ्नो आयु १३ वर्षसम्म वृद्धि गर्न सक्ने पाएको छ ।

प्रोटिनयुक्त शाकाहारी भोजनको अनुशरणले पाको उमेरका व्यक्तिमा समेत आयु बढ्ने अध्ययनले देखाएको छ । ६० वर्ष उमेरकी महिलाले स्वस्थकर भोजन अपनाउँदा ८ वर्षसम्म आयु बढाउन सक्नेछिन् भने यही उमेरका पुरुषको आयु ९ वर्षसम्म लम्बिन सक्नेछ । अध्ययनले वनस्पतिमा आधारित भोजनशैलीबाट ८० वर्षका वृद्ध मानिसहरूले समेत लाभ पाउन सक्ने देखाएको छ । रातो मासु एवं प्रशोधित खानेकुराको बानी परिवर्तन गरी वनस्पतिमा आधारित स्वस्थकर भोजन अपनाउँदा ८० वर्षका व्यक्तिको पनि साढे तीन वर्षसम्म आयु बढ्न सक्ने पाइएको छ । भोजनमा परिवर्तनको आयुमा कस्तो प्रभाव पर्छ भन्ने अध्ययनका लागि उनीहरूले ‘ग्लोबल बर्डेन अफ डिजिजेज स्टडी’का डाटाको मेटा–एनालाइसिस उपयोग गरेका थिए । हेल्थडाटाओराजीको उक्त डाटाबेसले विश्वका २ सय ४ देशबाट संकलित मृत्युका २ सय ८६ कारण, ३ सय ६९ खाले रोगहरू, ८७ वटा जोखिमका कारकतत्‍वहरूलाई पछ्याउने गर्छ । 

असामयिक मृत्युको जोखिम घटाउने 

अध्ययनमाथि प्रतिक्रिया दिँदै प्रिभेन्टिभ एन्ड लाइफस्टाइल मेडिसिन एवं पोषणविद् डा. डेभिड काट्जले न्युयोर्क टाइम्ससँग भनेका छन्, ‘भोजनको गुणस्तरमा सुधारले जीर्ण रोग एवं असामयिक मृत्युको जोखिम घटाउने त पहिलेदेखि नै स्थापित तथ्य हो, यसको अर्थ अधिक आयु भन्ने नै हो ।’ उनी खानेकुरालाई कसरी रोकथाम औषधिका रूपमा प्रयोग गर्न सकिन्छ भन्ने अध्ययन प्रकाशित गरिसकेका चिकित्सक एवं स्वास्थ्यविज्ञ हुन् । अमेरिकाको संघीय पोषण दिशानिर्देशले स्वस्थकर जीवनका लागि भोजनमा प्रत्येक दिन आधादेखि २ कप फलफूल एवं पाँच चियाचम्चाजति ड्राइफुड्स समावेश गर्न सिफारिस गरेको छ । यद्यपि, १२ प्रतिशत अमेरिकीले पनि यो गाइडलाइन पालना नगर्ने अमेरिकाको रोग नियन्त्रण एवं रोकथाम केन्द्र (सिडिसी)को प्रतिवेदनले देखाउँछ । 

जीर्ण रोगको जोखिम कम गर्ने 

ड्रइफुड्स, गेडागुडी एवं होलग्रेनहरूमा प्रोटिनका अलवा स्वस्थकर चिल्लो, भिटामिन, खनिज एवं एन्टी अक्सिडेन्ट ‘फोटोकेमिकल’हरू हुन्छन्, जुन जीर्ण रोगको जोखिम कम गर्न अत्यन्तै लाभदायी पाइएका छन् । त्यसैगरी, बेकन, ससेज (सुँगुरको तयारी मासु)जस्ता रातो मासु र प्रशोधित खानेकुरा कम खाँदा दीर्घायुमा सघाउ पुग्ने देखिएको छ । हृदयरोग, आन्द्राको क्यान्सरलगायतका थुप्रै स्वास्थ्य जोखिमसँग रातो एवं प्रशोधित मासुको सम्बन्ध छ । ‘प्रशोधित मासुले आन्द्राको क्यान्सर हुने प्रशस्तै प्रमाण पाइएका छन् । त्यसैले सन् २०१५ यता विश्व स्वास्थ्य संगठनले यसलाई क्यान्सरको सम्भाव्य कारणका रूपमै वर्गीकरण गरेर राखेको छ,’ अक्सफोर्डका महामारीविद् टिम की भन्छन् । उनी बेलायतको स्वास्थ्य विभागमा पोषणसम्बन्धी वैज्ञानिक सल्लाहकार समितिका सदस्य पनि हुन् ।

खानामा धेरैजसो प्रोटिनयुक्त शाकाहारी भोजन समावेश गर्ने ३७ हजारभन्दा धेरै वृद्ध अमेरिकीमाथि गरिएको सन् २०२० को एउटा अध्ययनले पनि यस्तो भोजन कम गर्ने मानिसहरूको तुलनामा उनीहरूमा हृदयरोगबाट मृत्युको सम्भावना २९ प्रतिशतले कम पाएको थियो । उक्त अध्ययनमा संलग्न हार्वर्ड विश्वविद्यालयका पोषण विभाग अध्यक्ष डा. फ्रान्स हु भन्छन्, ‘रातो र प्रशोधित मासुलाई शाकाहारी प्रोटिनले विस्थापित गर्दा लाभ अझ धेरै हुन्छ ।’ रातो र प्रशोधित मासुलाई कुखुरा, माछा एवं वनस्पतिमा आधारित प्रोटिनले विस्थापन गर्नु भोजनमा सुधार गर्ने एउटा तरिका रहेको उनको धारणा छ । भटमास, चना, दलहन एवं गेडागुडी, तोफु, नट्स, बियाँजन्य खानेकुराका साथै ब्रोकाउलीलगायतका केही तरकारीमा पनि प्रोटिनको मात्रा उच्च पाइन्छ ।