मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ माघ १९ बिहीबार
  • Thursday, 02 February, 2023
टेकराज थामी काठमाडाैं
२०७९ असोज १५ शनिबार ०६:२५:००
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

लाल मोहम्मद हत्या अनुसन्धानको निष्कर्ष : विगतकै शृंखलाबद्ध हत्याको निरन्तरता

फैजन अहमद, जमिम साह, युनुस अन्सारी र पछिल्लोपटक लाल मोहम्मदमाथि गोली प्रहारका शैली र घटना प्रकृति एकै खालका छन् । अनौठो संयोग ! चारवटै गोलीकाण्डमा प्रहरी अनुसन्धानको निष्कर्ष पनि लगभग उस्तै छ ।

Read Time : > 3 मिनेट
टेकराज थामी, काठमाडाैं
२०७९ असोज १५ शनिबार ०६:२५:००

फैजन अहमद, जमिम साह, युनुस अन्सारी र ११ दिनअघि गोठाटारमा हत्या गरिएका लाल मोहम्मदमाथि गोली प्रहारका शैली र घटना प्रकृति (मोडस अपरेन्डी) एकै खालका थिए । अनौठो संयोग ! चारवटै गोलीकाण्डमा प्रहरी अनुसन्धानको निष्कर्ष पनि एकै खालको देखिएको छ । 

गत ३ चैतमा कागेश्वरी–मनोहरा नगरपालिका– ८ गोठाटारस्थित एडभेन्चर इन्टरप्राइजेज गार्मेन्टअगाडि सर्लाही सिसौरिया– ६ का ५८ वर्षीय लाल मोहम्मद भनिने मोहम्मद दर्जीलाई लखेटी–लखेटी गोली प्रहार भयो । उपचारका क्रममा मृत्यु भएका उनको हत्या सम्बन्धमा भोलिपल्टै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी जनक भट्टराईको नेतृत्वमा छानबिन समिति बन्यो ।

करिब १० दिनको अनुसन्धानपछि समितिले पत्रकार सम्मेलनमार्फत हत्यामा संलग्न वीरगन्ज महानगरपालिका– १६ का २१ वर्षीय महोरम मियाँ, वीरगन्ज– १६ कै १९ वर्षीय रेहान मियाँ र मकवानपुरकोबकैया गाउँपालिका– १ की २१ वर्षीया सुमी भनिने सुष्मिता स्याङ्तानलाई सार्वजनिक गर्‍यो । 

प्रहरीका अनुसार पक्राउ परेकामध्ये महोरम र रेहान हतियार व्यवस्थापक हुन् भने सुमी ‘रेकी’ गर्ने भूमिकामा थिइन् । तर, गोली प्रहारमा संलग्न मुख्य अभियुक्तको सम्बन्धमा प्रहरीले ‘क्लु’समेत फेला पर्न सकेन । पत्रकार सम्मेलनमा अनुसन्धानको नेतृत्वकर्ता एसएसपी भट्टराईले भने, ‘गोली प्रहारमा संलग्न अभियुक्तबारे अनुसन्धान बाँकी नै छ । उनीहरूको को हुन् ? किन हत्या गरियो ? यो खुल्न सकेको छैन ।’ हतियार व्यवस्थापक र ‘रेकी’को भूमिका देखिएका तीनै युवा नेपाली हुन् । उनीहरूको पारिवारिक पृष्ठभूमि पनि सामान्य देखिन्छ । संयोग कस्तो छ भने पक्राउ परेका तीन अभियुक्त विद्यार्थी हुन्, जसको ‘ट्र्याक रेकर्ड’ आपराधिक देखिन्न । 

मोहम्मदकै शैलीमा ९ असोज ०७९ मा घन्टाघरनजिकैको सडकमा दिनदहाडै फैजन अहमदमाथि गोली प्रहार भएको थियो । उपचारका क्रममा उनको वीर अस्पतालमा मृत्यु भयो । प्रहरीले घटनाको अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का तत्कालीन डिआइजी उपेन्द्रकान्त अर्यालको संयोजकत्वमा छानबिन समिति बनायोे । करिब १० दिनको अनुसन्धानपछि पत्रकार सम्मेलनमार्फत अर्यालले घटनामा संलग्न भएको भन्दै एक अभियुक्त सार्वजनिक गरे । उनी थिए– काठमाडौंमा ट्याक्सी चलाउने रामेछाप गोश्वाराका २७ वर्षीय धनबहादुर थापामगर । गोली प्रहारमा संलग्न अभियुक्तबारे भने सिआइबी मौन थियो । किनकि अभियुक्त पक्राउ गर्न सकेको थिएन । 

२४ माघ ०६६ मा लाजिम्पाटस्थित फ्रान्सेली दूतावाससामुन्नेको सडकमा दिनदहाडै सञ्चार उद्यमी जमिम साहमाथि पनि गोली प्रहार भयो । याक एन्ड यती होटेलबाट उनी निवास फर्कंदै थिए । यही क्रममा मोटरसाइकलमा आएका अपरिचितले जमिमसवार गाडीअगाडि रोकेर टाउको र छातीमै गोली बर्साएका थिए । 

यो घटनाको छानबिन गर्न पनि प्रहरीले समिति बनायो । झन्डै १५ दिनको अनुसन्धानपछि प्रहरीले प्रतिवेदन सार्वजनिक गर्‍यो । हत्याका लागि व्यवस्थापकीय भूमिका निभाउने नेपाल प्रहरीका तत्कालीन सइ प्रकाश क्षेत्री, लक्ष्मण धमला, प्रकाश खड्का, पूर्वडिएसपी जगदीश चन्द र ठमेलका श्रीकृष्ण पौडेललाई दोषी करार गर्‍यो । तर, गोली प्रहारमा संलग्न अभियुक्तको सम्बन्धमा प्रहरीले छेउटुप्पो नै पत्ता लगाउन सकेन । नक्कली भारतीय नोट कारोबारमा सुन्धारास्थित केन्द्रीय कारागारमा कैद जीवन बिताइरहेका अर्का सञ्चार उद्यमी युनुस अन्सारीमाथि २६ फागुन ०६७ मा गोली प्रहार भयो । फायर मिस हुँदा गोली उनको टाउको छोएर मात्रै पार भयो । करागारभित्र रहेको हुँदा युनुस गोलीकाण्डमा संलग्न अभियुक्त जसजित सिंह भनिने मनमित सिंह भने पक्राउ परे । यो हत्याको अनुसन्धानका लागि पनि प्रहरीले समिति बनायो । तर, पक्राउ परेका मनमितबाहेक प्रहरीको हात केही लागेन । 

यस्तै प्रकृतिको घटना १९ असोज ०६६ मा नेपालगन्जमा पनि भयो । व्यवसायी अब्दुल मजिद मनिहारमाथि गोली प्रहार भएको थियो । उनको पनि टाउको र छातीमै गोली हानिएको थियो । १५ असार ०५५ मा पूर्वमन्त्री मिर्जा दिलसाद वेगको कालोपुलस्थित निवास यही प्रकृतिले हत्या भयो । दुवै घटनामा प्रहरीले उच्चस्तरीय छानबिन समिति बनायो । व्यवस्थापकीय भूमिकामा रहेका निम्छरा नेपालीबाहेक प्रहरी मुख्य अभियुक्तसम्म पुग्न सकेन ।

लाल मोहम्मदको पृष्ठभूमिबारे नेपाल प्रहरी पहिलादेखि नै जानकार थियो । किनकि विशेष ब्युरोको स्थापना यस्तै गतिविधिमाथि निगरानी राख्नका लागि हो । मोहम्मद चार वर्षदेखि गोठाटारमा गार्मेन्ट चालाएर बस्दै आएका थिए, जुन बौद्ध क्षेत्रको ठीक पारिपट्टि छ । पछिल्लो एक वर्षयता विशेषगरी बौद्ध क्षेत्र युरेनियमको प्रसंगले चर्चामा छ । युरेनियम करोबारकै अभियोगमा विशेष ब्युरोकै टोलीले गत ४ चैतमा ललितपुरका नवराज महतसहितको टोलीलाई पक्राउ गरेको थियो । 

पक्राउ पर्ने भारतीय नागरिक ६३ वर्षीय उपेन्द्रकुमार मिश्र र ४४ वर्षीय राजु ठाकुर पनि थिए । नेपालभित्र उनीहरूले नै युरेनियमजस्तो देखिने वस्तु भारतको गयाबाट भित्र्याएको अनुसन्धानबाट खुलेको थियो, जसलाई उनीहरूले बौद्ध–जोरपाटी नारायणटारस्थित एएनजे होटेलमा लुकाइराखेका थिए । धातु लुकाउन उनीहरूले होटेलको ४०२ र ४०४ नम्बरका दुईवटा कोठा असोजको दोस्रो सातादेखि नै बुक गरेका थिए । पछि उक्त वस्तु युरेनियम नभएको पुष्टि भएको थियो । पक्राउ परेका सबैलाई प्रहरीले छाडेको थियो । त्यसयता युरेनियमका नाममा भारतीय खुफिया एजेन्सीका गुप्तचर मात्र होइन, आइबी (इन्टेलिजेन्स ब्युरो)का सुुरक्षाकर्मीको अवागामनसमेत बौद्ध क्षेत्रमा बाक्लो गरी बढेको थियो । 

 स्मार्ट हत्यारा अनुसन्धान फितलो 
पछिल्ला २५ वर्षमा मुस्लिम समुदायका व्यक्तिका जति पनि हत्या घटना भए, सबैमा आपराधिक पृष्ठभूमिका भारतीय सार्पसुटर प्रयोग भएका थिए । संयोग कस्तो भने यस्ता कतिपय सुटर त भारतीय कारागारभित्र कैद जीवन बिताइरहेका पनि थिए । उनीहरूमा गोली प्रहारका शैलीदेखि घटनापछि फुत्कने चातुर्यतासमेत ‘स्मार्ट’ देखिथ्यो, जसको तुलनामा प्रहरीको अनुसन्धान कमजोर देखिन्थ्यो । त्यसैले घटनाका मुख्य अभियुक्त सजिलै फुत्कन सके । प्रहरीको फन्दामा भने भरियाका रूपमा प्रयोग भएका सामान्य नेपाली मात्र परे । अनुसन्धानको निष्कर्ष पनि ‘फासफुस’ भयो । 

अनुसन्धानको प्रकृति र पक्राउ अभियुक्तको पृष्ठभूमि हेर्दा लाल मोहम्मद हत्या अनुसन्धानको निष्कर्ष पनि योभन्दा फरक देखिन्न । नेपाल प्रहरीका पूर्वडिआइजी मल्लले यो हत्या पनि विगतकै शृंखला भएको हुँदा अनुसन्धानको निष्कर्ष एउटै देखिनु अस्वाभाविक नभएको बताए । ‘विगतमा भएका हत्याका प्रकृति तथा उद्देश्य र मोहम्मद हत्या एकै खालका देखिन्छन् । त्यसैले सबै घटना एकै ठाउँबाट भएको सहजै बुझ्न सकिन्छ । अब पछिल्लो हत्या अनुसन्धानको निष्कर्ष उस्तै आउनु अनौठो होइन । कतिपय विषयमा खुल्न सकिन्न,’ उनले भने ।