१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
Invalid date format o८:३८:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

थाहामा प्याराग्लाइडिङ योजना अलपत्र

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o८:३८:oo

मकवानपुरको पर्यटकीय क्षेत्र थाहा नगरपालिकामा प्याराग्लाइडिङ योजना अलपत्र परेको छ । थाहामा दुई वर्षअघि नै व्यावसायिक रूपमा परीक्षण उडान सफल भए पनि अहिलेसम्म नियमित उडान हुन नसकेको हो । 

२०७६ सालमा थाहा नगरपालिका–१० विसिङ्खेलस्थित आइतबारे चौरबाट गरिएको परीक्षण उडान सफल भएको थियो । विसिङ्खेलबाट पाइलट सागर क्षेत्रीले प्याराग्लाइडिङको परीक्षण उडान गरेका थिए । 

थाहामा प्याराग्लाइडिङको सम्भावना कम भएको जानकारीका कारण योजना अलपत्र परेको नगरप्रमुख लवशेर विष्टले बताए । ‘प्याराग्लाइडिङको सफल परीक्षण भए पनि व्यावसायिक रूपमा अघि बढाउने सम्भावना अत्यन्त कम भन्ने हामीले जानकारी पायौँ ।’ उनले भने, ‘त्यसकारण पनि योजना अलपत्र परेको हो, तर यो असफल नै हुने भन्ने छैन, अझै पनि विभिन्न तरिकाबाट अध्ययन भइरहेको छ । केही समय अझै लाग्न सक्छ, प्याराग्लाइडिङ योजना अघि बढ्छ ।’

नगरप्रमुख विष्टले नेपाल पर्यटन बोर्डबाट टिस्टुङ प्याराग्लाइडिङ प्रालिले अनुमति पाए पनि नागरिक उड्डययन प्राधिकरणबाट इजाजत नपाएको र इजाजतका लागि गरिएको अध्ययनमा सम्भावना केही कम देखिएकाले योजना ओझेलमा परेको प्रतिक्रिया दिए । उनले प्राधिकरणलाई बारम्बार पत्राचार गरिँदा पनि बेवास्ता गर्दा दुई वर्ष बितेको बताए । 

विद्युतीय तारको नजिक हुन नहुने, उडान भर्ने र अवतरणको मापदण्ड सबै पूरा गर्न सक्ने स्थान निश्चित नहुँदा सम्भावना कम भए पनि थाहामा उचाइ बढी भएका स्थान धेरै भएकाले कतै न कतैबाट प्याराग्लाइडिङ गराउन सकिने विष्टको दाबी छ । टिस्टुङमा उडेको प्याराग्लाइडिङले अधिकतम पाँच हजार फिटसम्म मात्र उचाइ लिन सक्ने जनाइएको थियो । यसअघि थाहा नगरपालिकाका–२ कुटीप्वाकलबाट पनि प्याराग्लाइडिङ गर्न सकिने प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको थियो ।

सफल परीक्षणपछि पर्यटकीय क्षेत्र आग्रा, टिस्टुङ, दामन, पालुङ, बज्रबाराही र विसिङ्खेलमा पर्यटकको आवागमन बढ्ने अनुमान गरिएको थियो । थाहापछि मानव निर्मित ताल कुलेखानी जलाशय इन्द्रसरोवरमाथि प्याराग्लाइडिङको सफल परीक्षण गरिएको थियो । 

वैशाख ०७६ मा इन्द्रसरोवर गाउँपालिकाले पनि पर्यटन प्रवर्द्धन गर्ने भन्दै प्याराग्लाइडिङको परीक्षण उडान गरेको थियो । तर, यहाँ पनि व्यावसायिक रूपमा प्याराग्लाइडिङ उडान अघि बढ्न सकेको छैन । इन्द्रसरोवर गाउँपालिका–१ मार्खुको इन्द्रसरोवर तालमाथि गुम्बाडाँडाबाट प्याराग्लाइडिङको सफल परीक्षण गरिएको थियो ।