१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७८ माघ १० सोमबार १९:१२:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अपरेसन एनकी : नाकाबाट पक्राउ परे प्रहरीकै मोटरसाइकल लिएर फरार कैदी

Read Time : > 1 मिनेट
२०७८ माघ १० सोमबार १९:१२:००

दाङको घोराही  कारागारबाट फरार रहेका कैदीलाई भारतीय नाकाबाट पक्राउ गरिएको छ। जिल्ला प्रहरी कार्यालय दाङले सोमबार पत्रकार सम्मेलन गरि नेपाल–भारत सीमानाका जमुनाहाबाट फरार  कैदीलाई पक्राउ गरिएको जानकारी  दिएको हो। कर्तव्यज्यान मुद्दामा २० वर्ष कैद फैसला तोकिएर ७  वर्ष  कैद भुक्तान गरिसकेका राजपुर गाउँपालिका वडा नं. ३ करंगा निवासी २९ वर्षीय यमराज परियार कारागारबाट गएको पुस ८ गते फरार रहेका थिए। 

बिहान ११ बजेतिर छालाको समस्या भएको भनी कारागारबाट निस्केका उनी सोही दिन प्रहरीकै मोटरसाइकल लिएर फरार थिए। मोटरसाइकल भेटिए पनि उनी भेटिएका थिएनन्। त्यसपछि छानबिन तथा खोजतलास समिति र ‘अपरेसन एनकी’ बनाएर अनुसन्धान गर्दा सोमबार नेपालगन्ज उपमहानगरपालिका वडा नं. १५ जमुनाहा नाकाबाट पक्राउ गरिएको हो। उनी भागेर भारत जाने क्रममा भारतीय प्रहरीसमेतको सहयोगमा उनलाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताए।

काफ्लेका अनुसार फरार कैदी  परियारले  कारागारभित्रकै धेरै व्यक्तिलाई प्रलोभनमा पारेको  समेत  खुलासा  भएको बताए।‘उनी कारागारभित्र कैदीका चौकीदार पनि भएका थिए, चौकीदार भएपछि त्यसको दुरुपयोग गर्दै उनले  केही व्यक्तिलाई आर्थिक  प्रलोभन पार्न सफल भएको खुलेको छ’, प्रहरी प्रमुख काफ्लेले भने, ‘यसमा  थप अनुसन्धान भइरहेको छ।’ 

कैदी परियारलाई उपचारका लागि लैजान खटिएका प्रहरी जवान धनबहादुर चौधरीसहित उनीहरू अस्पताल नगएर सीधै होटेलमा  गएका  थिए। होटेलमा केटीहरूको प्रयोग गरेर उनी  भाग्न सफल भएका थिए। प्रहरीको  लु  ३१ प १५० नम्बरको  मोटरसाइकल  लिएर उनी फरार थिए। त्यसको भोलिपल्ट मोटरसाइकल लमहीको मुसोटस्थित जंगलम भेटिएको थियो। दाङका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालको नेतृत्वमा खटिएको टोलीसहित  तालुक प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखा र भारतीय  प्रहरी समकक्षीहरूको समन्वयमा  खोजतलासबाट उनलाई पक्राउ  गर्न  सफल भएको उनको भनाइ छ। प्रहरीका अनुसार कैदी फरार रहेपछि  धेरै समय जंगलमा लुकेको खुलेको छ। उनलाई पक्राउ गरी अहिले  थप विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । 

कैदी भगाउन भूमिका खेलेको भन्दै  प्रहरी जवान धनबहादुर चौधरीलाई  पुर्पक्षका लागि  कारागार चलान गरिएको छ। अन्य  भने धरौटीमा  छुटेका छन्। कैदी भगाउन सहयोग  गरेको भन्दै ७ जना विरुद्ध मुद्दा दर्ता गरिएको थियो। कारागार ऐन २०१९ को दफा २४ को ३ अनुसार कैद म्याद  ठेकिएको कैदी भागेमा पक्राउ  परेपछि निजलाई बाँकी कैदको डेढी बढाई  कैद  सजायको व्यवस्था रहेको छ।  

दाङका प्रमुख  जिल्ला अधिकारी हिरालाल रेग्मीले  फरार कैदी  पक्राउ गर्न सफल भएको भन्दै यो कार्य  महत्वपूर्ण भएको बताए। फरार भएका कैदीले प्रेमिकाको हत्या गरेका थिए। ती कैदीलाई प्रेमिका हत्या गरेको ठहर गर्दै २० वर्ष कैद सजाय तोकिएको थियो।