१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०७८ माघ ९ आइतबार ०९:४२:००
Read Time : > 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

एकै थलोमा दर्जनभन्दा  बढी लोकनृत्यको ज्ञान 

Read Time : > 1 मिनेट
२०७८ माघ ९ आइतबार ०९:४२:००

पाँच प्रदेशका २४ जना कलाकारले एकै थलोमा दर्जनभन्दा बढी लोकनृत्यसम्बन्धी ज्ञान हासिल गरेका छन् । गत मंगलबारदेखि बुटवलको शंकर नगरमा आयोजित नृत्यनिर्देशक कार्यशाला–०७८ मा सहभागी कलाकारले यस्तो ज्ञान हासिल गरेका हुन् ।

कार्यशालामा प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक दर्जनभन्दा बढी नृत्यबारे ज्ञान दिइएको थियो । हरेक नृत्यको कार्यपत्र प्रस्तुतिसहित प्रयोगात्मक ज्ञान दिइएको कार्यक्रमका सहजकर्ता एवं सांस्कृतिक संस्थानका पूर्वमहाप्रबन्धक राजेश थापाले जानकारी दिए । 

पाँच दिनको कार्यशालामा मंगलबार प्रदेश १ बाट नृत्यनिर्देशक नगेन्द्र राईले साकेला नृत्यको कार्यपत्र प्रस्तुत र नृत्य सिकाएका थिए । यस्तै, बुधबार नृत्यनिर्देशक ओमप्रकाश बस्नेतले प्रदेश १ को राजबंशी समुदायको हुदुर दुरा नृत्य सिकाए । सोही दिन उनले मधेस प्रदेशको सामा चखेबा नृत्य पनि सिकाए । कार्यशालामा सहभागी बाँकी २३ जनाले उनका यी दुवै नृत्य सामूहिक रूपमा प्रस्तुत गरेर देखाएका थिए । 

बागमतीबाट ललितपुरका सुरेन्द्र देसारले बिहीबार अष्टमातृका नाचसम्बन्धी कार्यपत्र प्रस्तुतसहित नाच सिकाए । बिहीबार नै बागमती प्रदेशबाट नृत्यनिर्देशक मोहन तौजले काभ्रेमा प्रचलित राजारानी नाचको कार्यपत्र प्रस्तुतसहित नाच सिकाए । नाच सिकेपछि नृत्यनिर्देशक दिलु सुनार, पुनम थापाले नाच देखाएका थिए । बागमती प्रदेशबाटै प्रतिभा पुन उपस्थित हुन नसकेपछि उनको मेहेन्दो माया नाच कार्यपत्रलाई नृत्यनिर्देशक रोचक थापाले प्रस्तुत गरे । 

यस्तै, नृत्यनिर्देशक गोरे गुरुङले गण्डकी प्रदेशबाट घाटु नाचको कार्यपत्र प्रस्तुत गरे । कार्यशालामा शुक्रबार चारओटा नाचको कार्यपत्र प्रस्तुतिसँगै नाच सिक्ने र नाचेर देखाइएको भयो । गण्डकी प्रदेशबाट बमबहादुर गुरुङले कृष्ण चरित्र नाच र गुरुङ समुदायको मृत्यु संस्कारमा नाचिने छ्याडु (सेर्गा) नाचको कार्यपत्र प्रस्तुत गर्नुका साथै नाच सिकाइएको थियो । 

शुक्रबार नै लुम्बिनी प्रदेशबाट थारू समुदायको नृत्य र कार्यपत्र प्रस्तुति गरियो । कार्यपत्रसहित मुकेश गुरुङले थारू समुदायको झर्रा नृत्य, अनु रचकले रुपन्देहीकै थारू समुदायको बड्की नाच र पुनम थापाले झुमडा नाच सिकाए । कर्णाली र सुदूरपश्चिम प्रदेशका नृत्यनिर्देशकहरू कोरोना संक्रमित भएका कारण कार्यशालामा सहभागी हुन नसकेको कार्यक्रम व्यवस्थापक अनु रजकले जानकारी गराए ।

शनिबार सम्पन्न कार्यशालाको समापन कार्यक्रमका प्रमुख अतिथि एवं नृत्यनिर्देशक कमल राईले यस्ता मौलिक नृत्य प्रशिक्षणले नेपाली लोकनाचको प्रवद्र्धनमा मद्दत पुग्ने बताए । कार्यक्रममा नृत्यनिर्देशक रोचक थापालाई १५ हजार रुपैयाँसहित नृत्य संगीत प्रज्ञा प्रतिष्ठानका तर्फबाट सम्मान गरियो ।