१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
जगदीशपुर तालमा आगन्तुक चरा हेर्दै पर्यटक । तस्बिर : नयाँ पत्रिका
डिलाराम भुसाल नयाँ पत्रिका
२०७८ पौष २९ बिहीबार ०८:४५:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

पाहुना चराले चहलपहल

Read Time : > 1 मिनेट
डिलाराम भुसाल, नयाँ पत्रिका
२०७८ पौष २९ बिहीबार ०८:४५:००

विश्व सिमसार क्षेत्रमा सूचीकृत कपिलवस्तुको जयदीशपुर ताल केही दिनयता पाहुना चराले मनमोहक बनेको छ । तालमा हेर्‍यो उतै चरा देखिन थालेपछि पर्यटकको समेत भिड लागेको छ । 

मरुल, सिलसिले हाँस, बिजुला, गैरी सुनजुरे हाँस, खडखडे र सिन्दुरे हाँसको आवाजले यहाँको वातावरणमा रौनक थपेको छ । यस्तै, सुइरोपुच्छ्रे, चखेवाचखेवी, बेल्चा ठुँडे, हरिहाँस, नादुन, बगाले, सिमकुखुरा, जलेवा, सुइरो ठुँडे, मालक र हरियो टाउके हाँसको बथानले पर्यटक रोमाञ्चित हुने गरेका छन् ।

यहाँ मंसिर दोस्रो सातापछि जाडो छल्न पाहुना चराको आगमन सुरु हुन्छ । यी चरा जाडो मौसमभरि यही बसोवास गर्छन् । उत्तरी धु्रवमा हिमपात सुरुवात भएसँगै यी चरा यहाँ आइपुग्छन् । हिमपातले उता चारो नपाउने भएपछि तल्लो हिमाली भेग, पहाड र तराईका सिमसार, तालतलैया र नदीआसपास यस्ता हजारौँ चरा बसाइँ सरी आउने गर्छन् । कतिपय त बच्चा कोरलेर हुर्काएपछि मात्रै फर्किने स्थानीयको भनाइ छ । 

उत्तरी ध्रुवका मुलुकहरू रूस, चीन, मंगोेलियाका साथै युरोप, कोरिया तथा तिब्बती क्षेत्रबाट समेत आगन्तुक चरा नेपाल आउने गर्छन् । यस्तै, मध्ये एसियाका तुर्केमिनिस्तान, अजरबैजान, किर्गिस्तान र साइबेरियाबाट समेत यहाँ चरा आउँछन् । नेपालमा बर्सेनि एक सय ५० भन्दा बढी प्रजातिका चरा आउने गरेको चराविद् सोम जिसीले बताए । उनले जलवायु परिवर्तन र आहार–विहारको कमीले चरालाई समस्या परिरहेका वेला चरा बढ्नु राम्रो भएकोे बताए । 

यहाँ अहिले एक–दुई घन्टामै ४० भन्दा बढी प्रजातिका चरा देख्न सकिने अर्का चराविद् दिनेश गिरीले बताए । यो ताल एक सय ५७ हेक्टरमा फैलिएको छ । आइयुसिएन नेपालले गरेको अध्ययनअनुसार यस क्षेत्रमा ४३ प्रजातिका माछा, १० प्रजातिका उभयचर, ४२ प्रजातिका सरीसृप र ३२ प्रजातिका स्तनधारी जनावर छन् । यस्तै, तालक्षेत्रमा एक सय ६७ प्रजातिका चरा पाइन्छन् । 

त्यसमध्ये ९२ प्रजातिका रैथाने, नौ प्रजातिका गर्मीयाममा आउने, ६४ प्रजातिका चरा जाडोयाममा आउने र तीन प्रजातिका चरा आंशिक प्रवासी छन् । विश्वमै दुर्लभ वन्यजन्तु पानी बिरालो र आठ प्रजातिका चरा पनि यहाँ पाइन्छ । 

सन् २००३ मा विश्व सिमसार क्षेत्रमा सूचीकृत तालमा प्रशस्त मात्रामा चारो (चराको खानेकुरा) पाइने भएकाले चरा आउन रुचाउने बहुसरोकार मञ्च जगदीशपुरका सचिव सुन्दर पाण्डेले बताए ।