१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १८:४६:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

उकालो लाग्दै कोरोना : पिसिआरभन्दा स्वास्थ्य मापदण्ड र खोपमा जोड

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १८:४६:oo

कोरोना संक्रमण दर बढ्न थाले पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पिसिआर परीक्षणको दायरा भने बढाउन सकेको छैन। आइतबार मात्रै १,१६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा १२ हजार ६ सय ३२ जनामा मात्रै कोरोना परीक्षण गरिएको थियो। तर मन्त्रालयले पिसिआर परीक्षणभन्दा स्वास्थ्य मापदण्ड र खोप कार्यक्रममा जोड दिने तयारी गरेको छ। 

गम्भीर लक्षणबाहेकका व्यक्तिले हाल शुल्क तिरेर कोरोना परीक्षण गर्दै आइरहेका छन्। मन्त्रालयले समुदाय तथा संक्रमण फैलिएको क्षेत्रमा पुगेर पिसिआर गर्न नसक्दा संक्रमण फैलन सक्ने डर देखिएको छ। मन्त्रालयका सह-प्रवक्ता समीरकुमार अधिकारीले निःशुल्क पिसिआर गर्ने तयारी नभएको बताए। उनले लक्षण देखिएकाको मात्रै सीमित अस्पतालबाट निःशुल्क कोरोना परीक्षण गर्न पाउने जानकारी दिए। शंका लागेका वा पिसिआर परीक्षण गर्नुपर्ने व्यक्तिले आफैँ शुल्क तिर्नुपर्ने उनको भनाइ छ। ‘शुल्क नतिरी पिसिआर गर्दा निकै भद्रगोल हुन्छ, एउटै व्यक्ति धेरैपटक पिसिआर गर्न आउँछ, त्यसकारण सरकारले गम्भीर लक्षणबाहेकका व्यक्तिको पिसिआर गर्न सक्दैन,’ उनले भने, ‘स्थानीय तहले निःशुल्क एन्टिजेन परीक्षण भने गर्छन्।’ उनका अनुसार संक्रमण दर निकै बढ्यो भने आवश्यकताका आधारमा पिसिआर र एन्टिजेन परीक्षण गर्ने तयारी भने गरेको छ। ‘कोरोना संक्रमण बढ्न थालेपछि हामीले स्वास्थ्य मापदण्ड पालनामा जोड दिन अनुरोध गरेका छौँ,’ उनले भने, ‘त्यस्तै समुदायस्तरमा एन्टिजेन परीक्षण हुन्छ।’ 

उनले स्थानीय तहलाई पुग्दो मात्रामा एन्टिजेन किट हस्तान्तरण गरेको बताए। तर अहिलेलाई जनस्वास्थ्य मापदण्ड पालना गर्न र गराउन जोड दिइएको सहप्रवक्ता अधिकारीको भनाइ छ। यसबाहेक घरबाहिर निस्कँदा मास्क अनिवार्य गरिएको छ। 

२० हजार खोप केन्द्र
कोरोना संक्रमण बढेपछि सरकारले खोप केन्द्र पनि बढाउने तयारी गरेको छ। स्वास्थ्य मन्त्रालयले सकेसम्म स्थानीयको नजिक पुग्नको निम्ति खोप केन्द्र बढाउन लागेको हो। हाल देशभर १६ हजार खोप केन्द्र छन्। त्यसमा थप चार हजार खोप केन्द्र थप्ने तयारी भइरहेको सहप्रवक्ता अधिकारीले जानकारी दिए। उनका अनुसार कोरोना संक्रमण नियन्त्रण गर्नको लागि खोप र स्वास्थ्य मापदण्ड नै प्रभावकारी मानिने भएकोले त्यसमा जोड दिन लागिएको हो। ‘हामीले खोपको पहुँच स्थानीयको नजिकै पुर्‍याउनको लागि धेरैवटा खोप केन्द्र थप्ने तयारी गरेका हौँ,’ उनले भने, ‘अहिलेको प्राथमिकता खोप केन्द्र बढाउने, खोप लगाउने र स्वास्थ्य मापदण्ड परिपालना गराउने नै हो।’ उनका अनुसार स्वास्थ्य मन्त्रालयले स्वास्थ्य स्वयंसेविका र कर्मचारीलाई  समेत खोप विस्तार गरी खोप कार्यक्रमलाई प्राथमिकतामा राख्न निर्देशन दिएको छ। 

स्थानीय तहलाई एन्टिजेनको जिम्मेवारी 
स्वास्थ्य मन्त्रालयले ठूलो मासमा कोरोना संक्रमण फैलन सक्ने भन्दै आवश्यक किटको व्यवस्था गरी स्थानीय तहलाई एन्टिजेन गर्न अनुरोध गरेको छ। त्यस्तै, भारतीय नाका हुँदै आउनेलाई पनि कडाइ गर्न नेपाल प्रहरीलाई अनुरोध गरेको छ। तर नाकाबाट नेपाल प्रवेश गर्नेहरूमाथि भने पर्याप्त मात्रामा पिसिआर तथा एन्टिजेन परीक्षण गर्न सकेको छैन। समुदायस्तरमा एन्टिजेन नै प्रभावकारी मानिने भएकोले स्थानीय तहलाई उक्त जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ। नाकाहरूमा पनि थप कडाइ गर्ने तयारी भएको सहप्रवक्ता अधिकारीको भनाइ छ। उपत्यकाभित्र काठमाडौं र ललितपुर महानगरलाई एन्टिजेन परीक्षणको दायरा बढाउन अनुरोध गरिएको छ। 

स्कुलमै पुगेर बालबालिकालाई खोप लगाइँदै 
स्वास्थ्य मन्त्रालयले उपत्यकासहित ८ जिल्लाका १२–१७ वर्षसम्मका बालबालिकालाई सोमबार र मंगलबारदेखि फाइजर खोप लगाउने भएको छ। भक्तपुर, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, मकवानपुरलगायत जिल्लामा भोलिदेखि खोप लगाउने भएको छ। त्यस्तै, काठमाडौं र ललितपुरमा भने पर्सिदेखि खोप लगाइनेछ। २ सयभन्दा बढी विद्यार्थी भएको विद्यालय छ भने सोही ठाउँमै खोप कार्यक्रम सञ्चालन गरिनेछ। सो संख्याभन्दा कम विद्यार्थी भए नजिकको खोप केन्द्रबाट खोप लगाइनेछ। त्यस्तै, उपत्यकाबाहिरका अधिकांश जिल्लाका बालबालिकालाई मोडर्ना खोप लगाइएको मन्त्रालयले जनाएको छ।
 

ad
ad