एउटा चुनौतीपूर्ण अनुसन्धान पूरा गरेका छौँ : डिआइजी धीरजप्रताप सिंह

शुक्रबार, २३ पुष, २०७८
डिजिटल संस्करण

अन्तर्वार्ता

डिआइजी धीरजप्रताप सिंह निर्देशक, सिआइबी 

नेपाल प्रहरीले इतिहासकै एउटा हाइप्रोफाइल घोटलाको अनुसन्धान पूरा गरेको छ, यो अनुसन्धानको निष्कर्ष के रह्यो? 
वास्तवमै यो अनुसन्धान एकदमै चुनौतीपूर्ण थियो । भूमिसम्बन्धी विषयमा यति विस्तृत अनुसन्धान पहिला सायद कहिल्यै भएको थिएन । विभिन्न सरकारी कागजपत्र किर्ते गरेर करिब एक सय ३६ रोपनी जग्गा व्यक्तिको नाममा लगिएको हाम्रो निष्कर्ष छ । यसका लागि यथेष्ट प्रमाण हामीले संकलन गरेका छौँ । ९० वर्षअघिदेखिका कागजपत्रको अध्ययन गरेर हामीले अनुसन्धान निष्कर्षमा पुर्‍याएका छौँ । यसमा हाम्रा अनुसन्धान अधिकृतहरूको ठूलो मिहिनेत परेको छ । यो किर्ते घटनामा संलग्न दोषी ठहर हुने र सरकारको जग्गा फिर्ता आउने हाम्रो विश्वास छ । 

कसरी सरकारी कागजपत्र किर्ते भएको भेटियो ? 
मन्त्रिपरिषद्को निर्णयलाई बंग्याउनेदेखि थपघट गरिएको रहेछ । ०४७ मा मन्त्रिपरिषद्ले जफत भएको जग्गा फिर्ता दिने निर्णय गरिएकोमा अधिग्रहण गरिएको फिर्ता दिने भनेर व्याख्या गरी जग्गा फिर्ता गरिएको छ । जग्गा सट्टापट्टासम्बन्धी विषयमा एउटा कार्यालयबाट त्यसबारे निर्णय गर्ने भनिएकोमा अर्काे कार्यालयको नाम राखेर किर्ते भएको पाइयो । मोठहरूमै मोहीको नाम थपिदिने, नक्कली मोही राख्ने, सरकारी जग्गालाई गुठीको भनेर बदनियतपूर्वक उल्लेख गरिएको हाम्रो अनुसन्धानमा खुलेको छ । 

तीन सयभन्दा धेरैलाई प्रतिवादी बनाउने भनिएको छ, पक्राउ पर्नेको संख्या तीन मात्र छ, सिआइबीले पक्राउ गर्न नसकेको कि नचाहेको ? 
धेरैजसो प्रतिवादीसँग पहिले नै हामीले बयान लिइसकेका छौँ । यसमा पक्राउ गर्नुभन्दा किर्ते अभियोग स्थापित गर्ने कुरा मुख्य हो । त्यसमा हामीले धेरै मिहिनेत गरेका छौँ । अहिले पक्राउ नपरे पनि पहिले नै बयान लिएकाले मुद्दा बलियो छ । 

सचिवसम्मलाई प्रतिवादी बनाउने सुनियो, मन्त्रीलगायत राजनीतिक नेतृत्वलाई दबाबमा जोगाउनुभएको त होइन ? 
यो मुद्दा अझै अदालतमा पुगिसकेको छैन । अनुसन्धानकै क्रममा रहेकाले व्यक्तिका बारेमा म विस्तृत बोल्न चाहन्नँ । 

उच्चपदस्थ व्यक्तिहरू जोडिएको मुद्दा पर्‍यो, अनुसन्धानमा कत्तिको दबाब झेल्नुभयो ? 
त्यस्तो दबाब त आएन, तर विभिन्न किसिमबाट जिज्ञासा राख्ने चाहिँ आयो । अख्तियारले मुद्दा चलाइसकेको छ, किन फेरि मुद्दा चलाउनुपर्‍यो जस्ता जिज्ञासा राखेर सरोकारवालाबाट सोधीखोजी भने हुन्थ्यो । त्यस्ता जिज्ञासा सामान्य हुन् ।

सुझावित समाचार