१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
कञ्चनपुरको दोधारा–चाँदनी नपा–६, महाकाली सिँचाइको नहर निर्माणका लागि अवरोध गरिएको स्थान ।
मोहन विष्ट कञ्चनपुर
२o८१ जेठ ५ शनिबार १o:१८:oo
Read Time : > 2 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

महाकाली सिँचाइ तेस्रो चरण निर्माणमा अवरोध  

Read Time : > 2 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार १o:१८:oo

महाकाली र जोगबुढा नदीले उर्वरा भूमि क्षयीकरण भएको भन्दै नहरभन्दा तटबन्ध बनाउन स्थानीयको माग

महाकाली सिँचाइ तेस्रो चरणले कञ्चनपुरको दोधारा–चाँदनीमा सिँचाइका लागि नहर निर्माण गर्न सर्भे सुरु गरेपछि स्थानीयले अवरोध गरेका छन् । आवश्यक परेका वेला नहर निर्माण नभएको र सबैले घरघरमा  भूमिगत सिँचाइ गर्न डिप–ट्युबेल निर्माण गरेपछि मात्रै सरकारले नहर ल्याउनका लागि काम अघि बढाएको भन्दै उनीहरूले असन्तुष्टि पोखेका हुन् ।

०२२ सालदेखि दोधारा–चाँदनी नगरपालिका–६, दोधारा बसोवास गर्दै आएका निर्मलसिंह पहारेले सिँचाइका लागि पानी अभाव भएका वेला सरकारले चासो नदिएको र अहिले सबै किसानले सिँचाइका लागि घरघरमा डिप–ट्युबेल निर्माण गरेपछि काम सुरु गरेको भन्दै असन्तुष्टि जनाए । ‘जतिवेला नहरको खाँचो थियो, उतिवेला सरकारले नहर निर्माण गरिदिएन,’ उनले भने, ‘अहिले सबै किसानको घरघरमा सिँचाइ छ, अब सिँचाइको काम अघि बढाइरहेको छ ।’ 

०२२ सालदेखि नै दोधारा–चाँदनी नगरपालिका–९ मा बसोवास गर्दै आएका कुवरसिंह नेगीले पनि नहर निर्माणभन्दा पनि तटबन्ध निर्माण गर्न सरकारलाई सुझाब दिए । ‘पहिले नहरको आवश्यकता थियो,’ ‘उनले भने, ‘उतिवेला सरकारले नहर बनाइदिएन, अहिले त हामी सबैका घरघरमा सिँचाइ सुविधा छँदै छ ।’ 

गाउँको पूर्वतर्फ महाकाली र पश्चिमतर्फ जोगबुढा नदीले बर्सेनि कटानी गर्दै उर्वरा भूमि क्षयीकरण भइरहेको बताउँदै उनले भएको भूमि संरक्षणका लागि तटबन्ध निर्माणमा जोड दिए । ‘यसै पनि गाउँमा जनसंख्या वृद्धि भइरहेको छ, मानिस छुट्टिएर जमिनभन्दा पनि अब घडेरी मात्रै बाँकी छन्,’ उनले भने, ‘गाउँको बीच भएर आउने नहरले सिँचाइभन्दा बलौटे जमिन झन् क्षयीकरण गर्छ ।’ मूल नहर, शाखा नहर निर्माणले जमिनसमेत नासिने भएकाले दोधारा–चाँदनीका स्थानीयलाई विद्युत् सिँचाइमा सहुलियत दिनुपर्ने उनको सुझाब छ । 

दोधारा–चाँदनीका युवा पूरक थापा (मगर)ले सिँचाइको आवश्यकताभन्दा तटबन्ध बनाउनुपर्नेमा जोड दिए । ‘गाउँमा सिँचाइ छ, स्थानीय, प्रदेश संघीय सरकारको अनुदानसहित स्थानीय किसानले आफ्नै लगानीमा समेत नहर निर्माण गरेका छन्,’ उनले भने, ‘अब सिँचाइका लागि ठूलो लगानी गरेर नहर निर्माण गर्नुभन्दा किसानलाई विद्युत् महसुलमा छुट दिनुपर्छ ।’ चुनावको मुखमा आएर दोधारा–चाँदनीमा नहर निर्माणमा सर्भेको नाटक मञ्चन गरेर केही दल र तिनका नेताहरूको षड्यन्त्र भएको स्थानीयको बुझाइ छ । स्थानीयले चुनावकै मुखमा नहरको सर्भे गर्न लगाउने काममा सिँचाइका कर्मचारीसमेत मतियार बनेको आरोप लगाएका छन् । स्थानीयले जनताको मागअनुरूप काम गर्नसमेत आग्रह गर्दै सर्भेको काममा अवरोध गरेपछि महाकाली सिँचाइ आयोजना ब्याक  भएको छ । 

दोधारा–चाँदनी नगरपालिका–१, स्याउलेदेखि सर्भे गरिरहेको महाकाली तेस्रो चरणको काममा १, २, ६ मा विवाद आएपछि काम रोकिएको छ । महाकाली सिँचाइ तेस्रो चरण आयोजनाका प्रवक्ता इन्जिनियर मोहनराम टेलरले स्थानीयको अवरोधले सर्भेको काम रोकिएको बताए । ‘यसअघि सन् ०१४ मा पनि सर्भे भएको थियो,’ उनले भने, ‘सोही अलाइनमेन्टका आधारमा अहिले पनि नहर निर्माण गर्न सर्भे काम गरिएको हो, तर स्थानीयले रोके ।’ उनका अनुसार दोधारा–चाँदनीमा हेड टू टेलमा निर्माण हुने नहरको सर्भेका लागि आरागन मेक हाइडल एन्ड मल्टी सर्भिस प्रालिले १९ लाख लागतमा सर्भेको काम पाएको थियो । २६ चैत ०७७ देखि २५ कात्तिक ०७८ मा म्याद सकिएको थियो ।

कन्सल्टेन्सीमार्फत भइरहेको सर्भेको काममा स्थानीयले पुस पहिलो सातादेखि अवरोध गरेका हुन् । स्थानीयमा बुझाइ र विस्थापित हुने डरका कारण विरोध गरिरहेको महाकाली सिँचाइका प्रवक्ता टेलरले बताए । ‘हामीले जनप्रतिनिधिमार्फत स्थानीयलाई सिँचाइको महत्वबारे सम्झाउने थुप्रै प्रयास गर्‍यौँ, तर उनीहरूले मानेका छैनन्,’ उनले भने, ‘स्थानीयले नै अवरोध गरेपछि काम अघि बढ्ने कुरै भएन ।’ दोधारा–चाँदनी नगरका मेयर वीरबहादुर सुनारले केही स्थानीयले नबुझेकाले समस्या भएको बताए । ‘नहरको काम अघि बढाउनुपर्छ,’ मेयर सुनारले भने, ‘नहर आएपछि किसानलाई थप सुविधा हुन्छ ।’

महाकाली सन्धिमा नेपालका तर्फबाट अहिलेकै प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय तत्कालीन प्रधानमन्त्री पिभिनरसिंह रावतले हस्ताक्षर गरेका थिए । सन्धि भएको २६ वर्ष बितिसक्दा पनि सन्धिमा भएको उक्त बुँदा कार्यान्वयन नहुँदा दोधारा–चाँदनीका किसानले नहरको पानी पाएका छैनन् । २९ माघ ०५२ मा नेपाल–भारतबीच भएको एकीकृत महाकाली सन्धिको धारा ४ मा दोधारा–चाँदनी सिँचाइका लागि भारतले आफ्नोतर्फको नहरबाट तीन सय ५० क्युसेक पानी उपलब्ध गराउने सहमति भएको थियो ।

नहर निर्माण नहुँदा किसानले महाकाली नदीबाट पाउनुपर्ने पानी नपाउँदा भूमिगत सिँचाइ प्रयोग गर्न बाध्य भएका हुन् । दोधारा–चाँदनीको कुल ५६.८३ वर्ग किलोमिटर क्षेत्रफलमध्ये ३७.३८ किलोमिटर क्षेत्रफल खेतीयोग्य छ । चालू आर्थिक वर्ष ०७८÷०७९ मा महाकाली सिँचाइ तेस्रो चरणले नहर निर्माणका लागि प्रक्रिया अघि बढाएको हो । 

ad
ad