१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
कांग्रेस मुख्यालय सानेपामा महामन्त्रीको मतगणना हुँदै । तस्बिर : अमूल थापा/नयाँ पत्रिका
हिमाल पौडेल काठमाडौं
२०७८ पौष २ शुक्रबार ०६:१३:००
Read Time : > 4 मिनेट
समाचार प्रिन्ट संस्करण

कांग्रेसमा नयाँ पुस्ता उदयको सुरुवात

Read Time : > 4 मिनेट
हिमाल पौडेल, काठमाडौं
२०७८ पौष २ शुक्रबार ०६:१३:००

विश्लेषक भन्छन्– १४औँ महाधिवेशनले पुरानो पुस्ताको बिदाइ र नयाँ पुस्ता उदयको सुरुवात भएको छ

कांग्रेसको मात्रै होइन, मुलुकको सिंगो राजनीतिमा युवाहरूको भूमिकालाई लिएर बहस चलेको लामै समय भयो । तर, मूल नेतृत्वको दबदबा यतिबिघ्न भयो कि कसैलाई पनि विकल्प बन्ने आँट गर्न त्यति सहज भएन । जसले गर्दा पुरानो पुस्ताले दिने र नयाँ पुस्ताले माग्ने संस्कृति राजनीतिमा विद्यमान रह्यो । 

१४औँ महाधिवेशनमा बल्ल  युवाहरूको चाहना पूरा भो : पुरञ्जन आचार्य, राजनीतिक विश्लेषक 

युवाहरूको दबाब १२औँ र १३औँ महाधिवेशनमा पनि थियो कांग्रेसमा । तर, त्यसले एउटा आकार र अनुहार पाइरहेको थिएन । यसपालिको महाधिवेशनमा युवाहरूलाई समेटेर नयाँ समूह निर्माण भयो । १४औँ महाधिवेशनमा क्रियाशील सदस्यतामा उल्लेख्य रूपमा वृद्धि भयो । जसमा अधिकांश युवाहरू थिए । उनीहरूले चुनेर पठाएका प्रतिनिधिहरूमा पनि युवा अनुहार नै आयो । उनीहरूले पार्टी नेतृत्वको अनुहार धनराज, विश्वप्रकाश र गगनमा देखे । त्यसले गर्दा भोट स्विङ भयो । 

केही अपवाद निस्कन नखोजेका होइनन् । तर, जसले आँट गर्थ्यो उसको कि त राजनीतिक भविष्य दाउमा लाग्थ्यो कि भने मूलधारको राजनीतिबाट बाहिर रहनुपर्थ्यो । कांग्रेसको १४औँ महाधिवेशनबाट भने युवाहरूले नेतृत्व तहमा जबर्जस्त हस्तक्षेप गर्दै यो परिदृश्यलाई चिरेका छन् ।

महाधिवेशनमा भएको मतदानको गणना जारी रहँदै गर्दा पदाधिकारीसम्मको मत परिणाम आइसकेको छ । सभापति पदमा वृद्ध उमेरका शेरबहादुर देउवा दोहोरिए पनि उपसभापति, महामन्त्री र सहमहामन्त्री पदमा तुलनात्मक हिसाबले युवा अनुहारहरू अगाडि आएका छन् । उपसभापतिमा धनराज गुरुङ, महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएसँगै सामाजिक सञ्जालदेखि बौद्धिक तथा राजनीतिक वृत्तमा यसले तरंग पैदा गरेको छ ।

यसलाई महाधिवेशन प्रतिनिधिमा रहेको नेतृत्व परिवर्तनको चाहना र उनीहरूले त्यो सम्भावना युवा नेताहरूमा देखेको बताउँछन्, नागरिक अगुवा श्याम श्रेष्ठ । ‘यो महाधिवेशनमा आएका बहुसंख्यक प्रतिनिधिहरूमा कुनै न कुनै हिसाबले पार्टीमा नयाँ नेतृत्व ल्याउन चाहन्थे । त्यो नयाँ नेतृत्वमा गगन र विश्वप्रकाशमार्फत अभिव्यक्त भए,’ श्रेष्ठ भन्छन्, ‘विश्व र गगनकै भोटको अन्तर पनि ठूलो छ । जसले बढी परिवर्तनको आवाज उठायो त्यसको भोट बढी आएको छ । परिवर्तनको मन्द मन्द आवाज उठाउनेहरूको भोट कम छ ।’ त्यसैले यो संस्थापनविरोधी मत भएको श्रेष्ठको विश्लेषण छ ।

चार हजार सात सय ४३ महाधिवेशन प्रतिनिधिमध्ये तल्ला कमिटीबाट ५० प्रतिशतभन्दा धेरै युवाहरूको उपस्थिति रहेकाले पनि यो महाधिवेशनबाट नयाँ पुस्ताको आगमन अपेक्षित नै थियो । तर, राजनीतिमा देखिरहने सम्भावनाको खेलभित्र बाधाहरू पनि प्रशस्तै थिए । कांग्रेसको १४औँ महाधिवेशनमा नेतृत्व हस्तान्तरणको मुद्दा प्रखर रूपमा उठेको थियो । पुरानो नेतृत्वले पार्टीलाई यथास्थितिमा राखेको, संगठनलाई छिन्नभिन्न पारेको आरोप नयाँ पुस्ताको थियो । ०७४ को आमनिर्वाचनमा कांग्रेसले बेहोरेको पराजयलाई चिर्नका लागि त्यसभन्दा अघिदेखि पार्टीको नेतृत्व गरिरहेका देउवा कामयाबी छैनन् भन्ने निष्कर्षमा तेस्रो पुस्ता पुगेको उहिल्यै हो । 

अघिल्लो आमनिर्वाचनमा पार्टीले पराजय भोगेपछि नेतृत्व पुस्तान्तरण गर्ने विषयमा कांग्रेसका दशजना प्रभावशाली युवाहरूले त्यतिबेला लामै छलफल गरेका थिए । उनीहरूले छलफल मात्रै गरेनन्, पार्टीको केन्द्रीय समितिमा अबको २० वर्षे कार्यक्रमको संयुक्त खाका पनि प्रस्तुत गरे । तर, पार्टीभित्र जेलिएको गुटगत राजनीतिले उनीहरू सबैलाई एकै ठाउँमा र एउटै एजेन्डा बाँधिरहन दिएन । त्यसको स्पष्ट चित्र महाधिवेशनका लागि उम्मेदवारहरूको प्यानल बनाउने क्रममा देखियो ।

युवाको आवाज गुरुङ, थापा र शर्मामार्फत अभिव्यक्त : श्याम श्रेष्ठ, नागरिक अगुवा 

बहुसंख्यक प्रतिनिधिहरू यो महाधिवेशनमा आए । उनीहरूले कुनै न कुनै हिसाबले पार्टीमा नयाँ नेतृत्व ल्याउन चाहेका थिए । उनीहरूले त्यो नयाँ नेतृत्व धनराज गुरुङ, गगन थापा र विश्वप्रकाश शर्मामार्फत अभिव्यक्त गरे । विश्व र गगनकै भोटको अन्तर ठूलो छ । जसले बढी परिवर्तनको आवाज उठायो त्यसको भोट बढी छ । परिवर्तनको आवाज मन्द उठाउनेहरूको भोट कम छ । यो संस्थापन पक्ष विरोधी मत हो । 

अघिल्लो महाधिवेशनपछि नेता कृष्ण सिटौलाको खेमामा रहेका नेताद्वय गगन थापा र प्रदीप पौडेल यसपटक छुट्टाछुट्टै प्यानलबाट उम्मेदवार मात्रै बनेनन्, एउटै पदमा भिडे । पहिल्यैदेखि सभापति देउवाको खेमामा रहेर प्रवक्ताको जिम्मेवारी निभाएका विश्वप्रकाश शर्मा सोही टिममा अट्न नसकेपछि विद्रोह गरेर उनले प्रकाशमान सिंहको टिमबाट महामन्त्रीको पदमा उम्मेदवारी दिए । युवा भनिएका सबै नेताहरूले एउटै पद रोजे पनि यसपटकदेखि कांग्रेसको विधानले व्यवस्था गरेको दुईजना महामन्त्री चुनिने व्यवस्थाले उनीहरूलाई सहज बनायो । परिणामतः आफूभन्दा कैयौं लामो राजनीतिक र सांगठनिक अनुभव बटुलेका डा.प्रकाशशरण महत र डा.मिनेन्द्र रिजालजस्तो नेताहरूलाई पाखा लगाउन सफल भए ।

राजनीतिक विश्लेषक पुरञ्जन आचार्य कांग्रेसमा युवाहरूको यो आगमनले स–साना गुटहरूको अन्त्य भएर सशक्त प्रतिपक्ष जन्मिने विश्वास व्यक्त गर्छन् । ‘यसले कांग्रेसभित्र एउटा सशक्त प्रतिपक्ष जन्मिएको छ । अब सानासाना पसलहरू बन्द हुन्छन्,’ उनले भने । विश्लेषक आचार्यले भनेजस्तै थापाले पनि आफू अब कुनै अमूक समूहको मात्रै नभएर सिंगो पार्टीको महामन्त्री भएको सबैलाई समेट्ने बताएका छन् । ‘मैले पाएकोे जिम्मेवारी इमान्दारीतापूर्वक निर्वाह गर्छु । एकदिन पनि गलत व्यक्तिलाई छानेछु भन्ने अवस्था आउन दिन्नँ । म सिंगो पार्टीको महामन्त्री हुँ,’ थापाले महामन्त्रीमा विजयी भएपछि प्रतिक्रिया दिँदै भने । उनले वडादेखि माथिसम्म कतिपय ठाउँमा चोट लागेको भन्दै कार्यकर्ताबीचको दूरीलाई घटाउने प्रतिबद्धता जनाए । 

१४औँ महाधिवेशनमा नेतृत्वमा पुस्तान्तरणको मुद्दा बोकेर महामन्त्रीमा उम्मेद्वारी दिएका थापा र शर्माले प्राप्त गरेको मतले युवाहरू कांग्रेसले नयाँ नेतृत्वको पक्षमा उभिसकेको देखाउँछ । सभापतिमा उठेका शेखर कोइरालाको १७ सय दुई मत आउँदा उनकै प्यानलबाट उठेका थापाले तीन हजार २३ मत ल्याए । त्यस्तै, पहिलो चरणको सभापतिको निर्वाचनमा प्रकाशमान सिंहको जम्मा तीन सय ७१ मत आएको थियो । तर, सिंहको प्यानलबाट महामन्त्रीमा उठेका शर्माको १९ सय ८४ मत आएको छ । विश्लेषक आचार्य क्रियाशील सदस्यता वितरणदेखिको प्रभाव केन्द्रीय महाधिवेशनमा परेको बताउँछन् ।

नयाँ पुस्ताको उदय कांग्रेसको तागत
महामन्त्रीमा गगन र विश्वप्रकाशको आगमन कांग्रेसका कार्यकर्तामाझ मात्र होइन, सार्वजनिक वृत्तमा पनि चर्चामा छ । सामाजिक सञ्जालदेखि विपक्षी पार्टीपंक्ति र आमसर्वसाधारणमाझ गुरुङ, थापा र शर्माको आफ्नै प्रकारको इमेज छ । यसले त्यस्ता व्यक्ति पनि पार्टीको नेतृत्वमा आउने प्रक्रियाको थालनी भएको विश्लेषक पुरञ्जन आचार्यको भनाइ छ । ‘पहिलेको जस्तो पार्टी फोरमको कार्यकर्ताले मात्र नेता बनाउँदैन, पब्लिकबाट पनि नेतृत्व गर्न सकिन्छ भन्ने र नेता बन्ने प्रक्रिया सुरु भएको छ,’ आचार्यले भने, ‘१४औँ महाधिवेशनले कांग्रेसभित्र एउटा सशक्त प्रतिपक्ष जन्मिएको छ ।’ 

पदाधिकारी तहमा युवाको वर्चस्व भएकाले आउँदो महाधिवेशनले मूल नेतृत्व पनि यही पुस्ताबाट पाउने सम्भावना पनि प्रवल बनेको छ । यसले गुट र उपगुटको अन्त्य गर्छ भन्नेमा विश्वास गरिहाल्ने स्थिति नभए पनि आउँदो महाधिवेशनबाट नयाँ पुस्ता नै मूल नेतृत्वमा आउने सन्देश दिएको बताउँछन् नागरिक अगुवा श्रेष्ठ । ‘कांग्रेसको महाधिवेशनले पुरानो पुस्ताको बिदाइ र नयाँ पुस्ताको उदयको सुरुवात भएको सन्देश नेपाली राजनीतिक वृत्तलाई दिएको छ,’ उनी भन्छन् । साथै, युवाहरूको यो उभारलाई कांग्रेसले व्यवस्थापन गर्न सके आउँदो आमनिर्वाचनमा प्रभावकारी नतिजा हात पार्न सक्ने देखिन्छ । विश्लेषक आचार्य कांग्रेस महाधिवेशनमा देखिएको युवा उद्गारलाई पार्टी सभापति देउवाले कुशल व्यवस्थापन गरेमा त्यसले आगामी निर्वाचनमा पक्कै पनि सकारात्मक नतिजा दिने बताउँछन् । 

उपसभापतिमा निर्वाचित गुरुङ सभापतिले कस्तो व्यवहार गर्नुहुन्छ भन्नेमा आफूले सहकार्य गर्ने वा संघर्ष गर्ने भन्ने निर्धारण हुने बताउँछन् । ‘हामी सभापति देउवासँग सहकार्य गर्ने छौँ, तर कांग्रेसलाई सबल बनाउने सर्तमा । यदि कुनै पनि दृष्टिमा उहाँबाट पार्टी हितविपरीत कार्य भयो भने हामी त्यसविरुद्ध संघर्ष गर्नेछौँ,’ गुरुङ भन्छन्, ‘हामीसँग पार्टी सभापतिको कुशल सहकार्य भयो भने अब आउने निर्वाचनमा हामी कांग्रेसलाई प्रमुख पार्टी बनाउँछौँ ।’

महामन्त्रीमा विजयी शर्मा पनि आफ्नो सम्पूर्ण तागत कांग्रेसलाई आगामी निर्वाचनमा विजयी बनाउने गरी प्रयोग गर्ने बताउँछन् । ‘कांग्रेस जसरी हिजो चलेको थियो, अब त्यसरी चल्दैन । कांग्रेस रूपान्तरित भएर जान्छ । अब आधुनिक कांग्रेस बन्नेछ,’ शर्माले भने, ‘आगामी निर्वाचनमा कांग्रेसलाई विजयी गराउन सक्ने तागतको रूपमा बदल्नेछौँ ।’ निष्ठा, जिम्मेवारी, विनम्रता र संयमताका साथ काम गर्दै जाने र रूपान्तरित कांग्रेसलाई देशसमक्ष राख्ने उनको वाचा छ ।