१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
रमेश लम्साल/रासस काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार o६:२१:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

हुवासिन सिमेन्टले परीक्षण उत्पादन थाल्दै

Read Time : > 1 मिनेट
रमेश लम्साल/रासस काठमाडौं
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार o६:२१:oo

लगानी बोर्डले संयोजन गरेको हुवासिन सिमेन्ट उद्योगले तीन साताभित्रै परीक्षण उत्पादन गर्ने भएको छ । परीक्षण उत्पादनका लागि आवश्यक तयारी भइरहेको हुवासिन सिमेन्ट उद्योगका उपमहाप्रबन्धक डिल्लीराज पोखरेलले बताए । नेपाली र चिनियाँ व्यवसायीको संयुक्त लगानी रहेको उद्योगमा सोमबारदेखि विद्युत् उपलब्ध भएको छ । मस्र्याङ्दी काठमाडौं एक सय ३२ केभी प्रसारण लाइनबाट उद्योग परिसरसम्म बिजुली उपलब्ध गराइएको हो । 

प्रसारण लाइन निर्माण गर्न उद्योग आफैँले करिब एक अर्ब खर्च गरेको उपमहाप्रबन्धक पोखरेलले जानकारी दिए । तनहुँको तल्लो मर्स्याङ्दी विद्युत्गृहबाट आएको प्रसारण लाइन स्विचिङ स्टेसनमा भित्रिने (लुप इन) र बाहिरिने (लुप आउट) निर्माण गरिएको छ । प्रसारण लाइनलाई स्विचिङ स्टेसनमा लुप इन गराएर हुवासिन सिमेन्टलाई विद्युत् उपलब्ध गराइएको छ । सो स्विचिङबाट सिमेन्ट उद्योगले कुल २० मेगावाट विद्युत् लिनेछ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ उद्योगमा विद्युत् खपत गराउन देश दौहाडामा लागिरहेको समयमा काठमाडौं नजिकैको उद्योगमा २० मेगावाट बिजुली खपत हुन लागेको हो । बेनिघाट रोराङ गाउँपालिकाको ताल्दीमा निर्माणाधीन उद्योगले एक वर्षमा नै स्विचिङ स्टेसन निर्माण गरेको हो । स्विचिङ स्टेसनबाट उद्योग परिसरम्म करिब १४ किलोमिटर प्रसारण लाइन र एक सय ३२ केभी क्षमताको सबस्टेसन निर्माण भएको छ । 

प्राधिकरणको प्राविधिक सहयोग एवं सुपरिवेक्षणमा स्विचिङ स्टेसन र सबस्टेसन निर्माण भएको हो । कार्यकारी निर्देशक घिसिङका अनुसार स्विचिङ स्टेसन निर्माण भएपछि धादिङको विद्युत् आपूर्तिमा सुधार भएको छ । सामान्य हावाहुरी आउँदा प्रभावित हुने धादिङको विद्युत् आपूर्तिमा गुणात्मक सुधार आउनेछ । त्यसका लागि ३३ र ११ केभी क्षमताका वितरण लाइन निकालिनेछन् ।

निजी क्षेत्रले कोभिडकै वेला एक वर्षमै सबस्टेसन र १४ किलोमिटर लामो प्रसारण लाइन निर्माण गर्नु आफैँमा महत्वपूर्ण रहेको हुवासिन सिमेन्टका उपमहाप्रबन्धक पोखरेलको भनाइ छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले उद्योग परिसरसम्म प्रसारण लाइन बनाउने नीति लिए पनि समयमा काम नहुने भएपछि हुवासिनले आफैँ सो संरचना तयार पारेको हो ।

लगानी बोर्डसँग सुरुवाती सम्झौता गर्दा करिब  १४ अर्ब ४० करोड रुपैयाँबराबरको लागत रहने भनिए पनि विभिन्न कारणले थप तीन अर्ब लागत बढ्न गएको बताइएको छ । नेपालमा गुणस्तरीय सिमेन्ट उत्पादन गर्ने लक्ष्यका साथ बोर्डले प्रख्यात चिनियाँ कम्पनी हुवासिनसँग सम्झौता गरी काम अगाडि बढाएको थियो । अर्को चिनियाँ लगानीको सिमेन्ट उद्योग होङ्सीले पछिल्लो तीन वर्षदेखि नियमित रूपमा उत्पादन गरिरहेको छ । केही समय पहिलेदेखि मात्रै सो उद्योगले पनि नियमित  रूपमा ३० मेगावाट बिजुली पाएको छ । त्यसबाट सस्तो मूल्यमा नेपाली बजारमा सिमेन्ट उपलब्ध हुनेछ । 

हुवासिन सिमेन्ट उद्योगले दैनिक तीन हजार मेट्रिकटन सिमेन्ट उत्पादन गर्नेछ । तत्कालीन बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र हुवासिन सिमेन्टका तर्फबाट उपाध्यक्ष सू गाङबीच ०७५ असार ६ मा उद्योग स्थापनाका लागि सम्झौतापत्रमा चीनको राजधानी बेइजिङमा हस्ताक्षर भएको थियो । सम्झौतामा ६ महिनाभित्र कारखाना स्थापना गर्ने भनिए पनि विभिन्न कारणले लामो समय लागेको हो ।

उद्योगमा तीन सय ५० जनाले प्रत्यक्ष र एक हजारजनाले अप्रत्यक्ष रूपमा रोजगारी पाउने बोर्डको अनुमान छ । २०७४ मंसिर १२ मा हुवासिनलाई खानी विभागले धादिङको पानीखर्कमा खानी उत्खनन गर्न अनुमति दिएको थियो । खानीका लागि चिनियाँ प्रवद्र्धकले ६० करोड रुपैयाँबराबरको लगानी गरेको थियो । खानीका लागि हालसम्मकै बढी खर्च गरिएको यो नै पहिलो हो । 

ad
ad