१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
मञ्जु भट्ट
२०७८ मङ्सिर १९ आइतबार ०८:३७:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

कतिन्जेल सहने महिलामाथिका हिंसा ?

Read Time : > 2 मिनेट
मञ्जु भट्ट
२०७८ मङ्सिर १९ आइतबार ०८:३७:००

बोक्सी आरोपमा मानव मलमूत्र खानुपर्ने, छाउघरमा ज्यान जोखिममा पार्दै सुत्नुपर्ने र एकल वा सामूहिक बलात्कारको सिकार बन्नुपर्ने छोरीहरूमाथिको हिंसा कहिले अन्त्य होला ?


मलाई पनि संसार देख्ने अवसर देऊ, गर्भमै नमार’ भन्दै छोरीले गर्भमा चिच्याएको न डाक्टर न त आमाबुबा न अरू कसैले नै सुन्छन् । जाँचपछि गर्भमा छोरी भएको पत्ता लागेमा सजिलै गर्भपतन गराइन्छ । गर्भबाटै सुरु हुन्छ छोरा र छोरीबीचको भेदभाव । यदि छोरी जन्मिहाले पनि उसका पाइलैपाइलामा अप्ठेराहरू थपिँदै आएका छन् । अझै पनि हाम्रा गाउँघरदेखि सहरबजारसम्म छोरालाई अंग्रेजी स्कुलमा र छोरीलाई अर्काको घर जाने जात भन्दै सरकारी स्कुलमा पढाउने वा बीचमै स्कुल छुटाउने बाबुआमाको संख्या कम छैन ।

गाउँघरका छोरीहरू घाँसदाउरा गरेर स्कुल जानुपर्छ र फर्केर पनि त्यस्तै काममा व्यस्त हुनुपर्छ भने अर्कातिर छोराले चाहिँ छोरीजस्तो काममा जोतिनुपर्दैन । प्रायः सहरमा पनि कक्षा ६, ७ मा पढ्दादेखि नै छोरीले आफ्ना लुगा, जुत्ता, मोजा आफैँ धुने, भान्छामा गएर आमासँगै चिया, नास्ता बनाउन सिक्ने गरेको देखिन्छ । तर, छोराको सुत्ने कोठा सफा गर्नेदेखि सबैजसो काम अरूले नै गरिदिएको देखिन्छ ।

आफूविरुद्धका अनेकौँ जालझेल पार गरेर जन्मिहाले पनि बालिका, किशोरी या युवतीहरू अपहरणमा पर्ने, बलात्कारका सिकार हुनेदेखि लिएर देश–विदेशमा बेचबिखनमा समेत पर्ने गरेका छन् । हाम्रा बालिकाहरू शिक्षा, स्वास्थ्य, वासस्थान, मायाप्रेमजस्ता बालअधिकारबाट समेत वञ्चित हुने गरेका छन् । जब किशोरावस्था सुरु हुन्छ, अचानक छोरीको शरीरमा आएको परिवर्तनले अप्ठेरो गराउन थाल्छ ।

अझै पहिलो महिनावारीले जुनसुकै छोरीका आँखामा आँसु ल्याइदिन्छ । यो महिनावारीले छोरीको बालापन हरण गर्छ । आफ्नै परिवार, समाज र आफन्तदेखि सतर्क रहनुपर्ने अवस्था सिर्जना गरिदिन्छ । महिनावारी सुरु भइसकेपछि बलात्कृत भएको खण्डमा गर्भ रहन सक्छ । यसले बिहे नभएकी छोरीका सपनाहरू चकनाचुर बनाइदिन्छ । कतिपय त मानसिक रूपमै विक्षिप्तसमेत बन्न पुग्छन् । महिनावारी सुरु भएपछि प्रत्येक महिना कतिखेर, कहाँनेर या कुन अवस्थामा रगत बग्न सुरु हुन्छ भन्ने चिन्ताले हरदम सताइरहेको हुन्छ छोरीहरूलाई ।

सबैजसो छोरीलाई सजिलैसँग घर छाडेर देश–विदेशमा गई पढ्न या काम गर्न त्यति सजिलो हुँदैन । देशमै रहँदा पनि एसिड आक्रमणमा पर्ने, साइबर क्राइमको सिकार हुनेजस्ता डरलाग्दा घटना पनि देखिन्छन् । छोरीले धेरै पढेको खण्डमा बिहे गर्न केटा नपाउने पो हो कि भन्ने डर पनि कतिपय परिवारमा रहेको पाइन्छ । केहीअघि मात्र घरमा श्राद्ध गर्न ब्राह्मण आएका थिए । नाता, कुटुम्ब, छोराछोरी, धनसम्पत्ति सबै माया हुन् । हामीले संसारमा एक्लै जन्म लिएर आएका छौँ र मर्दा पनि एक्लै जानुपर्छ ।

लोभपाप केही गर्नुहुँदैन भनेर सम्झाइरहेका थिए । दक्षिणा पाइसकेपछि त बिहानै उठेर घरको सरसफाइ, लिपपोत नगर्ने बुहारी कुलक्षणी हुन् भन्दै महिलाहरू बिग्रेका छन्, उनीहरूलाई सुधार्नुपर्छ भन्ने उपदेश दिँदै थिए । म आफैँ पनि वेला–वेलामा बिहान ६ बजे नै काममा निस्किन्छु । आफ्नै परिवारको पालनपोषणका लागि दुई पैसा कमाउन बिहान घर नबढारी निस्किँदा के म कुलक्षणी भएँ ? महिलाले गर्ने यस्ता घरायसी काम बिहान, दिउँसो नभ्याएपछि राति भए पनि गरेकै हुन्छन् । पुरुषले घरका यस्ता काम गर्ने गरेको बिरलै देखिन्छ । 

बोक्सीको निहुँमा मलमूत्र खानुपर्ने, छाउघरमा ज्यान जोखिममा पार्दै सुत्नुपर्ने पनि छोरीले नै हो । जुनसुकै उमेरका महिला पनि एकल वा सामूहिक बलात्कारमा परेको सुन्दा कसको आङ जिरिंग हुँदैन । कतिपयले भन्ने गर्छन्– प्रकृतिले पनि महिलालाई पाठेघर प्रदान गरेर एक किसिमले ठगेकी नै छन् । तर, महिलालाई प्रकृतिले ठग्नुभन्दा पनि बच्चा जन्माउन सक्ने अलौकिक वरदान दिएकी हुन् । ठग्ने गरेका हुन् त पुरुषले, जो महिलालाई कुल्चेर हिँड्ने गर्छन् । महिला आफ्ना प्रत्येक पाइलामा डराएकी हुन्छिन्, आफूलाई असुरक्षित ठान्छिन्, केबल पुरुषका कारण ।

प्रौढावस्थामा महिलाको रजोनिवृत्ति (मेनोपज) अर्थात् महिनावारी सुक्ने समयमा हुन सक्ने डिपे्रसन पनि महिलाका लागि खतरापूर्ण रहेको छ । यतिखेर हुने हर्मोनको परिवर्तनले शरीरमा स्तन क्यान्सर, मुटु रोग वा मोटोपन बढ्दै जान सक्छ । यौन क्रियाकलापमा इच्छा नहुने, रातको समयमा बढी गर्मी महसुस हुने, हड्डी टुट्नेलगायत विभिन्न प्रकारका बिमारी देखा पर्ने विभिन्न शोध तथा चिकित्सकहरूको समेत भनाइ छ । यस्तो अवस्थामा आफैँले जन्माएका छोराछोरीले समेत विभिन्न कारण देखाउँदै आफ्ना बाबुआमालाई समेत वृद्धाश्रममा लगेर राख्छन् ।

आर्थिक अवस्था नाजुक भएका यस्ता बाबुआमाको दुःख हेरिनसक्नुको हुन्छ । जुन छोरीको गर्भमै भविष्य अनिश्चित हुन्छ, उसको जीवन कसरी सुखमय हुन सक्छ ? अहिले अन्तर्राष्ट्रिय महिला हिंसाविरुद्धको १६ दिने अभियान विश्वभरि चलिरहेको छ । नेपालमा पनि ‘घरैबाट सुरु गरौँ, महिला हिंसा अन्त्य गरौँ’ भन्ने नाराका साथ यो अभियान मनाइँदै छ । के साँच्चै अन्त्य होला त महिला हिंसा ?