निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ श्रावण २४ मंगलबार
  • Tuesday, 09 August, 2022
मञ्जु भट्ट
२०७९ जेठ ३० सोमबार ०६:५६:००
Read Time : > 1 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

पाठ्यपुस्तक अभाव : पढ्ने र पढाउने कसरी ?

काठमाडौंकै विद्यालयहरूमा त अहिलेसम्म पर्याप्त पुस्तक पुग्न सकेका छैनन् भने दूरदराजका गाउँघरको अवस्था कस्तो होला ? सम्झिँदा पनि कहाली लाग्छ ।

Read Time : > 1 मिनेट
मञ्जु भट्ट
२०७९ जेठ ३० सोमबार ०६:५६:००

विगत दुई वर्षमा कोरोना महामारीमा संस्थागत स्कुलहरूले जसोतसो शिक्षक सिकाइलाई निरन्तरता दिए पनि सामुदायिक स्कुलमा भने खासै पढाइ हुन सकेन । सामुदायिक स्कुलहरूमा प्रविधिको सबैभन्दा बढी प्रयोग हुने युगमा पनि कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला, पुस्तकालय, पर्याप्त पानीसहितका शौचालय, छात्राहरूका लागि स्यानिटरी प्याडजस्ता अत्यावश्यक कुराको व्यवस्था हुन सकेको छैन ।

काठमाडौंछेउछाउकै कतिपय सामुदायिक स्कुलमा समेत विज्ञान प्रयोगशाला छैन भने दुर्गमका स्कुलको अवस्था अनुमान गर्न सकिन्छ । यी र यस्तै कारणले गर्दा सामुदायिक स्कुलमा विद्यार्थीको संख्या घट्दै गएको छ । स्कुलहरू बन्द हुने अवस्थामा पुगेका छन्, बन्द पनि भइरहेका छन् । साना विद्यार्थी सहरमा पढ्न गएसँगै अभिभावक पनि सँगै जानुपर्ने हुन्छ । जसकारण सहरमा जनसंख्याको चाप बढी तथा गाउँमा कम हुँदै जाँदा जनसंख्या वितरणमा समेत असन्तुलन बढ्दै गएको छ । यसले कालान्तरमा गम्भीर समस्या उत्पन्न गर्न सक्छ ।

विगतदेखि नै कहिले बन्द, कहिले हडतालजस्ता कारणले स्कुलमा पढाइ प्रभावित हुँदै आएको छ । राजनीतिक खिचातानीका कारण हुने बन्द हडतालका कारण विद्यार्थी मारमा पर्दै आएका छन् । स्कुलहरूमा बन्द हडताल गर्न नपाइने भनिए पनि नेपाल बन्दको असर स्कुलहरूमा मात्र पर्ने गरेको छ । स्कुल बन्दबाट विद्यार्थीमा पर्न जाने असरलाई कसैले पनि गम्भीरतापूर्वक लिने गरेका छैनन् । कोरोना महामारीका कारण दुई वर्ष स्कुल गएर राम्ररी किताब पढ्न नपाएका विद्यार्थीले लगातार तेस्रो वर्ष पनि पढाइ सुरु भएको एक महिनाभन्दा बढी समयसम्म किताब पाउन नसक्ने सरकारले नै जनाइसकेको छ ।

काठमाडौंका विद्यार्थीले समेत सबै विषयका किताब अहिलेसम्म पाउन सकेका छैनन् भने राजधानीबाहिरका स्कुलमा किताब पुग्न धेरै समय लाग्ने निश्चित देखिन्छ । यसै वर्ष कक्षा चार, सात र नौ कक्षाको पाठ्यक्रम परिवर्तन भएको छ । सबै किताब नयाँ हुनेछन् । जसका कारण विद्यार्थीले आफ्ना अग्रजहरूले पढेका पुराना किताबसमेत प्रयोग पाएका छैनन् । झन्डै एक महिनादेखि किताबविनै कक्षामा बस्नुपर्दा विद्यार्थीलाई मात्रै होइन, किताबविनै पढाउन शिक्षकहरूलाई समेत अप्ठ्यारो हुने गरेको छ । अझै पनि कक्षा आठ र दशका विद्यार्थीले राजधानीकै स्कुलमा समेत अंग्रेजीको किताब पाउनसकेका छैनन् । विद्यार्थीलाई कक्षाकार्य गराउन अप्ठ्यारो भएको छ । किताब नभएपछि घरमा पनि गृहकार्य नगरी बस्दा उनीहरू विद्युतीय उपकरणमा भुल्ने गरेको अभिभावकका गुनासा सुनिन्छन् । आफ्नो दैनिक पाठयोजना, एकाइ योजना प्रभावित भएसँगै साउनमा राखिएको प्रथम त्रैमासिक परीक्षासमेत प्रभावित हुने शिक्षकहरूको भनाइ छ ।

चुनावका लागि रातारात मतपत्र छपाउन सक्ने सरकारले कलिला विद्यार्थी र भोलिका देशका कर्णधारका लागि किताब छाप्न सक्दैनथ्यो र ? सरकारका लागि चुनाव जति महŒवपूर्ण छ विद्यार्थीका लागि त्योभन्दा बढी महŒवपूर्ण किताब छन् । सरकारमा बस्ने, शिक्षा मन्त्रालय चलाउने विद्वान्हरूले समयमै बुझ्नुपर्ने थियो । कोरोनाका कारण भएको लकडाउन, रुस र युक्रेनबीचको युद्ध, सँगै परेको चुनावजस्ता कारणले किताब छाप्न ढिलो भएको बहाना बनाउँदै आएको सरकारको कुरा पहिलोचोटि कक्षा एकमा पढ्न उत्सुक भएर स्कुल गएको विद्यार्थीले कसरी बुझ्ने ? किताबमा भएका चित्रसँग खेल्दै, कविता, कथा, पढ्ने, रमाउने बानी लागेका साना नानीबाबु किताबविनै स्कुल जान र फर्किनुपर्दा अर्को दिनदेखि स्कुल जान नै मन नलाग्ने हुन सक्छ ।

एकपल्ट स्कुलप्रति मनमा वितृष्णा आइसकेपछि ऊ सधैँ स्कुल नजान सक्छ वा स्कुल तहको पढाइ नै पूरा नगरी स्कुल छोड्न सक्छ । अहिले मात्रै होइन, पहिला पनि दुर्गमका गाउँघरमा पुस्तक पुग्न महिनौँ लाग्थ्यो । सहरका स्कुलमा प्रथम त्रैमासिक परीक्षा भइसकेपश्चात् मात्रै दुर्गमका स्कुलमा किताब पुग्ने गर्थे । वर्षौँदेखि सरकारका तर्फबाटै सामुदायिक स्कुलको व्यवस्थापन, पूर्वाधार विकास, शिक्षक पदपूर्ति, पुस्तक वितरण, अतिरिक्त क्रियाकलाप, अनुगमन आदिमा लापरबाही हुँदै आएको छ ।