
उदयपुरको कटारी नगरपालिकास्थित कटारी बजारमा अवैध रूपमा मल लुकाएर राखिएको गोदामका मालिक दिलीप चौधरी पक्राउ परेका छन्। गत १२ भदौमा उदयपुरका सहायक प्रमुख जिल्ला अधिकारी विक्रमप्रसाद पाण्डेयको नेतृत्वको अनुगमन टोलीले कटारी बजारमा रहेको चौधरीको आशुतोष सप्लायर्स एन्ड ट्रेडर्स तथा जयमाँकाली प्रालिबाट दुई सय बोरा अवैध युरिया मल बरामद गरेको थियो।
चौधरीले कटारी नगरपालिकाकी उपमेयर गीता खड्काको नेतृत्वमा बनेको छानबिन समितिलाई मल आएको स्रोत दिन नसकेपछि गत सोमबार पक्राउ गरिएको हो। सहायक प्रमुख जिल्ला अधिकारी पाण्डेका अनुसार हिजो मंगलबार जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको हो। उनले भने, ‘पक्राउ परेका चौधरी हाल इलाका प्रहरी कार्यालय कटारीमा छन्।’
जफत गरिएको दुई सय बोरा मल अहिले गणना गर्दा १७५ बोरा मात्र फेला परेको छ। त्यही मल पनि किसानलाई वितरण गरिएको छ। यसअघि नै नगरपालिकाको सिफारिसमा कृषि सामग्री कम्पनी लिमिटेडले पठाएको मल किसानसम्म नपुगेको गुनासो आइरहेका वेला ठुलो परिमाणमा मल व्यापारीको गोदाममा भेटिएपछि स्थानीय किसान र राजनीतिक दलहरूले विरोध गर्दै आइरहेका थिए।
अहिले अवैध मलको छानबिनका लागि कटारी नगरपालिकाले इलाका प्रशासन कार्यालयका प्रमुख उपसचिव कोपिला राईको संयोजकत्वमा एक छानबिन समिति गठन गरेको छ। यस समितिमा राजनीतिक दलका प्रतिनिधि, उद्योग वाणिज्य संघ, राष्ट्रिय अनुसन्धान, किसान संघर्ष समिति र नगरपालिकाको कृषि शाखाका प्रतिनिधिहरूलाई पनि समावेश गरिएको छ। यो समितिले मल वितरण प्रणालीमा देखिएको अनियमितता र व्यापारीको संलग्नताबारे निष्पक्ष छानबिन गरी प्रतिवेदन बुझाउने पाण्डेयको भनाइ छ।
कटारी नगरपालिकाकी उपमेयर गीता खड्काले दुई सय बोरा भनिएको युरिया मल गणना गर्दा १७५ बोरा मात्र भेटिएको बताइन्। उनले त्यही मल पनि कटारी नगरपालिका वडा नम्बर १ मा १५ बोरा, २ मा २० बोरा, ३ मा १५ बोरा, ४ मा ६० बोरा, ५ मा २५ बोरा, ६ मा १५ बोरा र ७ मा २५ बोरा वितरण गरिएको जानकारी दिइन्। उनले भनिन्, ‘वडा कार्यालयमार्फत वितरण गरिएको हो।’
किसानलाई मल बिक्री गरेबापत प्राप्त हुने रकम भने जिल्ला प्रशासन कार्यालयको धरौटी खातामा जम्मा गरिने भएको छ। यस घटनाले अनुदानको मल वितरणमा भइरहेको अनियमिततालाई उजागर गरेको छ। कटारी बजारमा अवैध रूपमा मल ल्याएर महँगोमा बिक्री-वितरण हुने गरेको रहस्य पनि खुलेको छ।