
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धमा महिलाले देखाएको त्याग र बलिदानकै कारण गणतन्त्र सम्भव भएको बताएका छन्।
अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को सातौँ राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रचण्डले महिलामाथि हुने हिंसाविरुद्ध आवाज उठाउनुका साथै समाजवादी आन्दोलनलाई तीव्र बनाउने संकल्प गर्न आह्वान गरे।
जनयुद्धमा महिलाको उल्लेखनीय योगदानबारे चर्चा गर्दै उनले भने, ‘यदि जनयुद्धमा हजारौँ, लाखौँ महिलाहरूको सहभागिता भएको थिएन भने आजको संविधान, गणतन्त्र र महिलाको ३३ प्रतिशत सहभागिता सम्भव हुने थिएन।’
अध्यक्ष प्रचण्डले जनयुद्वको सुरुवातमा कालिकोट र रोल्पाका महिलाहरूले देखाएको साहसपूर्ण योगदानलाई विशेष रूपमा स्मरण गर्दै थपे, ‘उनीहरूले हतियार खोसेर पार्टी नेतृत्वलाई अगाडि बढ भनेर नभनेको थियो भने जनयुद्ध सम्भव नहुन पनि सक्थ्यो।’
सो अवसरमा अध्यक्ष प्रचण्डले अल्किना बम ‘बबिता’को पुस्तक ‘जुनकिरी हराएको रात’को लोकार्पण गरेका छन्।