मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ मङ्सिर ११ शनिबार
  • Saturday, 27 November, 2021
२०७८ मङ्सिर ९ बिहीबार ०७:५२:००
Read Time : > 10 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

बौद्धिक संस्कृतिमा मार्क्सवादीहरू

उदारवादीहरूका तर्फबाट हुने बहसले लोकतन्त्रका मुद्दालाई प्रभावशाली बनाउन सहयोग गरे पनि तिनले सामाजिक न्याय र सीमान्तकृतहरूको पक्षमा पर्याप्त हस्तक्षेप गरेका छैनन्

Read Time : > 10 मिनेट
२०७८ मङ्सिर ९ बिहीबार ०७:५२:००

१ मंसिरको कान्तिपुरमा छापिएको मित्र विष्णु सापकोटाको बौद्धिक संस्कृतिमा मार्क्सवादी छाया शीर्षकको आलेख सदा झैँ स्वाद लिएर पढेँ । विष्णु सापकोटा समकालीन नेपाली सार्वजनिक बौद्धिक विमर्शमा अलग पहिचान बनाइसकेको नाम हो । पाश्चात्य र पूर्वीय साहित्यिक विमर्शसहित समकालीन वैचारिक बहसका बारेमा दखल राख्ने उनका सामयिक टिप्पणीहरूमा बौद्धिक खुराक मिल्छ, आलोचनात्मक चेतसहित लेख्ने भएकाले मात्र हैन, आफ्नै प्रकारको भाषिक मिठास घोलेर लेख्ने भएकाले पनि ।

नेपालको अहिलेको राजनीतिक नेतृत्व र दलहरूको चरित्रमाथि तर्कपूर्ण तर व्यंग्यसमेत मिसाइएका उनका टिप्पणीको म नियमित पाठक हुँ (प्रशंसा दोहोरिएको पनि हुन सक्छ) । यसपालिको लेखमा नेपालको मार्क्सवादी बौद्धिक परम्परा र त्यसका कमीमाथि आलोचना गरिएकाले उनकै भाषामा ‘अलिकति प्रोभोक’ पनि भएकै हो । पहिले नै स्पष्ट पार्दिउँ, म नेपालको ‘अफिसियल मार्क्सवादी’ होइन, मार्क्सवादीहरूको प्रवक्ता पनि होइन, कसैको बचाउ गर्नुपर्ने पनि छैन । सार्वजनिक वृत्तको बहसलाई प्रभावित गर्न सक्ने विष्णुजी जत्तिको व्यक्तिले कान्तिपुरमा लेखै लेखेर मार्क्सवादीहरूले गरेको बहसलाई मिथ्या र गलत साबित गर्न या भ्रम दिन खोजेको भन्ने मनमा लागेपछि विमति राख्न मात्र लेखिएको हो । अहिले प्रतिरोधको आवाजका रूपमा मुखरित मार्क्सवादी बौद्धिक बहसलाई निषेध गर्न खोज्दा प्रकारान्तरले स्थापित हुँदै गएको अतीतमुखी न्यारेटिभलाई सहयोग पुग्ने देखिएकाले पनि यो बहसमा सामेल हुने जाँगर चलाइएको हो । 

अर्को कुरा, नेपालमा माक्र्सवादी परिवारभित्र को–को पर्छन् ? कुनै कम्युनिस्ट नामधारी राजनीतिक दलका कार्यकर्ता, समर्थक या मतदाता मात्र अवश्य पनि मार्क्सवादी भन्न मिल्ने प्रमाणपत्रधारी होइनन् होला । हरेक कम्युनिस्ट पार्टीका विचार र व्यवहार तथा तिनले कुन स्वार्थसमूहको या अर्थराजनीतिक अवस्थाको सेवा गरेका छन् भन्ने पर्गेल्दै आलोचना गर्ने मार्क्सवादी वृत्तको पनि यहाँ कमी छैन । यसैले मार्क्सवादीहरूको बौद्धिक संस्कृति भनेर कसलाई लक्षित गरिएको हो भन्नेमा विष्णुजी अस्पष्ट मात्र देखिँदैनन्, सबैलाई एउटै डालोमा हालेर उनले लाञ्छित पनि गरेका छन् । यसो गर्दा अफिसियल मार्क्सवादीहरूसँगै बसेर या अफिसियलडम बाहिर बसेर बहस गरिरहेको र नेपाली बौद्धिक परम्परालाई समृद्ध गराइरहेको ठूलो पंक्तिमाथि सीधै अन्याय हुन्छ । के विष्णुजी अघिल्लो पुस्ताका गोविन्द लोहनी, डिपी अधिकारी, मदनमणि दीक्षित, अहिलेका पीताम्बर शर्मा, चैतन्य मिश्र, आहुतिदेखि पछिल्लो पुस्ताका उज्ज्वल प्रसाईं, सरिता तिवारी, विनोदविक्रम केसीसम्मका सर्जकहरूका सार्वजनिक बहसलाई पनि बौद्धिक परम्परामा मार्क्सवादी तगारोकै रूपमा लिने एकपाखे निष्कर्षमा पुगेका हुन् ? अफिसियल मार्क्सवादीहरूकै पनि विभिन्न शाखा छन् ।

सबैका सबै तर्क र प्रस्थापनासँग सहमत हुन नसकिएला, प्रश्नहरू पनि होलान्, तर सत्य त यही हो कि दलको घेराभित्र बसेर बहस गरिरहेका केपी ओली, प्रचण्ड, मोहन वैद्य, शंकर पोख्रेल, पृथ्वीसुब्बा गुरुङ, घनश्याम भुसाल, राम कार्की, रामचन्द्र झा, विन्दा पाण्डेहरूका चिन्तनले पनि नेपाली बौद्धिक परम्परालाई समृद्ध नै बनाइरहेको छ । मार्क्सवादी विश्वदृष्टिकोणबाट प्रभावित प्रदीप गिरि, अभी सुवेदी, खगेन्द्र सँग्रौलाका रचनात्मक हस्तक्षेपले बौद्धिक परम्परालाई समृद्ध नै बनाइरहेको छ । राजेन्द्र महर्जन, सरिता परियार, रामचन्द्र श्रेष्ठ, भूपाल राई र युग पाठकहरू मार्क्सवादी चेतसहित समाजमा विद्यमान अनेकवली विभेदका विरुद्ध, नेपाली समाजको भित्री तहका र अहिलेसम्म सत्तासीनहरूले कार्पेटमुनि छोपेर राखेका समस्या खोतलखातल पारेर बहसमा ल्याइरहेका छन् । यिनको बौद्धिक चिन्तनले विश्वका समकालीन बौद्धिक चिन्तनसँग व्यापक अन्तरक्रिया गरिरहेका छन् । यसले कहाँनेर नेपाली बौद्धिक संस्कृतिलाई छायामा पार्छ ? विष्णुजीले लेख्नुअघि यसतर्फ विचार पुर्‍याएको भए जाति हुन्थ्यो । 

बौद्धिक संस्कृतिमा मार्क्सवादी छायामा विष्णुजीले नेपालको राजनीतिक बौद्धिक विमर्शमा ०३० को दशकयता मार्क्सवादीहरूको प्रभाव बढ्दै गएको र त्यसले गर्दा नेपालको आफ्नै ज्ञान परम्परा ओझेलमा पर्न गएको भन्दै चिन्ता व्यक्त गर्नुभएको रहेछ । झन्डै सय वर्षअगाडिबाट नै नेपालमा बौद्धिक बहस र चिन्तन संस्कृतिको विकास भएको, ०३० सम्म त्यो ठीकै बाटोमा सुस्त–सुस्त अघि बढेको, तर मार्क्सवादीहरू सार्वजनिक बहसमा प्रभावशाली भएर आएपछि चाहिँ बहसले राम्रो बाटो नलिएको भन्ने उनको जिकिर छ । यहाँनिर लेखक सीधै उदारवादी खेमाका पक्षमा उभिएर मार्क्सवादी विद्वत् परम्परालाई लल्कार्न उभिएका जस्ता देखिन्छन् । लेखकले सम्प्रेषित गर्न चाहेको भावलाई मैले यदि सही तरिकाले बुझेको हो भने वि.सं. को १९९० वरपरबाट नेपालमा आरम्भ भएको मानिने नेपालको बौद्धिक बहसको आधुनिक कालसँग यो बौद्धिक संस्कृतिले सरोकार राख्छ । 

उक्त बहस भन्नाले औद्योगिक क्रान्तिपछिको युरोपको राजनीति, अर्थतन्त्र, दर्शनशास्त्र, संस्कृति, पारिवारिक सामाजिक सम्बन्धका आयामहरूलगायत उत्पादन र उपभोगको क्षेत्रमा आएका अनेकवली परिवर्तनले मानवीय चेतनामा पारेका प्रभावसहित समुच्च ज्ञानलाई बुझाउँछ । त्यही पश्चिमी ज्ञानको प्रभावमा वंशका आधारमा चलाइएको शासनलाई अस्वीकार गर्ने, सर्वसाधारण जनताले राज्यशक्तिमा दाबी गर्ने उदारवादी या साम्यवादी विचारधारालाई अँगाल्ने, त्यसअनुरूपका राज्यव्यवस्था स्थापना गर्न संगठित प्रयास गर्ने, त्यसका लागि नै संगठन, साहित्य सिर्जना, सार्वजनिक बहस, लेख रचनाहरूको प्रकाशन गर्ने र सामान्तवादी व्यवस्थाका ठाउँमा पुँजीवादी या समाजवादी व्यवस्था किन ठीक छ भनेर मत निर्माण गर्नेतिर नेपाली जमात अग्रसर भएको देखिन्छ । यसको अर्थ उक्त बहसले नेपाली समाजको बौद्धिक परम्पराले जहाँ–जहाँ उदारवाद या समाजवादप्रतिको झुकावलाई निषेध गर्न, वर्गीय, जातीय, भाषिक सांस्कृतिक शोषणलाई निरन्तरता दिन खोजेको छ, महिलामाथि विभेद गर्ने परम्परालाई जोगाउन चाहेको छ, त्यसलाई अस्वीकार गर्‍यो । हाम्रो चिन्तन परम्परामा रहेका सकारात्मक पक्षहरूलाई स्वीकार गर्ने र परख गर्ने काम पनि गर्‍यो । 

यस्तो बहसलाई राजनीतिक रूपमा पछि गएर नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टीले नेतृत्व गरे । आफूलाई उदारवादी पुँजीवाद या प्रजातान्त्रिक समाजवादका हिमायती ठान्ने, सोही विचारअनुसार समाज, अर्थतन्त्र, राजनीति, साहित्य–कलालगायत सामाजिक संस्था र संगठन तथा संस्कृतिलाई बुझ्न, इतिहासको व्याख्या गर्न र समाजलाई डोर्‍याउन चाहनेहरू बिपी कोइरालाका वरपर संगठित भए । बिपी स्वयं यस्ता बहसको केन्द्रमा थिए । उनको साहित्य र राजनीतिक मूल्यले नेपाली बौद्धिक संस्कृतिको परम्परालाई महत्वपूर्ण योगदान गरेको छ, अहिले पनि नेपाली बौद्धिक परम्परालाई प्रभावित गरिरहेकै छ ।

ठीक बिपीकै समयमा नेपालमा माक्र्सवादी वैचारिकीले प्रवेश पायो । बिपी स्वयं आफूलाई मार्क्सवादबाट प्रभावित मान्थे । मार्क्ससँगको उनको असहमति साम्यवादी शासकीय ढाँचासँग मात्र जस्तो देखिन्छ । यता, मार्क्सबाट प्रभावितहरूले माक्र्सेली साहित्य परम्पराबाट नेपाली समाजको बहसलाई प्रभावित गर्ने, कला, साहित्य, संगीत, राजनीति र समाजको संगठनलाई वर्गीय दृष्टिले बुझ्ने व्याख्या गर्ने र श्रमजीवी वर्गका पक्षबाट समाजका अन्तरविरोधहरूलाई उधिन्ने प्रयास गरे । यो नै ऐतिहासिक भौतिकवादसम्मत चिन्तन पनि हो ।

राजनीतिमा मजदुर, किसान र राष्ट्रिय पुँजीको हितको वकालत गर्ने, साहित्यमा परम्परागत सामन्तवादलाई जोगाउने खालका सबै सिर्जनाहरूको प्रतिवाद गर्ने र समाजवादमा सामाजिक न्याय स्थापित हुन्छ भन्ने मान्यताको प्रचार गर्ने प्रयास यो खेमाले गर्‍यो । पक्कै पनि यसको अगुवा पुष्पलाल थिए । मनमोहन अधिकारी र केशरजङ रायमाझीको नेतृत्व रहँदा कम्युनिस्ट पार्टी स्वयं क्रमशः उदारवादी बाटो कि जनवादी बाटो, उदारवादी बाटो कि सामन्तवादको पक्षपोषण जस्ता विचारधारात्मक संकटमा फसेकाले त्यतिवेला मार्क्सवादीहरूले समाजको बहसलाई पर्याप्त हस्तक्षेप गर्न नसकेको साँचो हो । 

कांग्रेस र कम्युनिस्टहरूको यही बहस परम्पराले ००७ को क्रान्ति र स्वतन्त्रताको सपना निर्माण गरेको थियो । यी दुवै बहसले समाजलाई अग्रगामी चेतना दिन र सामन्तवादी चिन्तन परम्पराबाट देशलाई स्वतन्त्र समाजतिर लान मनग्य योगदान गरेका हुन् । त्यसै सेरोफेरोबाट नेपालमा प्राज्ञिक बहसको थालनी, ज्ञानको उत्पादन र पुनरुत्पादनमा सयौँ बौद्धिकहरूले योगदान गरेका छन्, जो पार्टीको अफिसियल लाइनसँग जोडिएका छैनन् । यदुनाथ खनाल होउन् या हर्क गुरुङ, कृष्णप्रकाश मल्ल होउन् या महेशचन्द्र रेग्मी, पन्त बन्धु होउन् अथवा चेमजोङ या भुवनलाल प्रधान, पछिल्लो समय डा. देवेन्द्रराज पाण्डे या प्रत्युष वन्त सबै बहसले नेपालको बौद्धिक परम्पराकै उत्थान गरिरहेका छन् । 

सन् १९५० को दशकमा कम्युनिस्ट पार्टीको नेतृत्वमा भएका किसान आन्दोलन र विद्यार्थी आन्दोलनसमेतका त्यतिवेलाका बहसले लक्ष्मीप्रसाद देवकोटालगायतका स्रष्टाहरूसमेत बृहत्तर माक्र्सेली विचारधाराको घेरा समात्ने प्रयत्नमा लागेको उनका सिर्जनाहरूले देखाउँछन् । गोविन्द लोहनीजस्ता बौद्धिकहरूको उपस्थिति त्यतिवेलाको बौद्धिक विमर्शलाई हस्तक्षेप गर्ने तहको थियो । भूपि शेरचन र पारिजात पनि यसै समयको पछिल्लो छिमलका वैचारिक विमर्शका उपज हुन् । रमेश विकलसमेतका साहित्यकारहरूको सहभागितामा माक्र्सवादीहरूले प्रगतिवादी साहित्यको सिर्जना र बहस भने यसै समयमा तीव्र बनाएका थिए । नेपाली साहित्यका दुई उत्कृष्ट कृति माधवी र घामका पाइलाहरूका लेखक दुवै मार्क्सवादी राजनीतिका अगुवा, कम्युनिस्ट पार्टीका कुनै समयका केन्द्रीय सदस्य नै थिए ।

वास्तवमा माधवी वैदिककालको समाजलाई ऐतिहासिक भौतिकवादको कसीमा राखेर लेखिएको बृहत्तर आख्यान हो, जसले विश्वस्तरमा नेपाली बौद्धिक चिन्तनलाई मज्जाले प्रतिनिधित्व गर्न सक्छ । विष्णुजीले भनेजस्तो पारिजातको शिरीषको फूल प्रगतिवादी सिर्जना होइन भन्नु त्यसलाई खारेज गर्नु होइन । यो समीक्षकीय विषय हो । स्वयं पारिजात त्यसप्रति सन्तुष्ट रहिनन् । देवकोटा, लेखनाथहरूको योगदानलाई माक्र्सेली परम्पराले खारेज गरेको कमसेकम मलाई चाहिँ थाहा छैन । बुद्धका दर्शनलाई भौतिकवादी मानेर पूर्वीय चिन्तन परम्परासँग संवाद गर्ने काममा मार्क्सवादीहरू सक्रियतापूर्वक लागेकै हुन् । राजनीतिक संघर्ष तीव्र भएको समयमा सडकमा ...चोर देश छोड् ... भन्ने नारा लोकप्रिय हुन्छ । यसको जजमेन्ट गरेर उक्त जुलुस र अभियान नै ठीक थिएन भन्नु हास्यास्पद हुन्छ । तर, सडकबाट निस्केपछि मान्छे फेरि सहज संवादमा निस्कन्छ, नारा लगाइरहँदैन । त्यसैले साहित्यको भूमिका या मूल्यांकन समयसापेक्ष हुन्छ ।

वर्गसंघर्षलाई परम्परागत ढर्राबाट मुक्त गरेर महिला, दलित, जनजाति र मधेसीका मुद्दा वर्गसंघर्षकै हिस्सा हुन् भन्ने मानक स्थापना गरेको पनि माओवादीहरूको नेतृत्वमा मार्कसेलीहरूले नै हो 

विष्णुजीले भनेको के साँचो हो भने ०३० पछि नेपालमा भएका सार्वजनिक बहसका वृत्तमा माक्र्सेलीहरूको हस्तक्षेप बढ्दै गयो । यसका पछाडि पुष्पलाल र केशरजङ रायमाझीबाट मुक्त भएको झापा आन्दोलन, त्यसको विकसित रूप कोअर्डिनेसन केन्द्र र नेकपा मालेको स्थापना एउटा कारण थियो । यसैगरी, पूर्व कोसी समूह, जनता जगाउन पढाइ छाडेर गाउँतिर शिक्षक भएर गएका मार्क्सवादी युवाहरूको ठूलो समूह (गण्डकी क्षेत्रमा स्वनाम शेरचन, खगेन्द्र संग्रौला, सोमनाथ प्यासी, खगेन्द्र पूर्वेली, रामबाबु सुवेदी, पुष्पकमल सुवेदी, रामचन्द्र अधिकारी, निर्मल सुवेदी...आदि धेरै), जेल बसेर अभियानमा सामेल रहेका केपी ओली, राधाकृष्ण मैनाली, मोहनचन्द्र अधिकारी र भूमिगत राजनीति गरेका मदन भण्डारी, सिपी मैनाली, झलनाथ खनाल, माधव नेपाल, मोदनाथ प्रश्रित, जीवराज आश्रितले निर्माण गरेको शक्तिले समाजको जारी बहसमा मार्क्सवादीहरूलाई बलियो शक्तिका रूपमा उभ्याएको हो । त्यतिवेला भएका विद्यार्थी, मजदुर र शिक्षक आन्दोलनले नेपालमा माक्र्सेली चेतनाको विस्तारमा महत्वपूर्ण काम गरेको हो ।

मोहनविक्रम सिंह, निर्मल लामा र मोहन वैद्यहरूको नेतृत्वमा मसाल समूहको शक्ति विस्तार पनि यसको अर्को कारण थियो । उनीहरूले समाजलाई वर्गसंघर्षका नियमहरू मातहत बुझ्ने, व्याख्या, संगठन गर्ने र राजनीतिक अभीष्टलाई सहयोग पुग्ने गरी साहित्य तथा कलालाई प्रोत्साहित गर्ने नीति लिए । आन्दोलन विस्तार हुँदै जाँदा जन्मेका हुन्, संकल्प र वेदना परिवार पनि । प्रलेसको पुनर्गठन र विस्तार त्यसै क्रममा भएको हो । मोदनाथ प्रश्रित, खगेन्द्र संग्रौला, रामेश, रायन, कुन्ता शर्मा, पारिजात, नारायण ढकाल, विमल निभा, कृष्ण सेन इच्छुकसमेतका सयौँ स्रष्टाले नेपाली समाजको मार्क्सवादी व्याख्या, सामन्तवाद र साम्राज्यवादका थिचोमिचोबाट मुक्तिका लागि वर्गसंघर्षको अनिवार्यता झल्किने साहित्य, संगीतको सिर्जना गरेका हुन् । 

मदन भण्डारीले बहुदलीय जनवादको कार्यक्रम अगाडि सारेपछि माक्र्सवादी बहस मुख्य गरी दुई ध्रुवमा विभाजित भयो । भण्डारीको व्याख्याले उदारवादी फ्रेमिङभित्र प्रतिस्पर्धा गर्र्दै समाजवादमा जान सकिन्छ भन्ने मान्यता बोक्थ्यो । यसले नेपाली मार्क्सवादीहरूको चिन्तन परम्परामा नयाँ आयाम थप्यो । निर्वाचनमा विजय, त्यसका लागि मताधारको विस्तारसमेतलाई पार्टी विस्तारका आधार बनाउनुपर्ने भयो । वर्गसंघर्षका परम्परागत भाष्यभन्दा फरक कतै न कतै सबैको हितको प्रतिनिधित्वको दाबी गर्नुपर्ने भयो, जसले विष्णुजीले भने जस्तोे वर्गसंघर्षको आँखाबाट हेर्दा मोनालिसा र सेक्सपियरको दुःखान्त नाटकको मूल्यहीनता स्थापित गर्नुपर्ने बाध्यता एकैपटक पखालिदियो । अब नेपाली माक्र्सेलीहरूको यो पाटोले कला, साहित्य, र विचारधारामा बिस्तारै परम्परागत मूल्यहरूको निरन्तरतामा जोड दिन थालेको देखिन्छ । माक्र्सेली खेमाभित्रका यी द्वन्द्व नयाँ कुरा होइनन् । वास्तवमा मदन भण्डारीको चिन्तन बृहत्तर नेपाली समाजको चरित्र निरूपण गर्ने र राजनीतिक बहसलाई नयाँ मोड दिने सार्थक प्रयास थियो । यसले वैचारिक रूपमा पनि विष्णुजीको जिकिरलाई प्रतिवाद गर्छ, किनभने बहुदलीय जनवादले बहुल विचार र मानिसहरूको भिन्नतालाई स्वीकार गरेको थियो, वर्गसंघर्षको आँखाबाट मात्र समाजलाई हेर्नुपर्ने सर्त कतै राखेको थिएन ।

माओवादीहरूले थालेको जनयुद्ध, त्यसले बोकेको राजनीति र त्यसको बैठानका लागि भएको १२ बुँदे सहमति, संविधानसभा, गणतन्त्रको घोषणा र परिमार्जनसहितको उदारवादी लोकतन्त्रको फ्रेममा बनेको नयाँ संविधान नेपालको राजनीतिक बहसमा मार्क्सवादीहरूले गरेको हस्तक्षेपकै अर्को पाटो हो । यसले नेपालमा उदारवादी संसदीय प्रणाली र राजाले नेतृत्व गरेको परम्परावादी हिन्दूवादी समाज संरचनाको निरन्तरताको प्रयास दुवैलाई एकैपटक खारेज गरेको थियो । बिपीले अनुकरण गरेको संसदीय प्रणालीमा समावेशी प्रतिनिधित्वका आयामहरू थपेर नेपाली समाजको विविधतायुक्त बनोटलाई प्रतिबिम्बित गरेको राजनीतिक प्रणाली स्थापित गर्ने यो बहसको नेतृत्व भने पूर्वमार्क्सवादी नेता बाबुराम भट्टराई र माओवादी नेता प्रचण्डहरूले गरेका थिए ।

बहसमा उदारवादी खेमाबाट नरहरि आचार्य, कृष्ण खनाल, गगन थापाहरू सामेल थिए भने भिन्न कोणबाट झलनाथ खनाल, वामदेव गौतम, केपी ओली, शंकर पोखरेल, घनश्याम भुसाल र प्रदीप ज्ञवालीहरू यो बहसमा सामेल थिए । समाजवादी चिन्तक प्रदीप गिरिको यसमा सक्रिय सहभागिता थियो । चैतन्य मिश्र र पीताम्बर शर्माहरूले आमबौद्धिक पाठकलाई तरंगित पारिरहेका थिए । आफूलाई मार्क्सवादी नभन्ने विकासवादी अर्थशास्त्री तथा समाजवादी विचारका देवेन्द्र पाण्डेलगायत यसमा खुलेर सामेल थिए । पहिचान, समावेशी र समानुपातिक प्रतिनिधित्व, धर्मनिरपेक्ष राज्य, संघीय शासन प्रणाली, आर्थिक लाभहरूको वितरणमार्फत सामाजिक न्यायको स्थापनाजस्ता विषयका बहसमा मधेसी समुदाय, जनजाति, दलित, महिलासमेतको व्यापक सहभागिता थियो । बौद्धिक विमर्शमा कसैले नाम नलिने गिरिजाप्रसाद कोइरालाले यसलाई व्यवस्थापन गर्न महत्वपूर्ण भूमिका खेलेका थिए । अर्थात्, माक्र्सेली बौद्धिक चिन्तन र बहसले सिंगो नेपाललाई नेतृत्व गरेको थियो ।

०६५ पछि यो बहसमा माओवादी नेतृत्व र समाजका विभिन्न तप्काले निर्माण गरेको न्यारेटिभका विपक्षमा एक प्रकारले प्रतिपक्षीय ध्रुव निर्माण गर्दै एमाले नेता केपी ओलीले हस्तक्षेप गर्न थालेका थिए । ०७० मा पुग्दानपुग्दै माओवादी जनयुद्ध र पछि मधेसलगायतका विभिन्न समूहको आन्दोलनको रापताप सेलाउँदै गयो । प्रतिध्रुवीय बहसले नयाँ न्यारेटिभ स्थापना गर्दै लग्यो । यसैको जगमा ०७२ को संविधान जारी भएको थियो, जुन प्रतिध्रुवीय बहसले वैचारिक वर्चस्व स्थापना गरेपछिको उपज थियो । त्यही भएर नेपालको वर्तमान संविधान एक प्रकारले त्यही बहसका पक्षहरूका बीच सम्झौताको दस्तावेज बन्न पुगेको हो । 

यहाँनिर बुझ्नुपर्ने के छ भने मार्क्सवादीहरूले चलाएको यो बहस नेपालको आधुनिक कालको बौद्धिक बहसको निरन्तरता पनि हो र त्यसमाथि माक्र्सेली हस्तक्षेप पनि । यसै बहसले विश्वका समकालीन वैचारिक बहससँग अन्तरक्रिया गरेको छ, जसमा डिपेन्डेन्सी थ्यौरी, उत्तरआधुनिकतावाद, उत्तर सोभियत विश्व व्यवस्थादेखि नवमाक्र्सेली अवधारणासम्म पर्छन् । नवउदारवादी विश्व प्रणालीसँगको जुधाइ पनि माक्र्सेली खेमाको बहसमा सामेल छ । सार्वजनिक वृत्तमा हरि रोका यसमा बढी नै मुखरित देखिन्छन् ।

विश्व व्यवस्थालाई प्रभावित गरेको बर्लिनको पर्खाल ढल्नेदेखि सोभियत खेमाको समाजवादको पतनमाथि मार्क्सवादीहरूले नै नेपालमा बहसको नेतृत्व गरेका हुन्, उदारवादीहरूलाई त वास्तविक बहसमा होइन, खुसी व्यक्त गर्नमा र मार्क्सको निन्दा गर्नमा नै आनन्द आइरहेको थियो । तिनीहरू इतिहास अन्त्यको लुतो सल्काएर कन्याउँदैमा मस्त थिए । परम्परागत समाजवादी चिन्तन र खासगरी चीन र रुसमा कायम समाजवादी व्यवस्थाका नकारात्मक पक्षहरूमाथिको निर्मम समीक्षा पनि मार्क्सवादीहरूले नै गरेका हुन् । मदन भण्डारीको बहुदलीय जनवादको प्रस्थापना त्यसैको उपज हो । वर्गसंघर्षलाई परम्परागत ढर्राबाट मुक्त गरेर महिला, दलित, जनजाति र मधेसीका मुद्दा वर्गसंघर्षकै हिस्सा हुन् भन्ने मानक स्थापना गरेको पनि माओवादीहरूको नेतृत्वमा माक्र्सेलीहरूले नै हो । 

अफिसियल या ब्युरोक्रेटिक मार्क्सवादीहरू दलका तत्कालीन र दीर्घकालीन हितहरूबाट प्रेरित भएर दलभित्रका सदस्यहरूका लागि आलोचनाका सीमाहरू तोक्न व्यस्त रहे पनि समाजको मुख्य आलोचनात्मक चेत मार्क्सवादीहरूकै खेमामा सीमित छ । उदारवादीहरूका तर्फबाट हुने बहसले लोकतन्त्रका मुद्दालाई प्रभावशाली बनाउन सहयोग गरे पनि तिनले सामाजिक न्याय र सीमान्तकृतहरूको पक्षमा पर्याप्त हस्तक्षेप गरेका छैनन् ।

सुनील पोखरेलले निर्देशन गरेकोे माक्र्स इन सोहो नाटक प्रदर्शन, निनु चापागाईंले गीतासम्बन्धी बहसहरूको रचना अनुवाद गरेर गर्न चाहेको हस्तक्षेप माक्र्सवादी र गैरमार्क्सवादी दुवै खेमाका लागि बौद्धिक विमर्शका खुराक हुन् । राहुल सांकृत्यायनका साहित्यको अध्ययन, अम्बेडकरका साहित्यहरूको अनुवाद र प्रचार, अरुन्धती रोयका रचनाहरूको अनुवाद र प्रचारमा माक्र्सवादी स्कुलका युवाहरू नै सक्रिय देखिन्छन् । शास्त्रीय रुसी तथा युरोपेली साहित्यको अध्ययन, मार्खेज या अचिवेको लोकप्रियता दुवैमा मार्क्सवादी विद्यालयका नयाँ–पुराना पुस्ताका मानिसहरू संलग्न छन् । अफ्रिकी या ल्याटिन अमेरिकी उत्तर औपनिवेशिक साहित्य, या सिमोन द वुआको दी सेकेन्ड सेक्स मार्क्सवादीहरूकै बीच अनिवार्य पठन सामग्री बनेको छ । अवश्य पनि गैरमार्क्सवादी उदारवादीहरू यसमा सामेल छन्, तर कमसेकम मार्क्सवादीहरू निरस र अरूका कुरै सुन्दैनन् भन्ने आरोपमा कतै सत्यता छैन ।मार्क्सवादी चिन्तन र बौद्धिक परम्परामा विश्वास गर्नेहरूलाई कठोर, अमानवीय, प्रकृतिसँग नरमाउने, जीवनलाई यसका रंगीन पक्षहरूबाट विमुख गरेर हेर्ने एकपाखे ठान्ने विष्णुजीको प्रयास यसले स्वतः खारेज गर्दैन र ? 

प्राचीन ग्रिक ट्रेजेडी या ओथेलो प्राथमिकतामा रहने कि दुई वर्ष पहिले अनुप बरालले निर्देशित गरेको महाभोज छनोट गर्ने भन्ने विषय सामयिक राजनीति र हामीले नयाँ समाजका लागि गरेको काल्पनिकीमाथि सत्ताधारीहरूले गरेको धोकाधडीका विषयमा रुचि राख्ने/नराख्नेका आफ्ना–आफ्ना छनोटका विषय हुन सक्छन् । हिमाल हेरेर रमाउने या हिमालय जाभामा कफी पिएर विमर्श गर्नेहरूमा मार्क्सवादी चेतना नहुने पनि होइन होला । 

अर्थात्, आजको नेपालको वास्तविकता के हो भने कतिपय यथास्थितिवादी चिन्तनमा पनि देखिने मार्क्सवादी भन्नेहरूको उपस्थितिका बाबजुद समाजको सबैभन्दा गतिशील तप्का र आलोचकहरूको पंक्ति मार्क्सवादीहरूकै खेमाबाट आएको छ । साहित्यमा पनि छ र कलामा पनि । बौद्धिक विमर्शमा पनि छ र सडक आन्दोलनमा पनि । यसलाई नकारेर नेपाली बौद्धिक विमर्शलाई ‘मार्क्सवादीहरूबाट मुक्त गर्ने र मोनालिसा या ओथेलोको प्रशंसा गर्ने’ कुरा यसकारण पनि खतरनाक छ कि यसले समाजमा अझै पनि विद्यमान विभेद, लोकतन्त्रविरोधी चिन्तनधारा, समाजको गतिलाई नै पछि धकेल्न खोज्ने अतीतभक्ति र क्रोनी क्यापिटालिजमलाई बढावा दिने नवसम्भ्रान्त वर्गको मनपरीलाई रोक्न सकिन्न । बरु यसले लोकतान्त्रिक आवरणभित्र लुकेको सीमान्त वर्गविरोधी चिन्तन र शक्ति सम्बन्धलाई जोगाउन मद्दत गर्छ । 

त्यसमाथि नेपालको हामीले बाँचेको समय नै वियोगान्तहरूको संग्रहालयभन्दा के कम छ र ? हेर्दाहेर्दै पतन भएका क्रान्तिका आदर्श पुरुषहरू, अचानक आफ्नो छोराबाट मारिएका राजा वीरेन्द्र र उनको परिवारको वियोगान्त, संकटकालमा राज्य र विद्रोही दुवै पक्षबाट चरम अमानवीय यातनाबाट मारिएका या बेपत्ता पारिएका सामान्यजनका वियोगान्त, भुइँचालोले लुटेका खुसीहरू, नाकाबन्दीले खोसिएका जीवन, कोरोनाको भयानकता, हरेक वर्ष बाढी र पहिरोमा ज्यान गुमाउनेका पीडा, जनआन्दोलनहरूमा भएका दमन या प्रकाश सपुतले गाएको–बनाएको बोल माया एकपटक बोल गीत र त्यसले भनेको गाउँ–गाउँको कथा, निर्मला पन्तको बलात्कार र हत्या, दलितमाथि भइरहेका विभेद कुनै ग्रिक ट्रेजेडीभन्दा के कम छन् र हामीलाई नाट्यशालासम्म पुगेर थप आँसु बगाउन आवश्यक होला ? यस्ता धेरै वियोगहरू समाजको अन्यायपूर्ण शक्तिसम्बन्धका घर्षणका क्रममा आएकाले पनि त्यसले राजनीतिक निकासको माग गर्छ, त्यस्तो वेला आक्रोश नै हाम्रो सबैभन्दा ठूलो सौन्दर्य चेत हुन जान्छ । केदारभक्त माथेमा सरले आफूलाई रिस उठ्ने गरेको कुरा बताएर सायद यस्तै चिन्तनको पोको खोलेका थिए । कुनै मार्क्सवादीले कसलाई सेक्सपियर नपढ्न, या मोनालिसा नहेर्न या विथोवन र मोजार्ट नसुन्न, रामेश या जीवन शर्माका गीत छाडेर नारायण गोपाल या अरुणा लामाका विरही गीत नसुन्न भन्यो होला, आदेश दियो होला भन्ने चाहिँ मलाई विश्वास लाग्दैन । यसै पनि रंगिला सिनेमा हेर्न माक्र्सवादी नेता कार्यकर्ताको लाइन लागेको सन्दर्भ हाम्रा पत्रपत्रिकाका पेजमा अझै सुरक्षित छन् । 

फेरि पनि विष्णुजीका प्रश्न र जिज्ञासा खारेजयोग्य चाहिँ हुँदैहोइनन् । माक्र्सवादीहरूका बीच केही संस्था छन्, जसले शुद्धतावादको वकालत गर्छन् । केही अफिसियल मार्क्सवादीहरू छन्, जसले मार्क्सकै झन्डा बोकेर मार्क्सलाई निषेध गरिरहेका छन् । जनताभन्दा एक तलामाथि आसनमा बस्ने मार्क्सवादीहरूका सम्बन्धमा उठ्ने प्रश्नलाई छेक्नु मेरो न उद्देश्य हो, न रुचि । झटारो आँपको भेट्नामै लागोस्, हाँगाबिँगामा नछरियोस् भन्ने मात्र हो । प्रश्न उठिरहून्, बहस जारी रहोस् । अध्ययन र बौद्धिक बहसको संस्कृतिलाई निषेध गर्न खोज्ने सत्ताधारी अफिसियल या नोकरशाही मार्क्सवादीहरूसँग बहस नगरी मार्क्सवादी चिन्तन पनि सजीव रहँदैन भन्नेमा मलाई विश्वास छ । अल्छी हुँदै गएको मेरो कलमलाई लेख्न लगाउने गरी उत्प्रेरकको काम गरेकोमा विष्णुजीलाई धन्यवाद !