मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ मङ्सिर ८ बुधबार ०७:३४:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

गुल्मीका ८० हजारले कोभिड खोप लगाउँदै

Read Time : > 1 मिनेट
२०७८ मङ्सिर ८ बुधबार ०७:३४:००

गुल्मीका करिब ८० हजार नागरिकले कोरोनाविरुद्धको खोप लगाउने भएका छन् । जिल्लामा कोभिड– १९ को संक्रमण कायम छ । अहिले पनि जिल्लामा दुई सय ५३ जना सक्रिय संक्रमित रहेका छन् । स्वास्थ्य कार्यालयका अनुसार ९७ जनाको कोभिड– १९ का कारण ज्यान गएको छ । लामो समय जिल्लामा कोभिड– १९ विरुद्धको खोप नआएका कारण नागरिक निराश थिए । अब भने १८ वर्षमाथिका लगभग सबैले खोप पाउनेछन् । जिल्लाका १२ वटै स्थानीय तहका सबै स्वास्थ्य सस्थाबाट खोप प्राप्त गर्न सकिनेछ ।

लामो समयको मिहिनेतपछि १८ वर्ष माथीका लगभग सबैलाई पुग्ने गरेर खोप जिल्ला ल्याइएको प्रमुख जिल्ला अधिकारी पुन्यविक्रम पौडेलले बताए । उनले ठूलो परिमाणमा खोप आएकोले व्यवस्थित रूपमा १८ वर्षमाथिका सबैलाई खोप लगाउन आग्रह गरे । ‘अब जिल्लामा खोप पाएनौँ भन्ने अवस्था रहनेछैन । यो ठूलो उपलब्धि हो,’ उनले भने, ‘खोप अभियान सफल बनाउन सबैको सहयोगको अपेक्षा गरेका छौँ ।’ जिल्लामा प्राप्त भएको ८० हजार जापानिज एस्ट्राजेनेका डोज खोपमध्ये ७९ हजार ६ सय डोज खोप सबै स्थानीय तहमा पुगेको छ ।

यो खोप १८ वर्षभन्दा माथि र तीन महिनाको गर्भ नाघेका महिलालाई परिचयपत्रको आधारमा प्रदान गरिने स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख पशुपति आचार्यले जानकारी दिए । खोप अभियान ७ मंसिरदेखि ९ गतेसम्म चल्नेछ । जिल्लामा प्राप्त भएको खोपलाई जिल्लाका स्थानीय तहको जनसंख्याको आधारमा वितरण गरिएको स्वास्थ्य कार्यालयका आर्चायले बताए । १८ वर्ष माथिका एक लाख ४२ हजार ६ सय २२ मध्ये अहिलेसम्म ६२ हजार चार सय २२ जनाले कोभिड– १९ विरुद्धको खोप लगाएका छन् । यसपटक बाँकी रहेका १८ वर्ष माथिका ८० हजार दुई सय एक जनाले खोप लगाउने छन् ।

कुन स्थानीय तहमा कति खोप वितरण
मंगलबारदेखि सञ्चालन भएको कोभिड– १९ विरुद्धको खोप अभियानअन्तर्गत चन्द्रकोट गाउँपालिकामा ६ हजार पाँच सय, छत्रकोट गाउँपालिकामा ६ हजार तीन सय, धुर्कोट गाउँपालिकामा ६ हजार एक सय डोज खोप वितरण गरिएको स्वास्थ्य कार्यालयका कोभिड– १९ फोकल पर्सन राजराम विष्टले जानकारी दिए । त्यस्तै गुल्मीदरबार गाउँपालिकामा ६ हजार चार सय, इस्मा गाउँपालिकामा पाँच हजार पाँच सय, कालीगण्डकी गाउँपालिकामा पाँच हजार दुई सय, मदाने गाउँपालिकामा पाँच हजार आठ सय डोज खोप वितरण गरिएको छ ।

मालिका गाउँपालिकामा पाँच हजार आठ सय, रुरु गाउँपालिकामा पाँच हजार पाँच सय, सत्यवती गाउँपालिकामा सात हजार एक सय, मुसिकोट नगरपालिकामा नौ हजार चार सय र रेसुंगा नगरपालिकामा १० हजार डोज खोप वितरण गरिएको विष्टले बताए । स्वास्थ्य कार्यालय गुल्मीका अनुसार लक्षित समूह ठूलो रहेकाले सुरक्षा मापदण्ड पूर्ण रूपमा पालन गरेर दैनिक एक खोप केन्द्र बराबर एक सयदेखि एक सय पचासजना सम्मलाई खोप सेवा प्रदान गरिनेछ ।