१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
दीपक अधिकारी दार्चुला
२०७८ मङ्सिर ५ आइतबार १७:३४:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

भारतले अनुमति नदिएपछि नेपालकै बाटो भएर छाङरू तिंकर जाँदै गणक

Read Time : > 1 मिनेट
२०७८ मङ्सिर ५ आइतबार १७:३४:००

दार्चुलाको व्यास गाउँपालिका– १ स्थित छांगरू र तिंकर गाउँको जनगणना गर्न सहायक जनगणना अधिकारी खगेन्द्र कार्कीको नेतृत्वको टोली नेपालकै बाटो भएर हिँडेको छ। भारतले आफ्नो भूमि भएर जनगणना गर्न अनुमति नदिएपछि नेपालकै भूमि भएर नेपाली टोली छांगरू तिंकर प्रस्थान गरेको हो। 

मंसिर ३ गते सदरमुकाम खलंगाबाट हिँडेको जनगणना अधिकारी कार्की नेतृत्वको टोली आइतबार व्यास–१ को बुदी पुगेको छ। गत असारमा आएको बाढीपहिरोका कारण नेपालतिर भत्किएको बाटोको कठिन यात्रा गर्दै अधिकारी नेतृत्वको तीनसदस्यीय जनगणना टोली छांगरू प्रस्थान गरेको जनगणना कार्यालय प्रमुख पदमराज पाण्डले बताए।
पहिलो दिन जनगणना सहायक अधिकृत कार्कीको टोली व्यास २ को दुम्लिङ वास बसेको थियो। यस्तै, दोस्रो दिन (शनिबार) थीँमा वास बसेको टोली आइतबार बुदी पुगेको छ। सोमबार मात्रै उनीहरू छांगरू पुग्नेछन्।

भारतीय प्रशासनले बाटो प्रयोग गर्न अनुमति नदिएपछि जोखिम मोलेर नेपालकै बाटाे भएर उनीहरू व्यास जाँदै छन्। नेपालतिर जान गत कात्तिक ३० गतेबाट हेलिकाेप्टरको माग गरिए पनि अझै उपलब्ध हुन सकेको छैन। अहिले जाँदा अप्ठ्यारो बाटो हिँडेर जाँदै छौँ।  फर्किँदासम्म सरकारले हेलिकाेप्टरको व्यवस्था गर्न सके सहज हुने पाण्डेले बताए। पाण्डेका अनुसार उनीहरूले व्यास गाउँपालिका – १ को छांगर तिंकरमा दुई दिनमा गणनाको काम सक्नेछन्। यसअघि असोज पहिलो साता सुपरिवेक्षक पानसिँह धामीले त्यहाँको सूचीकरण गरेर फर्किएका थिए। उनका अनुसार तिंकरमा ३२ र छांगरूमा ७८ घरधुरीको सूचीकरण गरिएको छ। यस्तै, २ वटा प्रहरी चौकी र एक सशस्त्र प्रहरी गुल्मको सूचीकरण गरिएको हो। भारतले अवरोध गरेका कारण नेपालकै भूमि भएर सहायक जनगणना अधिकारीको टोली पैदल व्यास गएको छ । 

गणक हिँड्न नसकेर फर्किएपछि सहायक जनगणना अधिकृत कार्की, कार्यालय सहयोगी र एकजना बाटो देखाउने सहयोगीसहितको टोली मात्रै त्यसतर्फ लागेका छन्। वडाध्यक्ष अशोकसिंह बोहराका अनुसार दार्चुला सदरमुकाम खलंगाबाट नेपाली बाटो भएर छांगरू र तिंकर पुग्न बाटो कठिन छ। खलंगाबाट करिब ३ देखि ४ दिन पैदलको जोखिमपूर्ण यात्रामा छांगरू र तिंकर पुगिन्छ। यहाँका केही स्थानीय बसाइँसराइ (कुञ्चा) सरेर खलंगा झरेका छन्। उनीहरूको सदरमुकाम खलंगाका गणना गरिँदै छ। 
जिल्ला प्रशासन कार्यालय दार्चुलाले २५ कात्तिक र ३० कात्तिकमा जनगणनाका लागि गणक भारतीय बाटो भएर जाने भएकाले सहजीकरण गरिदिन धार्चुला प्रशासनलाई पत्राचार गरेको थियो। तर, भारतीय प्रशासनले भने बाटो बिग्रिएको बहाना झिक्दै अनुमति दिएन।

नेपाली पक्षले अहिले हेलिकाेप्टरको लागि सरकारसँग पहल गरिरहेको जनाएको छ। व्यासको छांगरू तिंकरनजिकै रहेका अतिक्रमति नावी, गुञ्जी र कुटी गाउँको भने विभागले सेटलाइटकै माध्यमबाट गणना गर्ने तयारी गरेको छ।